neapl investment mega bank
  • गृहपृष्ठ
  • क्रोएसियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान

क्रोएसियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान

Dec 22nd, 2019

जाग्रेभ, ६ पुस (रासस/सिन्ह्वा)

क्रोएसियामा आगामी पाँच वर्षका लागि नयाँ राष्ट्रपति चयन गर्न आइतबार मतदान भएको छ ।

स्थानीय समयअनुसार बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुका ७ बजेसम्म चल्ने अधिकारीहरुले जानकारी दिएका छन् । नयाँ राष्ट्रपति बन्नका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । विद्युतीय माध्यमबाट निर्वाचन भएकाले बेलुका ७ बजे मतदान सकिएपछि ८ बजे नै नतिजा आउने अपेक्षा गरिएको छ ।

निर्वाचनका लागि २४ हजारभन्दा बढी अनुगमनकर्ताहरु खटिएको निर्वाचन आयोगका अधिकारीहरुले बताएका छन् । क्रोएसियामा राष्ट्रपति चयन हुनका लागि उम्मेदवारले कम्तीमा ५० प्रतिशतभन्दा बढी मत ल्याएकै हुनुपर्ने व्यवस्था रहेको छ । पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले कम्तीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा दोस्रो चरणको निर्वाचन हुनेछ ।

पहिलो चरणको मतदानमा धेरै मत ल्याएका मध्ये दुई उम्मेदवारका बीचमा दोस्रो चरणमा मतदान गराइने छ । अहिलेको निर्वाचनमा पनि पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा दोस्रो चरणको निर्वाचन गराइने छ । दोस्रो चरणको निर्वाचन गर्नु परेमा जनवरी ५ तारिखका दिन गराइने तय भएको छ ।

प्रारम्भिक सर्वेक्षणहरुले वर्तमान राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिक, पूर्वप्रधानमन्त्री जोरान मिलानोभिक र लोकप्रिय गायक मिरोस्लाभ स्कोरोका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ ।
बर्तमान राष्ट्रपति ग्राबर सत्तारुढ दल क्रोएसियन डेमोक्र्याटिक युनियनबाट उम्मेदवार बन्नु भएको हो भने अर्का उम्मेदवार मिलानोभिक सोसल डेमोक्र्याटिक पार्टीबाट चुनावी मैदानमा हुनुहुन्छ । त्यसैगरी स्कोरो भने स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचनमा होमिनु भएको छ ।