neapl investment mega bank
  • गृहपृष्ठ
  • जुम्लाकै ठूलो आयोजना धौलिघाट खानेपानी बन्ने

जुम्लाकै ठूलो आयोजना धौलिघाट खानेपानी बन्ने

Dec 29th, 2019

सिञ्जा, १३ पुस (रासस)

जुम्लाको सवैभन्दा ठूलो गौरवको आयोजना धौलीघाट खानेपानी ठेक्कामा जाने भएको छ । सङ्घीय सरकारको सहयोगमा उक्त आयोजनाका लागि रकम जुटेपछि निर्माणका लागि काम अगाडि बढाइएको सङ्घीय खानेपानी तथा ढल निकास व्यवस्थापन कार्यालयले जनाएको छ । आयोजना प्रमुख महेश न्यौपानेका अनुसार सङ्घीय सरकारले बजेट विनियोजन गरिसकेको हुँदा अब ठेक्कामा जाने तयारी थालिएको हो ।

जुम्लाको सदरमुकाम चन्दननाथ नगरपालिका तथा गुठिचौर र तातोपानी गाउँपालिकाका आठ हजार पाँच सय घरधुरीलाई लक्ष्य गरी सर्भे गरिएको उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)समेत तयार भएको कार्यालय प्रमुख न्यौपानले जानकारी दिनुभयो । डिपिआरअनुसार आयोजनाको लागत रु दुई अर्ब २५ करोड ९५ लाख ५४ हजार ५२३ रहने छ । आयोजनाका लागि भने नौ प्रतिशत जनश्रमदान र एक प्रतिशत स्थानीय तहबाट नगदको आवश्यकता रहेको उहाँले जानकारी दिनुभयो । सो एक प्रतिशत रकम जम्मा गर्न तातोपानी र गुठिचौर गाउँपालिकाले लिखित सहमति दिइसकेका छन् भने चन्दननाथ नगरपालिकामा प्रक्रिया अगाडि बढिरहेको कार्यालयले जनाएको छ ।

जुम्ला सदरमुकाममा खानेपानीको अभाव भइरहेका समयमा सो परियोजना नितान्त आवश्यक भएको हुँदा सफल पार्नुपर्ने जुम्लावासीले बताएका छन् । नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले धौलीघाट परियोजना जुम्लावासीको विकासको अर्को मुहार फेर्ने आयोजना भएको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले प्रदेशकै गौरवको आयोजना सम्पन्न गर्नका लागि बृहत् छलफल गरी स्थानीय र सरकारको जोडमा यसलाई सम्पन्न गर्न आवश्यक भएको बताउनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको रु ७५ करोडको अत्याधुनिक भवनको आयोजनापछि सबैभन्दा ठूलो आयोजना धौलीघाट आयोजना हो । विसं २०६४ मा जुम्लामा संविधानसभा सदस्य नरेश भण्डारीको पहलमा शुरुआत भएको आयोजना रकम अभावमा अन्योलमा थियो । यस वर्ष भने नेपाल सरकारले प्रथामिकतामा राखी बजेट राखेपछि अगाडि बढ्ने निश्चित भएको हो । प्रति सेकेण्ड ५० लिटर पानी झर्ने क्षमताको उक्त आयोजना निर्माण गर्न भने भौगोलिक चुनौती छ ।

सडक खन्नुपर्ने तर आयोजनालाई खन्ने अधिकार नदिइएकाले कठिन भएको हाल आन्तरिक मामिला तथा कानूनमन्त्री रहनुभएका भण्डारीले बताउनुभयो । जुम्ला सदरमुकामदेखि ६ किलोमिटर टाढा उचाइमा रहेको मुहानपानीले सदरमुकाम तथा गुठिचौर र तातोपानी गाउँपालिकाको ५८ हजार जनसङ्ख्या लाभान्वित हुने कार्यालयले जनाएको छ ।