neapl investment mega bank

प्रदेशसभामा अधिकांश हेटौँडाको पक्षमा

Jan 8th, 2020

–रिपेश दाहाल
हेटौँडा, २३ पुस (रासस)

प्रदेश ३ को प्रदेशसभामा आज स्थायी राजधानीको विषयले प्रवेश पाएको छ । आजको प्रदेशसभा बैठकमा प्रदेशको राजधानीका बारेमा अध्ययन गरेर उपयुक्त स्थानको छनौट गरी सुझाव दिन अघिल्लो वर्षको वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा बनेको कार्यदलले सदनलाई बुझाएको प्रतिवेदनका बारेमा व्यापक छलफल भयो ।

बैठकमा प्रतिवेदनमाथि छलफल होस् भनी संयोजक निरौलाले प्रस्ताव राख्नुभएको थियो । छलफलका क्रममा आफ्ना धारणा राख्ने अधिकांश प्रदेशसभा सदस्यले स्थायी राजधानीका लागि हेटौँडा नै उपयुक्त हुने बताउनुभएको छ । काभ्रेका बसुन्धरा हुमागाईंलगायत केही सदस्यले भने राजधानीका लागि काभ्रेपलाञ्चोक नै उपयुक्त हुने धारणा राख्नुभएको थियो ।

प्रदेशको १३ जिल्लामध्ये आठ जिल्ला काभ्रेसँग जोडिएको बताउँदै प्रदेशसभा सदस्य हुमागाईंले काठमाडौँबाट नजिक रहेको काभ्रेलाई राजधानी तोक्नुपर्ने बताउनुभयो । उहाँले काभ्रेबाट काठमाडौँ आउजाउ गर्न नजिक हुने हुँदा मन्त्री, नेता तथा कर्मचारीलाई आउजाउमा सहज हुने बताउनुभयो । धारणा राख्ने क्रमको अन्तमा उहाँले ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ’ भन्ने नारायण गोपालको गीतको हरफ सुनाउँदै नेकपा शीर्ष नेतृत्वको निर्देशन पालना गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको सङ्केत दिनुभयो ।

प्रदेशसभामा ललितपुरबाट प्रतिनिधित्व गर्नुहुने विद्या श्रेष्ठले हेटौँडा नै उपयुक्त रहेको धारणा राख्नुभयो । यहाँको वातावरण, भूगोल, सामरिक महत्व भारतसँगको नाकाबाट नजिक आदि धेरै कारण हेटौँडालाई नै स्थायी राजधानी बनाउनुपर्ने उहाँको धरणा थियो । दुईवर्ष अलमलिएको प्रदेश राजधानीलाई फेरि नयाँ ठाउँमा सारेर अरू दुई वर्ष अलमल गर्नुहुन्न भन्दै श्रेष्ठले इतिहासमा पनि मकवानपुर राजधानी भइसकेको उल्लेख गर्नुभयो ।

अर्का सदस्य गीता वाग्लेले प्रदेशको राजधानी हेटौँडा नै हुनुपर्ने दाबी गर्नुभयो । प्रदेशसभा सदस्य वाग्लेले देउवा सरकारले धेरै सोचेरै विगतमा अस्थायी राजधानी घोषणा गरेको र अहिले सत्तापक्षले पनि यसलाई सोचेरै स्थायी बनाउने निर्णय गरेको हुनुपर्ने बताउनुभयो । मुकुन्द सेनले समेत राजधानी बनाएको मकवानपुर धेरै हिसाबमा राजधानीका लागि सही छ उहाँले भन्नुभयो ।

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानी र नामाङ्कनका लागि सबै दललाई एक बनाएर सर्वसम्मतिमा निर्णय गराउन थाल्नुभएको पहलले काम गरेको आभास हुन्थ्यो । प्रदेश ३ को प्रदेशसभामा नेकपा एक्लैको दुई तिहाई बहुमत भए पनि महत्वपूर्ण विषय भएका कारण प्रमुख प्रतिपक्षी काँगे्रस र अन्य दलहरुबीच पनि सहमति गरेर अधिकतम सहमतिमा निर्णय गरेर सबै दलहरुलाई समेत अपनत्व दिलाउने पक्षमा मुख्यमन्त्री पौडेल रहनुभएको जनाइएको छ ।

मुख्यमन्त्री पौडेलले नेकपा सचिवालयको सुझावअनुसार नै निर्णय गराउने र त्यसका पक्षमा विपक्षी दलहरुलाई समेत सहमत गराउन प्रमुख प्रतिपक्षी दल नेपाली काँगे्रसका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाका प्रदेशसभा सदस्यहरु रीना गुरुङ, रीता माझी, विवेकशील नेपाली दलका सदस्य रमेश पौडेल, नेमकिपाका सुरेन्द्रराज गोसार्इंलगायतका प्रदेशसभा सदस्यहरुसँग समेत छलफल गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटघाटमा सबै दलले नेकपालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो । सोमबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता बानियाँले प्रदेशको राजधानी थुप्रै रणनीतिक कारणले हेटौँडा नै उपयुक्त हुने धारणा राख्नुभएको थियो । उहाँले नेपाली काँग्रेसले हेटौँडालाई राजधानी बनाउने र प्रदेशको नाम वाग्मती राख्ने विषयमा आपत्ति नजनाएको र केही प्रक्रियाको मात्र विरोध गरेको बताउनुभयो ।

नेकपाकै केही नेताहरुले हेटौँडा अपायक वा कुनो परेको भन्ने गरेकोप्रति नेता बानियाँले सामरिक महत्वलाई ध्यान दिनुपर्ने भन्दै विगतमा सर्लाहीको सदरमुकाम राजमार्गमा नराखेर एकछेउ मलङ्गवामा राखिनु, धनुषाको जनकपुर, महोत्तरीको जलेश्वर, रौतहटको गौर, बाराको कलैयामा राखिनु पनि खास कारण रहेको र त्यस्तै कारण भएकाले प्रदेश ३ को राजधानी हेटौँडा उपयुक्त हुने उहाँको भनाइ थियो । हिजो सङ्घीयता नहुँदासमेत मध्यक्षेत्रको मुकामका रुपमा हेटौँडालाई नै तोकिनु, सेनाको मध्यपृतना, प्रहरीको मध्यक्षेत्रीय कार्यालयलगायत सुरक्षा अङ्गहरु पनि हेटौैँडामा नै राखिनुका पछाडि पनि गहिरो सुझबुझ र रणनीतिक कारण भएको भन्दै बानियाँले हेटौँडाको पक्षमा भनाइ राख्नुभयो ।

प्रदेश सरकार गठन भएको दुई वर्षसम्म पनि नेकपाका प्रदेशसभा सदस्यहरुबीच सहमति बन्न नसक्दा टुङ्गो लाग्न नसकेको प्रदेश ३ को स्थायी राजधानी र नामको विषयलाई नेकपाको सचिवालयले तोकेरै सुझाव दिएपछि तरङ्गित बनेको यहाँको माहोल हेटौँडाकै पक्षमा गएको छ । सचिवालयको निर्णय र निर्देशन कार्यान्वयन गर्न तीन दिन बसेको नेकपा प्रदेश ३ को संसदीय दलको बैठकमा उपलब्ध प्रदेशसभा सदस्यमध्ये ६३ जनाले धारणा राखेकामा अधिकांश सदस्यले पार्टीको निर्देशन विपरीत जान नहुने धारणा राखेपछि यो विषयले नेकपा सचिवालयको निर्देशानुसार नै निकास पाउने देखिएको हो । सङ्घीय राजधानीको ‘पावर व्याक’ का रुपमा समेत रहने हुँदा हेटौँडाका पक्षमा सुरक्षा निकायको समेत चासो रहने भएकाले र देशको दीर्घकालीन हितका लागि पनि हेटौँडालाई राजधानी बनाउनु उपयुक्त हुने विश्लेषकहरु बताउँछन् ।

पार्टीको प्रदेश ३ संसदीय दलको बैठकमा धेरै छलफल र कुराकानी भएको भए पनि ठोस निर्णय भने हुन सकेको छैन । काँग्रेसले पनि ठोस निर्णय गर्न सकेको छैन । आजको मुख्यमन्त्री पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता बानियाँ बीचको भेटमा भने नाम र राजधानीमा सत्तापक्ष र प्रतिपक्ष एकमत भएको सङ्केत मिलेको जनाइएको छ । राजधानी र नामका सम्बन्धमा मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता बानियाँको एकै स्वर हुने सङ्केत देखिएको छ ।

नेकपाका केही सदस्यहरु भने राजधानीका सम्बन्धमा सचिवालयको निर्देशन विपरीत रहेकाले पार्टीले मतदानको समयमा ‘ह्विप’ लगाएरै भए पनि सचिवालयको निर्णयअनुसार नै नाम र राजधानी पारित गराउने तयारीमा रहेको जनाइएको छ ।

प्रदेशसभा सदस्य दीपक निरौलाले पार्टीले दिएको निर्देशन सबै प्रदेशसभा सदस्यहरुले मान्नुपर्ने बताउनुहुन्छ । त्यही पार्टीबाट निर्वाचित हुने अनि पार्टीले धारणासमेत बनाउन नपाउने भन्ने तर्क सही नभएको भन्दै पार्टीको निर्देशन सबैले मान्नुपर्ने निरौलाको तर्क छ । पार्टीको धारणाभन्दा बाहिर कोही जान नमिल्ने भन्दै निरौलाले प्रदेश ३ को राजधानी हेटौँडा र नाम वाग्मती हुने बताउनुभयो । उहाँले आफ्ना सांसदलाई पार्टीको धारणाअनुसार मत प्रयोग गर्नु भनेर निर्देशन दिनुलाई अन्यथा लिनु नहुने बताउनुभयो ।

‘‘सचिवालयले प्रदेशसभाको अधिकारमाथि हस्तक्षेप गरेर राजधानी र नाम नै जारी गरेको होइन’’, उहाँले भन्नुभयो । पार्टीले ‘ह्विप’ लगाएर भए पनि सचिवालयको निर्णयलाई कार्यान्वयन गराउनुपर्ने उहाँको भनाइ छ । प्रदेशसभा सदस्य लेखनाथ दाहालले राजधानीको विषयमा पार्टीको सचिवालयको सुझाव गरिनुपर्ने बताउनुभयो ।

उहाँले पार्टी नेतृत्वले सुझबुझपूर्ण तरिकाबाट राजधानीको विषयमा सुझाव दिएकाले त्यसैलाई कार्यान्वयन गरिनुपर्छ भन्नुभयो । पार्टीको निर्देशन अवज्ञा गरे प्रदेशसभा सदस्यबाटै राजीनामा दिनुपर्ने उहाँको भनाइ छ । प्रदेशसभा सदस्य विनोद खड्काले पार्टीको शीर्षतहबाट आएको निर्देशनको कार्यान्वयन गर्नु नेकपाका प्रदेशसभा सदस्यहरुको दायित्व भएको बताउनुभयो ।

प्रदेशको राजधानी हेटौँडालाई बनाइनुपर्नेमा अन्य दलका प्रदेश सभा सदस्यहरुले पनि आवाज उठाएका छन् । राप्रपाकी रीना गुरुङले प्रदेशको राजधानी कुनामा भयो भन्नु वर्तमान प्रविधिको युगमा नसुहाउने तर्क रहेको बताउनुभयो । धेरै वर्षअघि मङ्गोलियन सम्राटको आक्रमणको डरले कतिपय कमजोर राष्ट्रहरुले देशको मध्यभागमा राजधानी बनाउने गरेको भए पनि सूचना प्रविधि र यातायातको प्रचुरता रहेको यो युगमा सबैको केन्द्र भागमा मात्रै राजधानी बनाउनुपर्छ भन्नु सही नहुने उहाँको तर्क छ ।

नेपाल मजदूर किसान पार्टीका सुरेन्द्रराज गोसाइँले उपत्यकाभन्दा बाहिर राजधानी हुनुपर्ने आफूहरुको पुरानो माग रहेकाले हेटौँडाप्रति समर्थन रहेको बताउनुहुन्छ । राजधानी हेटौँडा नै उपयुक्त हुने प्रतिपक्ष सांसदहरुको भनाइ सत्तापक्षको मत बाझियो ।