–गोपालप्रसाद बराल
महोत्तरी, १३ पुस (रासस)
पक्की घरमा बस्न पाउने आशले आफ्नो पराले झुप्रो भत्काउन राजी भएका महोत्तरीका मुसहर जातिका दलित अब जनता आवास कार्यक्रमप्रति प्रश्न तेस्र्याउन थालेका छन् । आफ्ना झुप्रा भत्काइएको तीन वर्षसम्म घर नबनेपछि मुसहरले कार्यक्रमप्रति नै प्रश्न तेस्र्याउन थालेका हुन् ।
पक्की घर बन्ने आशमा आफ्नो झुप्रा भत्काइएपछि मुसहरले पछिल्ला तीन वर्षयता खुला आकाशमै जाडो, गर्मी र पानी खेप्नुपरेको छ । जनता आवास कार्यक्रमअन्तर्गत नयाँ घर बन्ने आश देखाइएपछि आफ्नो भएको झुप्रो भत्काएका मुसहर पछिल्ला तीन वर्षयता खुला आकाशमै घामपानी, जाडो, गर्मी र हुस्सु, तुषारो खेप्न विवश भएका हुन् ।
‘बूढा पक्की घरमें सुत, बैसके सपना देखैत मैरगेल, आब हमर पाइर छै’ (बूढा, पक्की घरमा सुत्ने, बस्ने सपना बोक्दाबोक्दै मरेर गए, अब मेरो पालो छ) जिल्लाको भङ्गाहा नगरपालिका–३ भङ्गाहाकै मुसहरीटोलकी ६० वर्षीया उमेर कटेकी मुनेश्वरी सादाले बस्तीमै पुगेका सञ्चारकर्मीसँग वलिन्द्र धारा आँसु काढ्दै भन्नुभयो, “पक्की घरमें बैसवाक ललसा स अपन झुपडी सेहो गुइम गेल, तीन साल स बेघर छि’ ९पक्की घरमा बस्ने लालसाले आफ्नो भएको पराले झुप्रो पनि भत्कियो, तीन वर्षदेखि बेघर छु० । आवास भनिएको यो कार्यक्रमले आफ्नो उठिबास त गराउने होइन भन्ने अब मुसहरलाई परेको छ ।
जनता आवास कार्यक्रमले पक्की घर बनाइदिने बताएपछि २०७४ सालमै भएको पराले झुप्रो भत्काएका मुनेश्वरीका पति जुलमा सादा त्यो आश पूरा नहुँदै गत वर्ष २०७५ को हिउँदको चिसोले थलिएर मरे । एउटा भएको छोरा विक्रम अपाङ्गता भएपछि पाँचवटी नातिनीसहितको आशाभरोसा मुनेश्वरीमै छ । अरु दुःख छोपिए पनि रात काट्ने झुप्रो नै नभएपछि आफूहरुको यो जाडोमा कन्तविजोग भएको मुनेश्वरी बताउनुहुन्छ ।
भङ्गाहा–३ को मुसहरीटोलमा रहेका जम्मा ११० घर मुसहरमध्ये २०७४ सालमा जनता आवास कार्यक्रमका कर्मचारी आएर २७ परिवारलाई पहिलो चरणमै पक्की घर बनाइदिने भन्दै झुप्रा भत्काउन लगाएका मुसहर सम्झन्छन् । त्यसपछि अलिकति पर्खाल ठड्याएपछि कोही फर्केर नआउँदा तीन वर्षदेखि आपूmहरुको कन्तविजोग भएको सो बस्तीका मुसहरको भनाइ छ । भङ्गाहा–३ जस्तै भङ्गाहा–४ रामनगरको मुसहरी टोलमा पनि २०७४ सालमै पक्की घर बनाइदिने भन्दै बस्तीका ४६ मध्ये आठ वटा मुसहरका झुप्रा भत्काइएर पक्की घर बन्ने काम थालियो । यहाँ पनि गाह्रो अलिकता ठड्याइएपछि कोही फर्केर नआएका पीडित मुसहर बताउँछन् ।
‘हजुर, दिन केना गुजर्तै, अई जाडमे केना जियब हमसभ’ (हजुर, दिन कसरी कट्ला, यो जाडोमा हामी कसरी बाँच्ने) सो बस्तीकी सरस्वती सादाले आफ्ना दुई लालाबाला काखी च्याप्दै भन्नुभयो, “एकटा झोपडी छल, सेहो नवका घर बनेवाक् बहानामें तोइड् देलक, पालमें बैसल तीन साल भगेल, बुझाइय अइबेरक् जाड हमरा लइए जायत’ (एउटा पराले झुप्रो थियो, त्यो पनि नयाँ घर बनाइ दिने निहुँमा भत्काइ दिए, यो पातलो बोराले ओत बनाइएको पालमा बसेको तीन वर्ष भयोे, लाग्छ, यसपालीको जाडोले चै हामीलाई लिएरै जान्छ क्यार !) पति लखना सादा जहान परिवारको गुजाराका लागि बनिबुतो गर्न बाहिर गएपछि घरको रेखदेख आफ्नै काँधमा बोकेकी सरस्वतीले यसपालीको जाडो के गरि कट्ने भन्दै लामो श्वास फेर्नुभयो ।
चरम गरिबीले पौष्टिक आहार जोहो गर्न नसकेका मुसहरलाई शीत छल्ने घरसमेत नहुँदा लगलगी मुटु कमाउने अहिलेको जाडोमा कष्टकर जीवन बिताउन बाध्य छन् । सरकारले जिल्लामा मुसहरलक्षित जनता आवास कार्यक्रम सञ्चालन गरे पनि यसअन्तर्गत बन्न थालेका घर अधुरै छोडिँदा यिनीहरुले पछिल्ला तीन वर्षयता खुला आकाशमुनि नै जाडोगर्मी र शीतपानी काट्नुपरेको हो ।
सरस्वतीसहित यस बस्तीका आठ मुसहर परिवारका झुप्रा २०७४ को प्रारम्भमै भत्काएर पक्की घरको गाह्रो अलिकता ठड्याएर हिँडेका शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुरका अधिकारी फर्केर नआएपछि आफूहरुको बिचल्ली भएको यहाँका मुसहर बताउँछन् ।
भङ्गाहा र रामनगर जस्तै भङ्गाहा नगरपालिकाकै वडा नं ९ हरिनमरी र अजगेवा मुसहरीटोल र भङ्गाहा–४ कै बनरा बस्तीको मुसहरी टोलका दलितको पनि यस्तै व्यथा छ । ‘यी हमरासभके घर कहिया बन्तै हजुर रु’ (यि हाम्रा घर कहिले बन्छन् हजुर ?) सो बस्तीमा पुगेका सञ्चारकर्मीसँग भङ्गाहा–३ को दलित बस्तीकी पानोवति सादाले भन्नुभयो, “नई बुझायल जे कि लिखायल है, हमरासबके भागमे रु झोपडीयो टुटल, घर नई बनल”( खै के बुझौँ, के लेखिएको छ हाम्रो भाग्यमा ? छँदाखाँदाका झोपडी भत्किए, घर बनेनन्) ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुरले जनता आवास कार्यक्रमअन्तर्गत दलित र अतिविपन्न परिवारका लागि आवास घर बनाउने योजनाअन्तर्गत २०७४ मा थालेको यो काममा अहिलेसम्म अलिकति गाह्रो ठडिनुबाहेक काम अघि बढ्न नसकेको भङ्गाहा–३ मुसहरीटोलका ३० वर्षीय युवा दिनेश सादाले बताउनुभयो ।
बस्तीमा अहिले जाडोकै कारण ५० वर्ष कटेका पुरुष, स–साना नानी र महिलासमेत ३० जनाभन्दा बढी बिरामी परेका दिनेशको भनाइ छ । भङ्गाहा नगरपालिका क्षेत्रभित्र ५० परिवार मुसहरको नयाँघर बन्ने आश मर्दै गएको छ । आफूहरुको यो अवस्था हेर्न आफ्ना जनप्रतिनिधि फर्केर नआएका मुसहर बताउँछन् । अहिले रातमा घुर (पातपतिङ्गर सल्काएर आगो बालिएको) वरिपरि बसेर जाडो छल्ने किस्सा (कथा) भनेर मुसहरले रात कटाउने गरेका छन् ।
यसै सन्दर्भमा भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहसँग जिज्ञासा राख्दा उहाँले जनता आवास कार्यक्रमबारे कसैले आफूहरु (नगर कार्यपालिका) सँग समन्वय नगरेको बताउनुभयो । “कसले कुन लहडमा झुप्रा भत्काउन भने, हामीलाई भनिएको छैन”, नगरप्रमुख साहले भन्नुभयो, “यो जनता आवास कार्यक्रमबारे कुनै समन्वय पनि छैन, यो खोज्नुपर्ने भएको छ ।” यद्यपि, नगर कार्यपालिकाले आफू निर्वाचित भएयताका चिसो मौसममा मुसहर बस्तीलाई लक्षित गरी वर्षेनी न्यानो लुगाको इन्तजाम गरिएको बताउनुभयो । यता मुसहर भने कुनै जनप्रतिनिधि आफूहरुको अवस्था हेर्न, बुझ्न नआएका बताउँछन् ।
कामको मुख्य रेखदेखको जिम्मेवारी पाएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुरमा काम गर्ने कर्मचारी नै नहुँदा काम अघि नबढेको प्रदेश–२ सरकारका योजना तथा भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनल बताउनुहुन्छ । पहिले सङ्घीय सरकार मातहत रहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुर अब प्रदेश सरकार मातहत आएयता कर्मचारी नै नआएकाले प्रभाविलो काम अघि बढ्न नसकेको मन्त्री सोनलको भनाइ छ । यद्यपि कार्यालयका एक कर्मचारीले मुसहर थप प्रक्रियामा नआएपछि काम अघि नबढेको बताएका छन् ।
कृषि मजदूरी गर्ने मुसहर जाति चरम गरिबी र अशिक्षाले राज्यबाट पाउने अवसरबाट वञ्चित रहँदै आएका छन् । आफू निरीह बनेकामा कुनै गुनासो गर्न नजानेका मुसहर जातिमा चाँडै विवाह गर्ने, छोराछोरी कम उमेरमा जन्माउने र कुपोषणको सिकार भएर चाँडै रोगी बनेर उपचार नपाएरै चाँडै मर्ने कुरा जातीय पहिचानजस्तै बनेको छ । यी जातिको बसोबासका बस्तीमा कानूनी र प्रक्रियागत काममा सम्बद्ध कार्यालयले प्रत्यक्ष नेतृत्व नदिने हो भने फिट्टो काम नसर्ने भङ्गाहा–३ कै बासिन्दा समाजशास्त्री शिवराज दाहाल बताउनुहुन्छ ।