काठमाडौं, कार्तिक २७
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ५.८० अंकले घटेर २५६०.२९ विन्दुमा झरेको छ।
यसैगरी, सेन्सेटिभ इण्डेक्स १.०५ अंक, फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले ओरालो लागेको छ।
बजारसँगै कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन आइतबार ४ अर्ब ९० करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा आज ३२७ स्टकको ४० हजार ५९१ पटकको कारोबारमा ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँबराबरको ८६ लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ।
आज ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। दरमखोला हाइड्रो इनर्जी, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र माबिलुङ्ग इनर्जीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो। यी सबै कम्पनी हालै मात्र नेप्सेमा सूचीकृत भएका हुन्। त्यस्तै, सिटि होटलको शेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४८ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। यूनियन हाइड्रोपावरको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ भने १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को करिब २५ करोड रुपैयाँको ऋणपत्र किनबेच भएको छ।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.६४ प्रतिशतले बढेको छ। लगानी र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ भने घटेका उपसमूहहरूको गिरावट १ प्रतिशतभन्दा कम रहेको छ।