दमौली, २१ पुस (रासस)
चितुवाको आक्रमणबाट ज्यान गुमाउने तनहुँको भानु नगरपालिकास्थित दुई बालकका परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत उपलब्ध गराएको छ । चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नगरपालिका–१ जामुनेगैह्राका तीन वर्षीय आशिष बानियाँ र –२ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको परिवारलाई वन कार्यालयले जनही रु नौ लाख ५० हजार उपलब्ध गराएको हो ।
कार्यालयले घटनालगत्तै किरिया खर्चबापत रु ५०/५० हजार पीडित परिवारलाई प्रदान गरेको थियो । बानियाँको गत असोज २१ गते र रोकाको कात्तिक ११ गते चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।
नगरपालिकाका प्रमुख उदयराज गौली, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र वन कार्यालयका प्रमुख केदार बरालले राहत रकम आज बानियाँका बुबा विष्णुबहादुर र रोकाका आमा सिर्जनालाई प्रदान गर्नुभयो । नगरपालिकाका प्रमुख गौलीले राहत रकमले पीडित परिवारलाई केही सहयोग पुग्ने बताउनुभयो । डेढ वर्षमा भानुमा मात्रै ६ बालबालिकाको मृत्यु भइसकेकाले अझै पनि सतर्कता अपनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । “हाल भानुमा चितुवाको आक्रमण रोकिए पनि ढुक्कसँग बस्नसक्ने अवस्था छैन,” गौलीले भन्नुभयो ।
डिभिजन वन प्रमुख बरालले विपद्को अवस्थामा राज्य जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको जानकारी दिनुभयो ।
वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तु क्षतिको राहत निर्देशिका बमोजिम वन्यजन्तुको आक्रमणमा परि मानिसको मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने उल्लेख छ । वन कार्यालय तनहुँले भानुमा चितुवाको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई राहतस्वरुप रु १०÷१० लाख प्रदान गरिसकेको छ ।
त्यस्तै आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएका आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर र पुस १४ गते चितुवाको आक्रमणबाट मृत्यु भएका शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका रविन नेपालीको परिवारलाई तत्कालै रु ५० हजार राहत उपलब्ध गराइएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो ।