neapl investment mega bank
  • गृहपृष्ठ
  • काँग्रेस जिल्ला सभापतिद्वारा पार्टीभित्रको विवाद समाधान गर्न सुझाव

काँग्रेस जिल्ला सभापतिद्वारा पार्टीभित्रको विवाद समाधान गर्न सुझाव

Jan 10th, 2020

काठमाडौँ, २५ पुस (रासस)

नेपाली काँग्रेसका जिल्ला सभापतिले यही पुस ११ गते केन्द्रीय समितिको बहुमतबाट गरिएको निर्णय पार्टीको परम्परा, विधानको मर्म र वृहत्तर हित प्रतिकूल भएको भन्दै निर्णयले उत्पन्न विवाद अन्त्य गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा बिहीबार पत्रकार सम्मलेन गरी उहाँहरुले सोमबारदेखि तीन दिनसम्म काठमाडौँमा बसेको जिल्ला सभापतिको बैठकका निष्कर्षबारे जानकारी गराउनुभएको हो । पत्रकार सम्मेलनमा काभ्रेपलाञ्चोकका जिल्ला सभापति मधु आचार्यले बैठकका निष्कर्षबारे जानकारी गराउनुभएको थियो । पाँच बुँदे सुझावसहित निष्कर्ष आज पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवगत गराइएको थियो ।

विसं २०७५ मङ्सिर २८ देखि पुस ८ गतेसम्म बसेको महासमिति बैठकले गरेको निर्णयलाई त्यस लगत्तै बसेको केन्द्रीय समितिको बैठकले आफ्नो क्षेत्राधिकार बाहिर गएर उल्ट्याउने कार्य विधान विपरीत रहेको भन्दै सो निर्णय जिल्ला सभापतिहरुले सच्याउन आग्रह गर्नुभएको छ । साथै महाधिवेशनमा सबैजना पार्टीको वडा तहबाट नै निर्वाचित भई आउनुपर्ने र समानुपातिक÷आरक्षण कोटामा एक व्यक्ति, एक अवसरको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

यसैगरी केन्द्रीय विभाग, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन र अन्य समिति विधान सम्मत हुनुपर्ने, काँग्रेसको सदस्यता र क्रियाशील सदस्यता पार्टीको विधानले निर्दिष्ट गरेअनुसार स्थानीय वडा तहबाट नै प्रदान र वितरणको व्यवस्था गर्नुपर्ने उहाँहरुको सुझाव छ । महाधिवेशनको निष्पक्षतालाई सुनिश्चित गर्न क्रियाशील सदस्यता छानबिन विशेष समिति गठन गर्नुपर्ने, पार्टीभित्र अवसरको वितरण गर्दा भागबण्डाको आधारमा नभइ योग्यता, क्षमता, योगदान अनुभव, आवश्यकता सन्तुलन र उपयुक्तताको आधारमा हुनुपर्ने जिल्ला सभापति बैठकको निष्कर्ष रहेको नुवाकोटका सभापति जगदिश्वरनर सिंह केसीले जानकारी दिनुभयो ।

काँग्रेस केन्द्रीय समिति बैठकले पुस ११ गते पार्टीको १४औँ महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने र केन्द्रीय समितिको समयावधि एकवर्ष थप गर्नेलगायत महत्वपूर्ण निर्णय बहुमतका आधारमा गरेको थियो । सो बैठकले महाधिवेशनको प्रयोजनार्थ विधानका केही दफा निलम्बन गर्ने, विधानमा उल्लेख २८ केन्द्रीय विभागको सङ्ख्या ४७ पु¥याउने, तरुण दलको म्याद छ महिना थप गर्नेलगायतका निर्णय पनि गरेको थियो ।

संस्थापन पक्षले केन्द्रीयसमिति बैठकबाट बहुमतका आधारमा निर्णय गरेको र विधानविपरीत विधानका केही दफा निलम्बन गरेको भन्दै असन्तुष्ट बनेको वरिष्ठ नेता पौडेल समूहले भावी योजना तय गर्नका लागि सुझावलिन जिल्ला सभापतिको बैठक बोलाएको थियो ।