–काशीराम शर्मा
बाँके, १६ पुस (रासस)
नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् ।
यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन् । यही निकुञ्ज भएर मुलुकका विभिन्न जिल्ला आउजाउ गर्न सकिने भएकाले पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा विकास भइरहेको छ । दुई वर्षअघि निकुञ्जमा जम्मा चार जना पर्यटक आएका थिए । आर्थिक वर्ष २०७५/७६ मा १६० पर्यटक आएको निकुञ्ज प्रशासनले जनाएको छ । यसमा १४८ जना आन्तरिक पर्यटक छन् । ११ जना सार्क मुलुकका र एक जना विदेशी पर्यटक रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो । निकुञ्ज घोषणा भएको आठ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको सङ्ख्या २१ पुगेको छ । नेपाल भ्रमण वर्ष २०२० मा बाँके निकुञ्जलाई मुख्य गन्तव्यका रुपमा छनोट गरिएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेश बिन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरण मिलाइएको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताउनुभयो । “बाँके निकुञ्ज पर्यटक ट्रान्जिट हुँदैछ”, भट्टराईले भन्नुभयो, “कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउनेछन् ।” पछिल्लो समय बाघको सङ्ख्या बढ्दै गएपछि चासो बढेको उहाँले सुनाउनुभयो ।
निकुञ्जमा हात्ती सफारीको व्यवस्थासमेत व्यवस्था मिलाइएको छ । मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक घरवासका सञ्चालक कृष्ण चौधरीले बताउनुभयो । “यहाँ ससाना चुरे शृङ्खला छन्”, उहाँले भन्नुभयो, “दृश्य हेर्न आउने स्थानीय पर्यटकको घुइँचो लाग्छ ।” आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि घरवास९होमस्टे० र निकुञ्जको महत्व बढ्दै गएको उहाँको अनुभव छ । निकुञ्ज वरिपरि तीन वटा निजी थारू होमस्टे र १७ वटा घरमा सामुदायिक होमस्टे सञ्चालित छन् ।
हवाई टिकटमै सकिन्छ पर्यटकको पैसा
भ्रमण वर्षलाई लक्षित गरी पर्यटनमन्त्री योगेश भट्टराईले स्वदेशी तथा विदेशी पर्यटकका हवाई भाडादर कम गर्ने बताइरहे पनि अझै ठोस निष्कर्ष निस्किएको छैन । सरोकारवाला विमान कम्पनीसँग उनले निरन्तर प्रयास भइरहेको छ । विदेशी पर्यटकका लागि हवाई भाडादर कम भए त्यसले पश्चिमको पर्यटन उद्योगमा सकारात्मक प्रभाव पार्ने निश्चित छ ।
पश्चिम पर्यटक नआउनुमा महँगो हवाई भाडा पनि प्रमुख कारण रहेको पर्यटन व्यवसायीको भनाइ छ । भ्रमण प्याकेजको अधिकांश रकम हवाई भाडामै लाग्ने गरेको व्यवसायी बताउँछन् । काठमाडौँबाट पश्चिम नेपाल घुम्न नेपालगञ्ज आएका विदेशी पर्यटक यहाँ बास बसेका बेला होटल सञ्चालकसँग यस्तै गुनासो पोख्छन् । त्यस्ता पर्यटक यहाँसम्म हवाईजहाजमा आउँदा लाग्ने खर्चले त चितवन र पोखरा नै घुम्न भ्याइने तर्क गर्छन् ।
होटल तथा पर्यटन व्यवसाय प्रवद्र्धनका विषयमा हुने हरेक कार्यक्रममा एयरलाइन्स कम्पनीलाई कसरी हुन्छ हवाई भाडा घटाउन लगाउनुपर्ने माग गर्दै आएका छन् । होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेल भन्नुहुन्छ, “नेपालीलाई अधिकतम रु १० हजार र विदेशी पर्यटकलाई झण्डै रु २० हजार हवाई भाडा लाग्दै आएको छ ।”
अध्यक्ष कँडेलले भ्रमण वर्ष २०२० शुरु भइसक्दासमेत यस विषयमा ठोस निष्कर्ष ननिस्किँदा सोचेजस्तो पर्यटक भित्र्याउन नसकिने बताउनुभयो । “पश्चिम नेपालका पर्यटकीयस्थल विदेशीका लागि नयाँ छन् । काठमाडौँ ओर्लिएपछि अधिकांश पर्यटक पूर्वतर्फ केन्द्रित हुँदै आएका छन् । उनीहरु प्रायः पश्चिम नेपाल आउँदैनन्”, अध्यक्ष कँडेलले भन्नुभयो । ट्राभल्स कम्पनी जहाँ चर्चित पर्यटकीयस्थल छन्, त्यहाँकै ‘टुर प्योकज’ बनाउँछन् ।
“पश्चिमका धेरैजसो पर्यटकीय क्षेत्रका बारेमा विदेशीलाई थाहै छैन । उनीहरु काठमाडौँ, पोखरा, सौराहा, सगरमाथा त्यतैत्यतै जान चाहान्छन्”, होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष कँडेल भन्नुहुन्छ, “पर्यटकले आफैँ पश्चिम घुम्छु भन्ने अवस्थामा बाहेक अन्यथा ट्राभल्सले महँगो हवाई भाडामा पर्यटकलाई यता पठाउँदैनन् । जसको मारमा हामी पर्छौं ।”
यहाँको पर्यटकीयस्थल चिनाउन बाँकी नै रहेका बेला हवाई भाडाले झन समस्या पारेको बुझाई यस क्षेत्रका होटल तथा पर्यटन क्षेत्रमा काम गर्नेको छ । पर्यटक प्रवद्र्धनमा सक्रिय सिद्धार्थ हस्पिटालिटी अफ विजनेश ग्रुपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानले थप उडान हवाई भाडालगायत विविध विषय सम्बोधन हुन सकेमात्रै पश्चिम नेपालका पर्यटकीयस्थलमा विदेशी पर्यटक भरिभराउ हुने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “कसले के गर्दा पश्चिम नेपाललाई फाइदा हुन्छ त्यो गर्न अग्रसर रहौँ ।” पश्चिम नेपालमा बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न सबैभन्दा बढी पर्यटक आउँछन् । त्यसबाहेक कर्णाली प्रदेशको डोल्पा, हुम्लामा टे«किङको रुचि राख्दै आउने पर्यटक पनि छन् तर नगन्य मात्रमा । नेपालगञ्ज पुग्न झण्डै रु २० हजार खर्च गर्नुपर्छ भने डोल्पामा पुग्न अझ दोब्बर खर्च हुने गरेको पर्यटन व्यवसायीको भनाइ छ ।
ठाउँको प्रचारप्रसार नभएको अवस्थासम्म पर्यटकलाई तान्न भए पनि एयरफेयर हेरफेर गर्नुपर्ने नेपालगञ्जका पर्यटन व्यवसायीको माग छ । होटल व्यवसायी सीताराम यादव हवाई भाडासँगै पश्चिम नेपालका पर्यटकीयस्थल प्रचारप्रसार गर्नुपर्ने बताउँदै भन्नुहुन्छ, “हवाई भाडा मात्र होइन पर्यटन क्षेत्रको प्रोत्साहनका लाथि थुप्रै काम गर्न बाँकी छ । सरकार र निजी क्षेत्रको सहकार्य बिना सम्भव छैन । त्यसका लागि सबैले हातेमालो गरौँ ।”