neapl investment mega bank
  • गृहपृष्ठ
  • सबै जनतालाई सुरक्षित घरमा राख्छौँ : मन्त्री अर्याल

सबै जनतालाई सुरक्षित घरमा राख्छौँ : मन्त्री अर्याल

Jan 5th, 2020

स्याङ्जा, पुस २०

स्याङ्जामा जनता आवास कार्यक्रम सुरु भएको छ । जिल्लाका पाँच वटा पालिकामा जनता आवास कार्यक्रम अन्तर्गत खरका छाना विस्तावित गर्ने कार्यक्रम सुरु भएको हो ।

जिल्लाको क्षेत्र नम्बर दुई अन्तर्गत पर्ने वालिङ नगरपालिका, गल्याङ नगरपालिका, भिरकोट नगरपालिका, चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा जनता आवास कार्यक्रम सुरु भएको हो ।

पाँच वटा पालिकामा गरी स्याङ्जाका २ सय ५० घर परिवारलाई पहिलो चरणमा खरको छानो मुक्त गर्ने सरकारको तयारी छ । ५०÷५० जनालाई ५०÷५० हजार रुपैयाँ जनता आवास कार्यक्रमबाट हस्तान्तरण गरिनेछ । पहिलो किस्ता वापतको ३० हजारको काम भएपछि बाँकी २० हजार दोश्रो तथा अन्तिम किस्तामा हस्तान्तरण गर्ने कार्यविधी रहेको छ ।

वालिङबजार र गल्याङबजारमा शनिबार गरिएको छुट्टाछुट्टै समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले कार्यक्रमको सुभारम्भ गर्नुभएको हो ।
कार्यक्रमको सुभारम्भ गर्दै मन्त्री अर्यालले गरिवीको अन्त्यका लागि सरकार लागि परेको बताउनुभयो । उहाँले गरिवी रहँदासम्म विभेदको खाडल रहने भन्दै गरिवी निवारण अहिलेको मुख्य कार्यभार भएको बताउनुभयो । खरको छानाका कारण पटकपटक आगलागी र अन्य समस्या हुने गरेको भन्दै उहाँले सबै घरलाई खरको छाना मुक्त बनाउने अभियान अन्तर्गत जनता आवास कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

मन्त्री अर्यालले अघिल्लो आर्थिक वर्ष देखि यो कार्यक्रम लागू भएको स्मरण गर्दै रकमको सदुपयोग गर्न लाभग्राहीहरुलाई आग्रह गर्नुभयो । स्याङ्जाको क्षेत्र नम्बर दुइका निर्वाचित सांसद पनि रहनुभएकी अर्यालले अहिले यसै क्षेत्रमा मात्रै यो कार्यक्रम लागू भएको जानकारी दिनुभयो । यसपछि देशव्यापी रुपमा यो कार्यक्रम सञ्चालन हुने उहाँले स्पष्ट पार्नुभयो । आफ्नो कार्यकाल भरीमा सबै खरको छानो मुक्त गर्ने कुरामा आफु प्रतिबद्व रहेको मन्त्री अर्यालले बताउनुभयो ।
जनताको आधारभूत आवश्यकता पुरा गर्न पहिलो प्राथमिकता हुनुपर्ने भन्दै मन्त्री अर्यालले विकासका अन्य क्षेत्रमा पनि सरकार लागि परेको बताउनुभयो ।

मन्त्री अर्यालले तुइन विस्थापित गरी मोटरेबल पुल बनाउने, प्राविधिक तथा व्यवसायिक शिक्षा लगायका क्षेत्रमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले उद्यमसिलता र कृषिका अन्य कार्यक्रममा पनि जोड दिनुपर्ने बताउनुभयो । उहाँले विकास निर्माणका काममा स्थानीय सरकार पनि लागि परेको भन्दै संघीय सरकारले पनि स्थानीय जनताको समस्या र आवश्यकतामा ध्यान दिनुपर्ने बताउनुभयो ।

नगरप्रमुख अधिकारीले विकासका लागि मन्त्री अर्यालले देखाएको तदारुकता देखाएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा संविधानसभाका सदस्य मुक्तिप्रसाद पाठकले आफ्नै घरमा बस्ने वातावरण बनाउन जनता आवास कार्यक्रम आएको बताउनुभयो । सरकारको नीति अनुसार आएको यस कार्यक्रमले गरिबी निवारणमा ठूलो सहयोग मिल्ने बताउनुभयो ।

कालीगण्डकी गाउँपालिका प्रमुख खिमबहादुर थापाले कोही नेपाली भोको बस्नु नपरोस भन्ने अभिप्रायले स्थानीय सरकार लागि परेको बताउनुभयो । कालीगण्डकी गाउँपालिकामा छ सय घरधुरी खरको छानो रहेको जानकारी दिदै उहाँले ७० वटा घरधुरीलाई स्थानीय सरकारले नै खरको छानो हटाउन सफल भएको बताउनुभयो । गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले यो कार्यक्रम बाट छुटेकाहरुलाई पनि पछि समाबेश हुँदै जाने बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका ४९ जना र कालीगण्डकी गाउँपालिकाका ४० जनालाई पहिलो किस्ताको ३० हजार रुपैयाँ वितरण गरिएको छ ।

गल्याङ नगरपालिकाका एक जना र कालीगण्डकी गाउँपालिकाका १० जनाको कागजपत्रमा समस्या भएका कारण केही दिनमा चेक हस्तान्तरण गरिने कार्यक्रम रहेको बताइएको छ ।
नेपाल सरकार शहरी विकास मन्त्रालयको आवास व्यवस्थापन कार्यक्रम अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना इकाइ कास्कीले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमको शनिबार सुरु गरिएको हो ।