कृतिका अधिकारी/ काठमाण्डौँ, मंसिर २
नेपाल प्रहरीले सञ्चालन गर्दै आएको साइबर ब्युरोले हालै प्रकाशित गरेको प्रतिवेदन अनुसार पछिल्लो ३ महिनामा मात्रै ५८३ वटा अनलाइन ठगीका घटना दर्ता भएका छन्। यी घटनाहरूमध्ये धेरैजसोमा युवाहरू “इन्टरनेट रोजगारी”, “गिफ्ट अफर”, तथा सजिलो कमाइ जस्ता प्रलोभनमा परी ठगिएका पाइएको छ।
यसरी ठगी बढ्नुको मुख्य कारण सामाजिक सञ्जालमार्फत पठाइने फेक लिंकहरू, झुटा बैंक खाता खोल्ने प्रलोभन, तथा विभिन्न सेवा–सुविधा दिने भनी बनाइने नक्कली आइडीहरू रहेका छन्। ठगिहरूले फेसबुक, इन्स्टाग्राम जस्ता प्लेटफर्म प्रयोग गरी युवाहरूलाई विश्वासमा ल्याई रकम माग्ने गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, हाल साइबर अपराधका नयाँ–नयाँ तरिका पनि बढ्दै गइरहेका छन्। हरेक सातामा औसत ४ जना पक्राउ परिरहे पनि उजुरी दर्ता गराउने पीडितहरूको संख्या भने लगातार बढ्दो छ।
यसैसँगै, “आर्थिक वर्ष २०८१\८२ मा करिब १८०२६ वटा साइबरसम्बन्धी उजुरी दर्ता भएका थिए भने, यस आर्थिक वर्षमा मात्रै अहिले सम्म ५९०० भन्दा बढी उजुरी दर्ता भइसकेका छन्” प्रहरी उपरीक्षक (एसपी) दीपक राज अवस्थीले जानकारी दिनुभएको । दुवै तथ्याङ्कमा अनलाइनमार्फत गरिने सबै प्रकारका ठगी तथा अपराधका केसहरू समावेश छन्।