neapl investment mega bank
  • गृहपृष्ठ
  • इरान : भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

इरान : भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

Jan 8th, 2020

तेहरान, २३ पुस (रासस/एएफपी/सिन्ह्वा)

इरानको दक्षिणपूर्वी शहर केरमानमा जनरल कासिम सुलेमानीको शवयात्रामा सहभागी हुने क्रममा मङ्गलबार भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ ।

यसअघि दिइएको समाचारमा इरानी विशेष सुरक्षा बलका प्रमुख जनरलसुलेमानीको शवयात्राका क्रममा केरमानमा कम्तीमा ४० जनाको मृत्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको थियो । उक्त घटनामा कम्तीमा २०० भन्दा बढी घाइते भएका बताइएको छ ।

उक्त घटनामा घाइते भएका सबैजनालाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पठाइएको छ ।

कर्मानस्थित एएफपीका संवाददाताले दिएको जानकारी अनुसार दक्षिणपूर्वी शहर केरमानका सडकहरूमा इरानका रिभोलुसनरी गाडर््सका प्रमुख कमाण्डर सुलेमानीको अन्त्येष्टिका लागि शवयात्रा गर्ने क्रममा लाखौँको सङ्ख्यामा उपस्थित शुभचिन्तकहरूले खचाखच भरिएका थिए ।

शवयात्राका लागि केरमान पुगेका इरानीहरू सहरमा नअटाएपछि नजिकका पहाडहरूमा पुगेर भएपनि सुलेमानीप्रति अन्तिम सम्मान प्रकट गरेका थिए ।

इरानी जनताबीच गाडर््सको कुड्स बलका सुप्रसिद्ध कमाण्डर रहेका सुलेमानी इराकको राजधानी बग्दादस्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सेनाले ड्रोनमार्फत गरेको आक्रमणमा गत शुक्रबार मारिएका थिए ।