–समुन्द्रा घिमिरे
काठमाडाँैं, ११ पुस (रासस)
गोरखा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा क्षति भएका ७५३ सम्पदामध्येमा चार वर्षका अवधिमा ३८७ को पुनःनिर्माण सम्पन्न भएको छ ।
यसमा हालसम्म ५१ दशमलव ३९ प्रतिशत प्रगति भएको देखिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार १२३ सम्पदा पुनःनिर्माणका चरणमा छन् । त्यस्तै पुनःनिर्माण शुरु हुन अझै २४३ सम्पदा बाँकी छन् ।
पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली परिकल्पना गरेअनुसार सम्पदाको पुनःनिर्माण हुन नसकेको बताउनुहुन्छ ।
“हामीले अन्य क्षेत्रमा जस्तै सम्पदा क्षेत्रमा पुनःनिर्माण छिट्टै हुने परिकल्पना गरेका थियौँ तर विभिन्न कारणले गर्दा योजनाअनुसार सम्पदाको पुनःनिर्माण हुन सकेन”, उहाँले भन्नुभयो । उहाँका अनुसार हालसम्म काठमाडौंँका महत्वपूर्ण सम्पदा धरहरा, काष्ठमण्डप, रानीपोखरी, सिंहदरबारलगायत सम्पदाको निर्माण भइरहेका छन् ।
विसं २०७५ पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको धरहराको पुनःनिर्माण तीव्र गतिमा भइरहेको छ ।
८३ प्रतिशत उपलब्धि
प्राधिकरणका अनुसार चार वर्षका अवधिमा हालसम्म सबै विषयमा सरकार र दातृ निकायबाट रु दुई खर्ब ९३ अर्ब र गैरसरकारी संस्थामार्फत रु ४२ अर्ब गरी जम्मा रु तीन खर्ब ३५ अर्ब खर्च भएको छ ।
अझै बाँकी संरचना पुनःनिर्माणका लागि रु तीन अर्ब आवश्यक रहेको प्राधिकरणले अनुमान गरेको छ । त्यस्तै चालु आर्थिक वर्षभित्र तय गरिएका कार्यक्रमका निम्ति कम्तीमा रु ३४ अर्बको स्रोत सुनिश्चित गर्नुपर्ने छ ।
प्रम्ुख कार्यकारी अधिकृत ज्ञवालीले छिट्टै पुनःनिर्माणका बाँकी कार्य सम्पन्न गरी विपन्न वर्गको निजी आवास पुनःनिर्माणका लागि आवश्यक रु ५० हजार थप अनुदानसहित करीब एक हजार घुम्ती डकर्मी र सामाजिक परिचालक परिचालन गरिने बताउनुभयो ।
उहाँका अनुसार शहरी निजी आवास तथा पुरातात्विक सम्पदाको पुनःनिर्माणका लागि विश्वसम्पदा क्षेत्र र परम्परागत बस्तीको गुरुयोजना तयारीसहित विशेष योजना कार्यान्वयनको तयारी गरिने छ ।
विसं २०७२ पुस १२ गते सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन गरेको थियो । प्राधिकरण गठन भएको चार वर्षका अवधिमा छ क्षेत्रमा औसतमा ८३ प्रतिशत उपलब्धि हासिल भएको बताइएको छ ।
परम्परागत सम्पदा बस्ती पुनःनिर्माण
प्राधिकरणका अनुसार परम्परागत सम्पदा बस्तीसम्बन्धी विशेष मापदण्ड स्वीकृत गरेर कार्यान्वयनमा ल्याइएको छ ।
काठमाडौँ उपत्यकाका बुङ्मती, खोकना र साँखु एवं काठमाडौँ उपत्यकाबाहिरका नुवाकोट दरबार क्षेत्र, गोरखा दरबार क्षेत्र र दोलखा भीमेश्वर मन्दिर क्षेत्रलाई परम्परागत सम्पदा बस्तीका रुपमा सूचीकृत गरी गुरुयोजना तयारीसहित पुनःनिर्माण अघि बढाइएको छ ।
परम्परागत छ सम्पदा बस्तीका सबै भूकम्पीडित लाभग्राहीलाई प्रतिघरपरिवार थप रु ५० हजार अनुदान व्यवस्थासमेत गरिएको छ । परम्परागत सम्पदा बस्तीभित्र निजी आवास, आधारभूत पूर्वाधार तथा प्राचीन स्मारकको संरक्षण एवं पुनःनिर्माण गुरुयोजनामुताबिक सरकार र स्थानीय समुदायको सहकार्यमा कार्यान्वयनमा ल्याइएको छ ।