neapl investment mega bank
  • गृहपृष्ठ
  • सार्वजनिक–निजी सम्पत्तिमा आगो झोस्नेलाई सरकारको उन्मुक्ति, देश र जनताका निम्ति गोली चलाउने सुरक्षाकर्मीलाई कारबाही !

सार्वजनिक–निजी सम्पत्तिमा आगो झोस्नेलाई सरकारको उन्मुक्ति, देश र जनताका निम्ति गोली चलाउने सुरक्षाकर्मीलाई कारबाही !

Oct 8th, 2025

काठमाडौं, असाेज २२

हावा नचलि रुखको पात झर्दैन । अहिले सार्वजनिक स्थलदेखि यातायात, चिया पसलसम्म एउटा कुराको चर्चा छ–जागिर खानुपरेमा, सरुवा, बढुवा हुनु परेमा वा ठेक्कापट्टा चाहिएमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र जेनजी अगुवा सुदन गुरुङ कहाँ जानुपर्छ । उनीहरुले मागेजति रकम बुझाएमा तत्कालै काम हुने सर्वसाधारण बताउँछन् । बालेन र सुदनको समर्थनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी हुन् । बालेनकै सल्लाहकार ओमप्रकाश अर्याल गृहमन्त्री बने । सुशीला कार्कीमा बालेन, सुशीला र सुदनका नजिकका मान्छे मन्त्री बनाइएको छ । जबकी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ८० जना युवाले ज्यान गुमाए । तिनका आमाबुबाको कोख रित्तियो । आन्दोलनकै क्रममा ह्जारौं घाइते भएका छन् भने कयौं बेपत्ता छन् । जनताले तिरेको करबाट बनाइएको सार्वजनिक सम्पत्ति तथा मानिस आफैंले दुःख गरेर, रगतपसिना बगाएर जोडेको सम्पत्तिमा आगो झोसेर खरानी बनाइयो । यसले राज्यलाई खर्बौको क्षति पुगेको छ । यता, मृतक परिवारलाई १५–१५ लाख रुपैयाँ दिनुपरेको छ । उनीहरुलाई शहिद घोषणा गरिएकोले अब महिर्नैपिच्छे रकम दिनुपर्छ । नेपालको संविधान २०७२ ले भन्छ– सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरिएमा कारबाही हुन्छ । त्यस्तै, कसैलाई मारेमा, ठगेमा, चोरेमा पनि जेल जानुपर्छ । अहिले देशभरका कारागारमा हजारौं कैदीबन्दी छन् । उनीहरु यस्तै अपराध (हत्या, चोरी, लुटपाट, आगजनीलगायत) मा जेल परेका हुन् ।
जेनजी आन्दोलनलाई यो तहसम्म पुर्याउने बालेन र नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने हुन् । त्यसपछिका नाइके हुन्, सुदन गुरुङ, मिराज ढुंगा, प्रदीप ज्ञवाली, रक्षा बमलगायत छन् । संविधान र कानूनअनुसार उनीहरु जेल जानुपर्ने स्पष्ट छ । किनकि आन्दोलनलाई अराजक, विध्वंश बनाउने उनीहरु नै हुन् ।

अहिले देशमा लोकतन्त्र गणतन्त्र यथावत् छ । प्रधानमन्त्री सुशीला कार्कीले २०७२ को संविधानबमोजिम शपथ खाएकी हुन् । आउँदो फागुन २१ ग्ते चुनाव मितिसमेत घोषणा गरिसकिएको छ । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म नयाँ राजनीतिक दल दर्ता गर्न आह्वान गरिसक्यो । बालेन र जेनजीहरुले नयाँ पार्टी खोल्ने चर्चा छ । सिंहदरबार बालेनले जलाएका हुन् भन्ने आरोप बजारमा तीव्र रुपमा फैलिएको छ । त्यस्तै, सर्वोच्चसहित अदालतहरु जलाउने रवि हुन् भन्ने आरोप छ । त्यसकारण आउँदो चुनावमा बालेनले पार्टी खोलेर सहभागी भएपनि वा रवि नेतृत्वको रास्वपाले एक सिट पनि जित्दैन भन्ने चर्चा बजारमा सुनिन्छ । ०७९ मंसिरको चुनावमा रास्वपाले २० सिट प्रत्यक्ष जितेको थियो । यदि जेनजी आन्दोलनको क्रममा रवि जेलबाट नभागेको भए आउँदो चुनावमा रास्वपा पहिलो पार्टीसमेत बन्न सक्थ्यो । तर, रविले आफ्नो खुट्टामा आफैंले बन्चरो हाने । आन्दोलनको मौका छोपेर उनी जेलरलाई कुटेर कारागारबाट भागे । त्यो पनि हिरोजसरी, चिल्लो गाडीमा हात हल्लाउँदै । उनको सिको गर्दै नख्खुसहित देशभरका कारागारबाट कैदीबन्दी भागे । त्यसक्रममा सुरक्षाकर्मीको गोलीबाट एक दर्जन कैदीले ज्यान गुमाए भने रविसँगै भागेका एक कैदीले आफ्नी श्रीमतीको हत्या गरे । अन्य कैदीबन्दी पनि पुन: अपराधमा संलग्न भएका छन् । जेलबाट भागेका हजारौं कैदी अझै बाहिर छन् । जसका कारण समाज असुरक्षित छ । यो आन्दोलनले रविप्रति जनविश्वासमा ठूलो आघात पुगेको छ । यता, आफूहरुलाई जेनजी अगुवा बताउने सुदनसहित विदेशी दलाल हुन् भन्ने चर्चा पनि बजारमा व्यापक छ । उनीहरुले गरिबको नाम बेचेर विदेशबाट डलर ल्याएर पचाउने गरेको आरोप छ ।

अर्कोकुरा, आउँदो चुनावमा यिनीहरुले नराम्ररी हार व्यहोर्नुपर्ने देखिन्छ । जेनजीहरुको जिल्ला, वडामा संगठन छैन । जबकी राजनीतिक दलहरुले जताततै संगठन बनाएका छन् । ती संगठनमा लाखौं कार्यकर्ता छन् । चुनावमा भोट हाल्ने भनेकै कार्यकर्ताले हुन् । अनि कार्यकर्ता नै नभएपछि जेनजीलाई कसरी भोट हाल्छ र जित्नु । ०७९ वैशाखको चुनावमा बालेन काठमाडौंको मेयरमा निर्वाचित भए । उनलाई ६३ हजार बढी काठमाडौंबासीले मतदान गरेर जिताएका थिए । ०८० भदौ १६ गते शनिबार उनकी पत्नी सवार सरकारी गाडी ट्राफिकले दुई मिनेट रोक्दा बालेनले फेसबुकमार्फत सिंहदरबार जलाइदिने धम्की दिएका थिए । अहिले साँच्चिकै सिंहदरबार जल्यो, त्यो पनि बालेनकै कारण । सिंहदरबार केबल सिंहदरबार मात्र थिएन, नेपालीको इतिहास थियो । नेपालीको मन, मुटु, मस्ष्तिक सिंहदरबारसँग जोडिएको थियो । सिंहदरबार जल्दा सबै नेपालीको मन रोयो । बालेनले आफ्नो स्वार्थका निम्ति सिंहदरबारमा आगो झोस्ने लगाए । उनको योजनाले जनताले बुझ्दै गएका छन् । अहिले उनलाई भोट दिएर जिताएका काठमाडौंबासी पछुताएका छन् ।
बालेनमाथि अन्य भ्रष्टाचारको आरोप पनि छ । फुटपाथमा ढुंगा टास्ने नाममा होस् या बसस्टप बनाउँदा उनले करोडौं भ्रष्टाचार गरेको आरोप छ । काठमाडौं महानगरपालिकालाई काठमाडौंबासीले कर तिर्छन् । तर, त्यो करमा बालेनले रजगज चलिआएको छ । आफ्नो प्रचारप्रसारका निम्ति उनी महानगरको कर महानगरबासीको हितमा खर्च नगरी एम्बुलेन्सको नाममा बाहिर जिल्लालाई बाँडिरहेका छन् ।
जेनजी आन्दोलनका क्रममा उनकै निर्देशनमा महानगरले आन्दोलनकारीलाई मिनरल वाटर बाँडेको थियो । अहिले काठमाडौंबासी बालेनलाई सोध्छन्, ‘सिंहदरबार, सर्वोच्च, संसद् भवनलगायत हाम्रो करबाट बनेका संरचनामाथि आगो झोस्नेलाई पानी बाँड्न हामीले महानगरलाई कर तिरेका हौं ?’ बालेनप्रतिको जनविश्वासमा ठूलो घात पुगेको छ । अब उनले पुनः मेयर वा सांसदमा लडेपनि चुनाव नजित्ने सर्वसाधारण नै बताउँछन् ।

निजामती ऐनअनुसार भ्रष्टाचार, बलात्कारमा दोषी ठहरिएमा मात्र सरकारी कर्मचारीको जागिर जान्छ । अहिले जेनजीहरुले अख्तियार प्रमुख प्रेम राई, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र गर्भनर विश्व पौडेलको राजीनामा मागिरहेका छन् । तर, उनीहरु न भ्रष्टाचारमा दोषी ठहर भएका छन् न अन्य अपराधमा । आफ्ना मान्छे नियुक्त गर्नका निम्ति जेनजीहरुले उनीहरुको राजीनामा मागिरहेको प्रष्ट छ । जनताबाट चुनिएर सदन पुगेका सांसदहरुले कानून बनाउँछन् । कुनै पनि कानून बन्दा दुई तिहाई सांसदले मतदान गर्नुपर्छ । दुई तिहाई सांसदको मतदानपछि राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैबाट पारित भएको कानूनको विधेयक राष्ट्रपति कहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपश्चात् त्यो कानून कार्यान्वयनमा आउँछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गृह मन्त्रालय र नेपाली सेना रक्षा मन्त्रालयअन्तर्गत पर्छ । कुनै पनि आन्दोलन नियन्त्रणबाहिर पुगेमा, सार्वजनिक तथा निजी सम्पत्ति जोखिममा भएमा सुरक्षाकर्मीले गृहमन्त्री, सम्बन्धित सिडियोको आदेशबिनै गोली चलाउन सक्ने कानूनी व्यवस्था छ । सुरक्षाकर्मीले जागिर खानेबेला कसम खाएका हुन्छन्, ‘म देश र जनताका निम्ति मर्न पनि तयार हुन्छु । आमालाई झुण्डाउँछ र बाबुलाई गोली हान्न पनि तयार हुन्छु ।’
जेनजी आन्दोलन नियन्त्रणबाहिर पुगेपछि ऐन, कानूनबमोजिम सुरक्षाकर्मीहरुले गोली चलाएका थिए । यो उनीहरुको दायित्व, अधिकार पनि हो । सुरक्षाकर्मी देश र जनताको रक्षक हुन् । तर, जेनजी आन्दोलनमा गोली चलाएको भन्दै सुरक्षाकर्मीसहित तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौंका सिडियो छविलाल रिजाललाई पक्राउ गर्नुपर्ने माग भइरहेको छ । के यो कानून जेनजी आन्दोलनको क्रममा बनेको हो र ? अनि किन उनीहरुलाई मात्र टार्गेट गरेको ?

जेनजीहरुले सार्वजनिक, निजी सम्पत्तिमा आगो झोस्न मिल्ने अनि भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाउन नपाउने ? यदि गोली हानेकै भरमा सुरक्षाकर्मीलाई कारबाही गरिने हो बेला अब सुरक्षाकर्मीले देश र जनताको सुरक्षा गर्ने छैनन् । अब राजनीतिक दलहरु एकजुट हुनुपर्छ । जनता पनि सत्यको पक्षमा लाग्नुपर्छ ।
रुषा थापा
भक्तपुर