दाङ, १५ पुस (रासस)
भ्रमण वर्ष २०२० को अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाउँ तुलसीपुर अभियान भोलिदेखि शुरु गर्ने भएको छ । त्यसको तयारी अन्तिम चरणमा पुगेको अभियानका संयोजक रुपबहादुर खत्रीले जानकारी दिनुभयो ।
एक लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ अभियान थालनी गर्न लागिएको उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । उद्घाटन कार्यक्रममा एक वर्षभरि गरिने पर्यटन लक्षित कार्यक्रम तालिका सार्वजनिक गरिनेछ । भ्रमण वर्षलाई लक्षित गरेर तुलसीपुर उपमहानगरले विभिन्न ठाउँमा घरवास सञ्चालन गरिसकेको छ । विभिन्न जाति र समुदायका व्यक्तिबाट सञ्चालन गरिएका घरवासमा पर्यटकलाई स्थानीय सांस्कृतिक प्रस्तुतिका साथमा परिकार खुवाइने व्यवस्था गरिएको छ । सञ्चालनमा आइसकेका घरवासमा वडा नम्बर ८ को वटोलपुर, वडा नम्बर ७ को पर्सेनी कुमाल गाउँ, वडा नम्बर ३ को राम्री धामा, वडा नम्बर १९ को छिल्लीकोटलगायतका छन् ।
त्यस्तै राप्ती शान्ति उद्यान, चमेरे गुफालगायतका ठाउँमा पनि तयारी भइरहेको छ । पर्यटकलाई घुम्न सहज होस् भनेर उपमहानगरपालिकाले सहयोग कक्षको व्यवस्था गरेको छ । “सहयोग कक्षमार्फत पर्यटकलाई सबै कुराको जानकारी दिइनेछ ।” उपमहानगरपालिकाले भ्रमण वर्ष लक्षित गरेर प्रचारप्रसार, पर्यटकीय केन्द्रको भौतिक सुधार र पर्यटक रमाउने संरचना निर्माणका योजना अगाडि बढाएको छ ।