neapl investment mega bank
  • गृहपृष्ठ
  • दक्षिण अफ्रिकी सेनाको विमानमा आगलागी, सवै यात्रुको सकुशल उद्धार

दक्षिण अफ्रिकी सेनाको विमानमा आगलागी, सवै यात्रुको सकुशल उद्धार

Jan 10th, 2020

गोमा, २५ पुस (रासस/एएफपी)

पूर्वी डीआर कङ्गोे शहर गोमामा बिहीबार अवतरण गर्ने क्रममा ६७ यात्रुसहित रहेको दक्षिण अफ्रिकी सेनाको विमानमा आगलागी भएको छ ।

विमानमा कुनै हताहत भने नभएको संयुक्त राष्ट्रसंघले जनाएको छ । प्रजातान्त्रिक जनगणतन्त्र कङ्गोको बेनीबाट गोमाका लागि उडान गर्दै थियो ।

अवतरणका क्रममा वायाँ इन्जिनमा आगलागी भएपछि विमानस्थलमा तयारी अवस्थामा रहेका दमकलले आगलागीलाई तत्काल नियन्त्रणमा लिन सफल भएको राष्ट्रसङ्घको कङ्गोस्थित सहायता समूहले बताएको छ ।

कङ्गोस्थित राष्ट्रसंघीय समूहले भन्यो, “विमानमा चालकदलका आठ सदस्य र ५९ यात्रीहरू थिए । सबैजनालाई सुरक्षित विमानबाट बाहिर निकालिएको छ । कसैलाई पनि ठूलो चोटपटक लागेको छैन । ”

विमानमा आगलागी भएपछि केही समय विमानस्थलमा सेवा अवरूद्ध भएको भएपनि धावन मार्ग पुनः सञ्चालनमा आएको छ ।

द्वन्द्वग्रस्त उत्तरी किवु प्रान्तको बेनीमा तैनाथ दक्षिण अफ्रिकी शान्ति सेनाको सहयोगका लागि सेवा दिँदै आएको विमानमा सामान्य क्षति भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त सैनिक विमान तत्कालिन सोभियत संघमा निर्मित आन्टोनोभ हो ।