neapl investment mega bank

अभ्यास SURYA KIRAN को १९ औं संस्करण सम्पन्न

Dec 9th, 2025

काठमाडौं, मंसिर २३

नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भई मिति २०८२ मङ्सिर ०९ गतेदेखि मित्रराष्ट्र भारतको पिथौरागढमा सञ्चालित संयुक्त सैनिक अभ्यास “SURYA KIRAN” को १९ औं संस्करण मिति २०८२ मङ्सिर २२ गते समापन भएको छ । अभ्यास SURYA KIRAN वि.सं. २०६७सालबाट नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको छ ।

विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरू समावेश गरी सञ्चालन भएको अभ्यास निरीक्षणको लागि नेपाली सेनाको तर्फबाट Observer Delegation Team को नेतृत्व गरी उपरथी अनुप जङ्ग थापा सहभागी हुनु भएको थियो ।

नेपाली सेनाले विविध विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारत लगायतका मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको छ । यस किसिमका संयुक्त सैनिक अभ्यासले मित्रराष्ट्रहरू बिच मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सकलदर्जामा पेसागत सिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।