काठमाडौं, असाेन १७
२०८२ असोज ६ गते घटस्थापनाबाट यो वर्षको दशैं शुरु भएको हो । घटस्थापनासँगै प्रायजसो सरकारी कार्यालय बन्द भए । कतिपय कर्मचारी दशैं मनाउन आफ्नो थातथलो पुगेका छन् भने कतिपय यतै दशैं मनाइरहेका छन् । फूलपातीदेखि त सम्पूर्ण सरकारी कार्यालय बन्द छ । जनताले तिरेको करबाट सरकारी कर्मचारीले दशैं पेश्की र तलब खाए । अहिले कर्मचारीहरु आफन्तसँग रमाइलो गरेर दशैं मनाइरहेका छन् । यता, सरकारी कार्यालय बन्द भएपनि गाडी चाँहि बाटोमा गुडिरहेको देखिन्छ । सानालाई ऐन, ठूलाई चैन भने उक्ति सरकारी कर्मचारीसँग ठ्याक्कै मिल्छ । कानूनले भन्छ, आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन । तर, यो नियम मजदुरमा भने लागू भएको पाइँदैन । अहिले मासु पसलमा काम गर्नेहरु भन्छन्, ‘बिहान ३ बजेदेखि राति ८–१० बजेसम्म खसी, बोका, बाख्रा, राँगा, भैंसी, संगुर, भेडा, च्याङ्ग्रा र कुखुरा काट्छौं ।’ दशैंमा माछामासुको खपत अधिक हुन्छ । एउटै व्यापारीले एकै दिन लाखौंको व्यापार गरी लाखौं नाफा कमाउँँछ । तर, दशैंको मौका छोपेर धेरै व्यापारीले उपभोक्तालाई ठगिरहेका छन् । खसीको मासु भनेर बाख्रा बेचिरहेका छन् । त्यो पनि दशैंअघि १३ सय प्रतिकिलोमा पाइने खसीको मासु अहिले १४ सयदेखि १५ सयमा बेचिरहेको छ । जबकी किसानसँग जिउँदो खसी प्रति किलो पाँच सयमा किनिन्छ । यस्तै, राँगाको मासु भनेर भैंसीको मासु बेचिरहेका व्यापारीहरुले अघिपछि प्रतिकेजी पाँच सयदेखि साढे पाँच सय पर्ने मासुको अहिले सात सयदेखि साढे सय असुलिरहेका छन् । जबकी त्यही भैंसी र राँगाको किसानले किलोको ६० देखि बढीमा ८० रुपैयाँ पाउँछन् । फर्मबाट मरेका कुखुरा ल्याएर बेचिरहेको अवस्था छ । त्यो पनि दशैं अघि प्रतिकेजी तीनदेखि साढे तीन सय रहेकोमा अहिले पाँच सय रुपैयाँमा बेचिरहेका छन् । किसानले भने किलोको एक सय रुपैयाँसमेत पाउँदैन । दशैंमा च्याङ्ग्रा र भेडा झनै खाइन्छ ।
व्यापारीहरुले किसानसँग प्रतिकेजी साढे चार सयमा जिउँदो च्याङ्ग्रा किनेर उपभोक्तालाई पहिले १३ सयमा बेचि भने अहिले चाँहि ९ सयमा बेचिरहेका छन् । काटेको मासु पनि पहिले २७ सयमा बेचेकोमा अहिले २४ सयमा झारिएको छ । यता, संगुरको मासुलाई पनि बंगुर भनि बेचिरहेको अवस्था छ । यो पनि दोब्बर मूल्यमा बेचिरहेको छ । माछा दशैंअघि प्रतिकेजी साढे तीन सय रुपैयाँ रहेकोमा अहिले पाँच सयदेखि साढे पाँच सयमा बिक्री गरिरहेको छ । दही, दुध पसलमा पनि उस्तै ठगीधन्दा छ । किसानसँग प्रतिलिटर ५० रुर्पैयाँमा दुध किन्छन् । अनि त्यसमा पानी मिसाएर डेढ सय रुपैयाँमा दुध बेचिरहेका छन् । उपभोक्ताले दुध किन्दा दुध कम पानी बढी हुन्छ । किनकि पहिल्यै किसानले दुई लिटर दुधमा एक लिटर पानी मिसाएको हुन्छ भने डेरी पसलले थप एक लिटर पानी थप्छ । यसरी उपभोक्ताले दुई लिटर दुध किन्दा एक लिटर त पानी नै हुन्छ ।
दशैंमा मदिराको पनि अत्याधिक खपत हुन्छ । तर, मदिरा पसलहरुको पनि यही हो धन्दा । दशैंको मौका छोपेर गुणस्तरहीन, म्याद सकिएको मदिरा बेचिरहेको अवस्था छ, त्यो पनि मनलाग्दी पैसा असुलेर । यता, टिका लगाउन वा टिका लगाउन जाँदा फलफूल लिएर जाने चलन छ । यसैको फाइदा उठाएर व्यापारीहरुले फलफूलको मनलाग्दी पैसा असुलिरहेका छन् । दशैंमा नयाँ कपडा लगाउने गरिन्छ । चीन, भारतबाट भन्सार नै नतिरी काठमाडौंस्थित महाबौद्ध, न्यूरोड, असन, भोटाहिटी, इन्द्रचोकलगायतका व्यापारीले निकै सस्तोमा अर्थात् एक सय रुपैयाँमा कपडा ल्याउने गरेका छन् । उनीहरुले ती कपडा खुद्रा व्यापारीलाई तीन सयदेखि चार सयमा बेच्छन् । र, खुद्रा व्यापारीले उपभोक्तालाई १५ सयदेखि तीन हजारमा बेच्छन् ।
भाटभटेनी, सुपरमार्केट, बिग मार्टहरुमा पनि उस्तै लुटधन्दा छ । बाहिर सात सयमा पाइने जुत्ता भाटभटेनीमा पाँच हजार पर्ने सर्वसाधारण बताउँछन् । बाहिर तीन हजार पर्ने मदिरा त्यहाँ १५ हजार पर्ने पनि मानिसहरु बताउँछन् । त्यसमाथि भाटभटेनी, बिग मार्ट र सुपरमार्केटमा राखिएका धेरैजसो सामान म्याद गुज्रिएका, गुणस्तरहीन हुने गरेको छ । यी व्यापारिक केन्द्रहरु बिहान ७ बजेदेखि राति ११ बजेसम्म खुल्छन् । दशैं भएपनि यी व्यापारिक केन्द्र खुलिरहेका छन् । भाटभटेनीले दिनमै अर्बौको व्यापार गर्छ र करोडौं मात्रै नाफा कमाउँछ । तर, कामदार चाँहि दशैंको बेलासमेत बिहान ७ बजेदेखि राति ११ बजेसम्म खटिरहेका छन् । उनीहरुले न बढी तलब पाउँछन् न दशैं मनाउन पाउँछन् ।
ती मजदुर पनि नेपाली हुन् । उसको पनि दशैं हुन्छ । तर, मजदुरहरुलाई दशैंले छोएको देखिँदैन । उनीहरु काममै खटिरहेका छन् । यी व्यापारिक केन्द्रहरुमा काम गर्नेहरुको मासिक तलब दश हजारदेखि बढीमा १५ हजार रपैयाँ छ ।अहिले भाटभटेनी साहु मीनबहादुर गुरुङलाई जनता सोध्छन्, ‘मजदुरहरुलाई यसरी शोषण गरेर, राज्यलाई राजस्व छलेर, उपभोक्ता ठगेर, सरकारी सम्पत्ति हिनामिना गरेर कतिञ्जेल मोटाउने ?’ उनले साढे चार अर्ब राजस्व छलेको सर्वोच्च अदालतले नै पुष्टि गरिसक्यो ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पनि उनी दोषी ठहर भई दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । यसरी मजदुर, उपभोक्ता, राज्यलाई ठग्ने गुरुङ समाजमा राम्रो भन्न भने राज्यले मागेको आफ्नो आधा सम्पत्ति दिने दाबी गर्छन् । राज्य भिकारी हो र उनीजस्तो ठग व्यक्तिसँग मागिरहन ! आफू राज्यलाई कर नतिर्ने अनि हावा हावा कुरा गर्ने । कानूनले भन्छ, ‘दशैंमा निजी कम्पनीहरुले पनि सरकारीसरह फूलपातीदेखि पूर्णिमासम्म कामदारलाई छुट्टी दिनुपर्छ । एक महिनाको तलब बराबर दशैं पेश्की दिनुपर्छ । तलब मासिक साढे १९ हजार रुपैयाँ दिनुपर्छ । सार्वजनिक बिदाका दिन काम लगाउन पाइँदैन । र, बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र काम लगाउन पाइन्छ ।’
तर, निजी कम्पनी, व्यापारिक केन्द्रहरुले न कामदारलाई बिदा दिएका छन् न पेश्की । उल्टै बढी काम लगाइरहेका छन् । यस्तै, घरायसी काम गर्नेहरुले पनि दशैंको बेला छुट्टी पाएका छैनन् । तीन हजारदेखि पाँच हजार तलबमा दशैंको बेलासमेत उनीहरु अर्काको घरमा झुठा भाडा माझिरहेका छन् भने सहचालक, चालकहरु पनि दशैंको बेलासमेत गाडी चलाइरहेका छन् । उनीहरुलाई त महिनाको तीन हजारदेखि आठ हजार मात्र तलब दिइन्छ भने काम चाँहि बिहान ५ बजेदेखि राति ९ बजेसम्म लगाइन्छ । गरिबको नाममा मुलुकमा धेरै चोटि आन्दोलन भयो । ती आन्दोलनले राजनीतिक परिवर्तन भयो । सबैले भनेका थिए, हामी गरिबको हितमा काम गछौं, शोषक, सामान्तीलाई कारबाही गछौं । तर, यो केबल भाषणामै सीमित हुन पुगेको छ ।
किनकि मुलुकमा जतिसुकै व्यवस्था परिवर्तन र ऐन, कानून बनेपनि गरिब शोषित भइरहेका छन् भने शोषक, सामान्तीहरु उनीहरुको रगतपसिना चुसिरहेका छन् । यस वर्ष पनि गरिबलाई दशैंले छोएन ।
रुषा थापा
भक्तपुर