काठमाडौं, पौष १३
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिले पछिल्ला दुईवटा बैठकले सात हजार चार सय ९४ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको २०७६ पौष ११ र पौष १३ गते बसेका बैठकबाट पुनः जाँच तथा छुट सर्भेक्षण, २०७५ र ०७६ बाट संकलित लगतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही थप भएका हुन् । त्यसैगरी, बैठकले तीन हजार ७६ प्रवलीकरण लाभग्राही थप गरेको छ भने ५२ हजार नौ सय ९८ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ ।
यसअघि, मंसिर तेस्रो साता बसेको समितिको बैठकले ४२ हजार सात सय ४२ गुनासो सम्बोधन गरी चार हजार छ सय ४४ पुनर्निर्माण लाभग्राही थप गरेको थियो । त्यस्तै, उक्त दुुई हजार छ सय नौ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले छुट तथा पुनःजाँच सर्भेक्षण अन्तर्गत संकलित कुल एक लाख ८९ हजार लगतमध्ये हालसम्म हालसम्म एक लाख १३ हजार ४३ को निर्णय भइसकेको जानकारी दिनुभयो । बाँकी गुनासोको प्राधिकरणमा खटिएका इञ्जिनियरले विश्लेषण गरिरहेका छन् । हामी पौष मसान्तभित्र सबै गुनासो पुनरावलोकन गरी निर्णय गरिसक्छौंै, उनले भने ।
लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत् अनुदान सम्झौता गरी पहिलो किस्ताबापट ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुनः जाँच तथा छुट सर्वेक्षणबाट लाभग्राही कायम भएकाहरुले २०७६ माघ मसान्तभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता लिइसक्नुपर्नेछ । त्यसैगरी, २०७७ बैशाख मसान्तभित्र दोस्रो किस्ता र २०७७ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्नेछ ।
प्राधिकरणद्धारा भएका कार्यहरु
बिवरण संख्या
निर्णय गरिएका गुनासो १,१३,०४३
पुनर्निर्माण लाभग्राही १२,५४८
प्रवलीकरण लाभग्राही ५,६८५
गैरलाभग्राही ८८,०७७
अन्य (पहिल्यै लाभग्राही वा गैरलाभग्राही निर्क्योल भइसकेका) ६,७३३
(श्रोत पुर्ननिर्माण प्राधिकरण)