neapl investment mega bank

दैनिक पाँच हजार चालक अनुमतिपत्र छपाइ

Dec 29th, 2019

काठमाडौँ, १३ पुस (रासस)

झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी हुँदा यातायात व्यवस्था विभागले दुई सिफ्टमा गरी दैनिक झण्डै पाँच हजार चालक अनुमतिपत्र छपाइ गर्न थालेको छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ र विभागमै रहेका साना क्षमताका प्रिन्टरमार्फत यो सङ्ख्यामा छपाइ भइरहेको हो । केही दिनपछि नै दैनिक तीन सिफ्टमा ‘मास प्रिन्टर’ सञ्चालन हुने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।

सो उपकरण निर्माण गर्ने कम्पनीले एकैपटक लामो समयसम्म सञ्चालन गर्न नहुने सल्लाहअनुसार अहिले दुई सिफ्टमा सञ्चालन भइरहेको छ । छपाइमा रहेको ढिलाइ हटाउन केही दिनभित्रै दैनिक तीन ‘सिफ्ट’ मा अनुमतिपत्र छापिने भएको छ । मास प्रिन्टर दैनिक तीन सिफ्ट सञ्चालन गर्ने र अरु प्रिन्टरमार्फत दैनिक नौ हजारसम्म चालक अनुमतिपत्र छपाइ गरिसक्ने योजना विभागको छ ।

आगामी चार/पाँच महिनाभित्रैमा छापिसक्न बाँकी रहेका चालक अनुमतिपत्र छपाइ हुने उहाँको भनाइ छ । ‘मास प्रिन्टर’ सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण (प्रिन्टर) पनि प्रयोगमा आउने उहाँको भनाइ छ । पुराना चार उपकरण मर्मत गर्न लागिएको उहाँले विभागले जनाएको छ । तीन ‘सिफ्ट’मा चलाउन पनि विभागसँग पर्याप्त जनशक्ति रहेको उहाँले बताउनुभयो । ‘मास प्रिन्टर’ सञ्चालनकै लागि अहिले विभागका सात जना कर्मचारीले अहिले तालिम लिइरहेका छन् । देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्दै आएको छ ।