काठमाडौं, फागुन १६
नयाँ भनिएको साढे तीन वर्ष पुरानो राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ ले आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा १६५ वटै क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ । परिवर्तनको लडाइँमा रहेको भन्दै आएको रास्वपाले उठाएको उम्मेदवारहरु अधिकांश अरु पार्टी छोडेर आएकाहरु हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी छोडेर रास्वपामा आएकाले १३३ क्षेत्रमा टिकट पाएका छन् । बाँकी ३२ जना मात्रै अरु पार्टी छोडेर नआएका हुन् । टिकट दिनका लागि रास्वपाले तीन करोड रुपैयाँसम्म पैसा लिएको भन्ने विषयमा बजारमा व्यापक चर्चा छ । मधेशमा टिकट खरिद बिक्री भएको अडियो नै सार्वजनिक भइसकेको छ । एउटा गम्भीर प्रश्न उठ्छ–अरु पार्टी छोडेर भर्खँरै रास्वपा भित्रिएकालाई पार्टीले के हेरेर टिकट दियो ? किन कि, रास्वपाले चुनावमा उठाएको अनुहारहरु जनताले यसअघि नै अन्य पार्टीमा देखिइसकेका छन् । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाबाट बदन भण्डारी उठेका छन् । उनी रास्वपामा आएको लामो समय भएको छैन । तर, उनलाई उम्मेदवार बनाइएको छ । २०७० सालको निर्वाचनमा उनी नेकपा एमालेका उम्मेदवार विदुर सापकोटालाई भोट मागेर हिँडेका थिए । २०७४ को निर्वाचनमा एमालेका गोकुल बाँस्कोटाले सो क्षेत्रबाट टिकट पाए । उनले त्यतिबेला बाँस्कोटाका लागि भोट मागेका थिए । २०७९ को निर्वाचनमा पनि सो क्षेत्रमा बाँस्कोटा नै उम्मेदवार बने । त्यतिबेला पनि उनी बाँस्कोटाका लागि भोट मागेर हिँडेका थिए । अहिले उनलाई रास्वपाले आफ्नो उम्मेदवार बनाएको छ । हिजोसम्म अर्को पार्टीको उम्मेदवारलाई भोट मागेर हिँड्ने व्यक्तिलाई आज रास्वपाले आफ्नो उम्मेदवार बनाएपछि गम्भीर प्रश्न उठेको छ ।
बदन त एउटा उदाहरण मात्र हुन् । अन्य धेरै उम्मेदवार यस्ता छन् । हिजो अन्य पार्टीमा बसेर फाइदा उठाउनु उठाए । कमाउनु कमाए । त्यहाँबाट फाइदा उठाएपछि अहिले रास्वपामा आए । पुराना पार्टीमा बसेर कमाएको सम्पत्ति रास्वपालाई दिएर तिनले टिकट लिएका छन् । अहिले पुरानाले केही गरेनन्, नयाँलाई भोट दिनु भन्दै हिँडेका छन् । जनतालाई यिनीहरुले कति बेवकुफ ठानेको ? रास्वपा २०७९ असार ७ गते निर्वाचन आयोगमा दर्ता भयो । २०७९ मंसिर ४ गतेको निर्वाचनमा रास्वपाले २० सिट ल्यायो । २० सिट ल्याएको रास्वपाले सरकारमा गएर महत्वपूर्ण र विकासे मन्त्रालय लियो । छोटो अवधिमा रास्वपा दुईपटक सरकारमा गयो । तर, देश र जनताका निम्ति सिन्को भाँचेन । आफ्नो कर्तुतहरु लुकाउनका लागि रास्वपा सभापति तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेले सदनमा उभिएर सँधै बार्गेनिङ गरे । आफ्नो पोल खोलेमा, तिमीहरुको भ्रष्टाचारको फाइल खोल्छु भन्दै उनले सदनबाट धम्काइराखे । निर्वाचन आयोगले उम्मेदवारको योग्यता सार्वजनिक गर्न थालेको छ । यसपटकदेखि नयाँ नीति ल्याइएको हो । उता, उम्मेदवारले बैंक खाता पनि खोल्नुपर्छ । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार लामिछानेको शैक्षिक योग्यता प्रमाणपत्र तह मात्र छ । रवि पूर्वपत्रकार हुन् ।
२०५४ सालअघि नै उनी पत्रकार थिए । त्यतिबेला उनी दरबारनजिक भएर मसाचार संकलन गर्थें । २०५२ फागुन १ गते तत्कालीन माओवादीले जनयुद्ध शुरु गर्यो । देशमा आपतकालीन अवस्था बन्ने भएपछि उनी अमेरिका हानिए । भिजिट भिसामा अमेरिका पुगेका उनको त्यहाँ पनि थुप्रै मुद्दा छ ।
२०६६ सालमा उनले नेपाली नागरिकता र राहदानी त्यागेर अमेरिकाको नागरिकता लिए । मुद्दा र घरझमेलाका कारण उनी २०७१ जेठमा नेपाल फर्किए, त्योपनि भिजिट भिसामा । त्यसपछि उनी अमेरिका गएनन् । सरकारी संयन्त्रलाई भ्रमित बनाइराखे । न नेपाली नागरिकता लिए न ऐनकानुन नै टेरें ।
जसले आफैंले कानुनको धज्जी उडाइरहेको थियो, उसले टेलिभिजनमार्फत अरुलाई कानुन सिकाउँथ्यो । देशमा लोकतन्त्र गणतन्त्र ल्याउनका लागि रविको कुनै योगदान छैन । रविले न्यूज २४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँथें । वैदेशिक रोजगारीमा गएकाको पीडा भन्दै उनले बार्गेनिङ गर्ने बताइन्छ । टेलिभिजनबाट राजनीतिक दलमाथि हिलो छ्याप्न थाले । एकदमै अराजक कार्यक्रम चलाउथें, रविले । २०७९ को निर्वाचनमा उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । उनी चुनाव जितेर आए । त्यसपछि बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनी गृहमन्त्री भए । गृहमन्त्री भएको ३२ दिनमै उनको सबै पद चट भयो । सर्वोच्च अदालतले उनी नेपाली नागरिक नै नभएको ठहर गरेपछि उनको पद खोसियो । त्यसपछि उनी जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगे, नागरिकताको निवेदन लिएर । २०८० वैशाख १० गते सरकारले चितवनमा उपनिर्वाचन गरायो । जनताले तिरेको करोडौं रुपैयाँ खर्च भयो । जनताले दोहोर्याएर मतदान गर्नुपर्यो । रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा छ । पाँच वटा जिल्ला अदालतमा उनीमाथि मुद्दा चलिरहेको छ । उनले धरौटी र बिगोबापत झण्डै १० करोड रुपैयाँ अदालतमा बुझाइसकेका छन् ।
त्यत्रो पैसा उनले कहाँबाट ल्याए ? यसको स्रोत देखाउन पर्ने कि नपर्ने ? अरुलाई भ्रष्टाचारी भन्ने उनको देखिने व्यापार, व्यवसाय केही छैन । तैपनि मुद्दा चलेको अदालतमा करोडौं करोड बुझाइरहेका छन् । आउँदो निर्वाचनमा उनले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । रविको सहकर्मी शालिकराम पुडासैनीले चितवनमै आत्महत्या गरेका थिए । रविको कर्तुत भिडियोमार्फत खोल्दै उनले आफ्नो ज्यान फालेका थिए । यता, रविको चालकको पनि त्यही ज्यान गएको थियो । विभिन्न मुद्दा लागेको व्यक्तिलाई त्यहाँका जनताले चुनाव जिताए । दुईपटक भोट दिएर पठाए । यसपटकको निर्वाचनमा पनि उम्मेदवारी दिएका उनी चुनाव जितेपनि सदनमा जान पाउँदैनन् । उनलाई भोट दिनु भनेको जनताले उल्टै दुःख पाउनु हो । त्यति मात्र होइन, जनताले तिरेको कर पनि खेर जान्छ । रवि स्वच्छ छवि भएको व्यक्ति होइनन् । उनीमाथि सम्पत्ति शुद्धिकरण, संगठित अपराध, सहकारी ठगी, दोहोरो नागरिकता र राहदानीको मुद्दा चलिरहेको छ ।
उनी कहिले जेल जान्छन् ? कतिखेर उनको पद चट हुन्छ ? थाहा छैन । रविलाई जिताएर पठाउनु जनताले आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नु हो । उनले जितेपनि सदनमा गएर जनताको आवाज उठाउन पाउँदैनन् । भोलि फेरि जेल गएभने जनताको दुःख खेर जान्छ । पुनः मतदान गर्दा जनताले तिरेको कर अर्बौं रुपैयाँ फेरि खर्च जान्छ । भोट हाल्न फेरि घण्टौं लाइनमा गएर बस्नुपर्छ । घण्टीका उम्मेदवार र कार्यकर्ताहरुले पछिल्लो समय बजारमा एउटा चर्चा चलाएका छन् । राजनीतिक दलहरुले ३५ वर्षसम्म केही गरेनन् । रास्वपाबाट उम्मेदवार १३३ जनाले नै काम गरेको होइन ? देशमा भ्रष्टाचार गरेको होइन ? अहिले रास्वपामा गएकाहरु हिजो काँग्रेस, एमाले, माओवादीकै कार्यकर्ता होइनन् ? ‘जो चोर, उसैको ठूलो स्वर’ भन्ने उखान ठ्याक्कै रास्वपाका कार्यकर्तासँग चरितार्थ भएको छ । रास्वपाका कार्यकर्ताले दिँउसै रात पार्ने काम गरिरहेका छन् । जनता सचेत हुन जरुरी छ । दलालहरु कहिल्यै देश र जनताप्रति जिम्मेवार हुँदैनन् ।
तिनलाई कसरी भ्रष्टाचार गर्न पाइन्छ ? लुट्न पाइन्छ ? भन्ने मात्र हुन्छ । रास्वपामा यस्ता पात्रहरु धेरै छन् ।
अनुसा थापा
भक्तपुर