ललितपुर, जेठ १६
राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) महालक्ष्मी नगरपालिका वडा नं. ७ कमिटीले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका ३७ जना विद्यार्थीलाई सम्मान गरेको छ।
ललितपुर क्षेत्र नं. २ का संघीय सांसद जगदीश खरेल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं. ७ का एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खरेलले नेपालमै रोजगारीका अवसर सिर्जना हुँदै गएको उल्लेख गर्दै अबका विद्यार्थीहरूले अध्ययन र रोजगारीका लागि अनिवार्य रूपमा विदेश जानुपर्ने अवस्था क्रमशः अन्त्य हुँदै गएको बताए। उनले युवाहरूको क्षमता र दक्षतालाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रमका विशेष अतिथि महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष बाबुराजा महर्जन रहेका थिए। कार्यक्रममा राश्वपा ललितपुर क्षेत्र नं. २ का सभापति श्रीकण्ठ नेम्कुल, सचिव रविना श्रेष्ठ, नगर उपसभापति प्रबिन्द्र श्रेष्ठ, नगर कोषाध्यक्ष सविना श्रेष्ठ लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, शिक्षाविद्, कानुन व्यवसायी, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।
वडा नं. ७ बाट २०८२ सालको एसईई परीक्षामा उत्तीर्ण भएका ३७ जना विद्यार्थीलाई सम्मानपत्र प्रदान गरिएको कार्यक्रमको सभापतित्व राश्वपा महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडा सभापति विनोद श्रेष्ठ ले गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै आगामी अध्ययन यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो।