भक्तपुर, ७ पुस (रासस)
सडक खनेर बन्द भएको १३ वर्षपछि सूर्यविनायक नगरपालिका–७ गुण्डूको धुम्ती किवाचोक सडक कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ ।
विसं २०३० मा १० फिटको कच्ची सडकका रुपमा खोलिएको यो सडक भीमसेनथान मन्दिर नजिक ठूलो पहिरो गएपछि विगत १३ वर्षदेखि बन्द रहेको थियो । सो सडकमा कालोपत्र गर्ने कार्य आजबाट सम्पन्न भएको हो ।
सांसद एवं पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत सरोकारवालाले आजै उक्त सडकको गुणस्तरीयताको अवलोकन एवं अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा सांसद बस्नेतले भन्नुभयो, “सडक बनेर पनि पहिरोका कारण १३ वर्षदेखि बन्द थियो, म उद्योगमन्त्री हुँदा यो सडक पक्की बनाउने अठोट लिएर खोल्ने काम गरियो, अहिले स्थानीय तहसँगको समन्वयमा कालोपत्र सकियो ।”
उक्त सडक पुनःनिर्माण गर्न तत्कालीन सांसदलाई पटक–पटक भन्दा पनि सुनुवाइ नभएपछि आफ्नो अठोटले सडक सम्पन्न भएको उहाँको भनाइ थियो ।
सूर्यविनायक नगरपालिकाको रु एक करोडको बजेटले निर्माण सम्पन्न भएको उक्त सडकको पक्की वालसहित २६ फिट चौंडा र करीब ९०० मिटर लम्बाइमा कालोपत्र गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।
पुनःसीमाङ्कनमा निकै समस्या झेल्दै सडकलाई पूर्णता दिएको वडा नंं. ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा र सीमाङ्कन समितिका संयोजक अर्जुन खतिवडाले बताउनुभयो ।