neapl investment mega bank
  • गृहपृष्ठ
  • असहाय लक्षित क्लोथ बैंकद्वारा रात्रीकालीन सिरक वितरण अभियान सुरु

असहाय लक्षित क्लोथ बैंकद्वारा रात्रीकालीन सिरक वितरण अभियान सुरु

Dec 31st, 2025

जनकपुरधाम, पुस १६

कठ्याङ्ग्रिँदो जाडोका बीच जनकपुरधामका सडक पेटी तथा सार्वजनिक स्थानमा राति बेवारिसे र असहाय अवस्थामा सुतेका गरिब व्यक्तिहरूलाई लक्षित गरी क्लोथ बैंक नेपालले रात्रीकालीन सिरक वितरण अभियान सञ्चालन गरेको छ ।
क्लोथ बैंक नेपालका अध्यक्ष डा. राजीव झा, सचिव मनीष श्रीओम,प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, डिआइजी गोविन्द थपलिया, एसपी गुरुम कुँवर, क्लोथ बैंक कार्यालय सचिव कृष्णकुमार साह, प्रहरी नायब निरीक्षक रवि मण्डल, हवल्दार राम टहल यादव लगायतको टोलीले राति करिब ११ बजेसम्म जनकपुरधामका विभिन्न स्थानमा पुगेर सिरक वितरण गरेको हो ।

टोलीले गंगासागर, राम मन्दिर, जानकी मन्दिर, बारबिघा, संकटमोचन मन्दिर, रेलवे स्टेशन, मिल्स एरिया लगायतका क्षेत्रमा पुगेर जाडोले कठोर बनाएको रातमा अस्वस्थ अवस्थामा सुतेका गरिब, असहाय तथा विपन्न व्यक्तिहरूलाई खोजी–खोजी सिरक वितरण गरेको थियो । यस अभियानले सडक जीवन बिताइरहेका नागरिकलाई तत्कालीन राहत प्रदान गरेको जनाइएको छ ।

यसअघि, रौनियार युवा मञ्चले क्लोथ बैंक नेपाललाई ५० थान फाइबर सिरक सहयोग गरेको थियो । पत्रकार महासंघ धनुषाका अध्यक्ष तथा क्लोथ बैंक नेपालका उपाध्यक्ष पुरन रौनियारको पहलमा उपलब्ध उक्त सिरकमध्ये २५ थान जनकपुरधाममा वितरण गरिएको हो । सिरक हस्तान्तरण कार्यक्रम रौनियार सेवा समितिमा सम्पन्न भएको थियो, जहाँ रौनियार युवा मञ्चका अध्यक्ष राकेश रौनियार, उपाध्यक्ष मनोज गुप्ता तथा रौनियार सेवा समितिका पूर्व अध्यक्ष एवं संरक्षक तथा निर्माण व्यवसायी संघका उपाध्यक्ष जयप्रकाश साहको उपस्थिति रहेको थियो ।