वाणिज्य बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा ब्याजदर घटाएका छन् । बैंकहरूले फागुन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन् ।
माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ४.६८४५ प्रतिशत रहेकोमा फागुनमा ०.११५५ प्रतिशत विन्दु घटेर ४.५६९ प्रतिशतमा झरेको छ।
संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत दर पनि ०.०५१५ प्रतिशतविन्दुले घटेको छ। फागुनमा ९ वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्।
यसमध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु घटाएको देखिन्छ। माघ महिनामा ५.५ प्रतिशत रहेको सो बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर फागुनमा ४.७५ प्रतिशतमा झरेको छ।
त्यस्तै, ११ बैंकहरूले माघ महिनाको दरलाई निरन्तरता दिएका छन्।
ब्याजदर स्थिर राख्ने बैंकहरूमा नेपाल बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक, एनएमबि बैंक, प्रभु बैंक, नबिल बैंक, माछापुछ्रे बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंकलगायत रहेका छन् ।
व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज नेपाल बैंकले दिने भएको छ, जसको अधिकतम दर ५.१ प्रतिशत छ।
