neapl investment mega bank
  • गृहपृष्ठ
  • अग्रिम टिकट बुकिङ त खोल्न नसक्ने यातायातमन्त्रीले ४७ वर्षदेखि बन्द कालो र हरियो प्लेटको ट्याक्सी, फोस्ट्रक टेम्पो र कालीमाटीमा ढुवानी गाडीको नयाँ दर्ता खोल्न सक्छन् ?

अग्रिम टिकट बुकिङ त खोल्न नसक्ने यातायातमन्त्रीले ४७ वर्षदेखि बन्द कालो र हरियो प्लेटको ट्याक्सी, फोस्ट्रक टेम्पो र कालीमाटीमा ढुवानी गाडीको नयाँ दर्ता खोल्न सक्छन् ?

Sep 30th, 2025

काठमाडौं, असाेज १४

हरेक वर्ष दशैंलक्षित अग्रिम टिकट बुकिङ खुलाउने गरेकोमा यो वर्ष खुलाइएन । न सरकारले अग्रिम टिकट बुकिङ खोल्यो न यातायात व्यवसायीले । अग्रिम टिकट नखुल्दा सर्वसाधारणले निकै सास्ती पाएका छन् । अघिपछि एक हजार रुपैयाँले भाडा पुग्नेमा सर्वसाधारण पाँच हजार रुपैयाँ तिरेर घर गएका छन् । कोही बसमा उभिएर गएका छन् त कोही सामान बोक्ने गाडीमा । निजी प्लेटको गाडी रिजर्भ गरेर जानेको संख्या पनि उत्तिकै छ । फूलपातीको दिनबाट सम्पूर्ण सरकारी कार्यालय बन्द भइसकेको छ । सर्वसाधारण मँहगो रकम तिरेर कोचिएर घर गइरहँदा सरकारी कर्मचारीहरुलाई मोज छ । आफन्त भेटघाट, किनमेल, घुमघाममा सरकारी गाडीको दुरुपयोग भइरहेको छ । कार्यालयहरु बन्द भएतापनि सडकमा सरकारी गाडी छ्याछ्याप्ती देखिन्छ । खसीबोका किन्न जानदेखि लिएर घर जानसम्म सरकारी गाडीको प्रयोग गरिएको अवस्था छ । यता, जनप्रतिनिधिहरुले पनि गाडीको चरम दुरुपयोग गरिरहेका छन् । जनप्रतिनिधि र सरकारी कर्मचारी चढ्ने गाडी जनताले तिरेको करबाट खरिद गरिएको हो । उक्त गाडीमा इन्धन पनि जनताले तिरेकै करबाट हालिन्छ । तर, उनीहरुलाई जनताको कुनै ख्याल नै छैन । जनता वर्षदिनमा एकपटक आउने चाड मनाउन उभिएर, झुण्डिएर, गुन्द्रुकझैं खाँदिएर घर गइरहँदा जनप्रतिनिधि र सरकारी कर्मचारीहरु सरकारी गाडीमा डुलिरहेका छन् ।

सरकारी कर्मचारीले चढ्ने गाडीमा तीन लाखदेखि करोडसम्म लगानी गरिएको छ । त्यो सवारी साधनमा लाग्ने इन्धन र ड्राइभरको तलब पनि जनताले तिरेकै करबाट पूर्ति गरिएको हुन्छ । जनप्रतिनिधि र सरकारी कर्मचारीले सय लिटर इन्धन हाले भने तीन सय लिटरको बिल बनाउँछन् । नयाँ गाडी आफन्तलाई सिकाउँछन्, ठोक्काउँछन् । अनि बनाउँदा पाँच हजार लाग्यो भने एक लाखको बिल बनाएर झ्वाम्मै खान्छन् । फिल्डमा पाँच दिन गयो भने महिना दिनको हाजिरी बनाएर मिटिङ्ग भत्ता खाइदिन्छन् । अफिसमा पाँच हजारको सामान किने भने लाखौंको बिल बनाउँछन् । नयाँ सामान बिगारेर घरतिर दौडाउँछन् । अफिस आउने, राजनीतिक कुरा गर्ने, फेसबुक र टेलिफोनमा झुण्डिएर बस्ने । कानुनतः सवा १० बजेभित्र हाजिरी गरिसक्नुपर्छ । ५ बजेसम्म कार्यालयमा बसेर जनताको काम गर्नुपर्छ । विडम्बना, सरकारी कर्मचारीहरु १२ बजे हल्लिँदै आउँछन्, २ बजे नै घरतिर दौडिन्छन् । कतिपयले त महिनादिनको हाजिरी एकैदिन गर्छन् । कति कर्मचारीले आफैंले क्यान्टिन चलाएका छन् । कार्यालयमा हाजिर गर्ने अनि क्यान्टिन चलाउन जाने । उनीहरुले क्यान्टिनको भाडा र बत्ती, पानी, फोहोरको पैसा तिर्दैैनन् । सरकारले जनताले तिरेको करबाट सरकारी कर्मचारीलाई वर्षमा दुई जोर पोशाक उपलब्ध गराउँछ ।

एक जना सरकारी कर्मचारीले ३५ हजारदेखि लाख रुपैयाँसम्म तलब खान्छन् । सरकारले दशैंमा एक महिना बराबरको पेश्की दिन्छन् । उपचार खर्च, बीमालगायत सबै सेवासुविधा कर्मचारीलाई उपलब्ध गराइएको छ । बैठक बसेपछि भत्ता पाउँछन् । जसका कारण एकदिनमै दर्जनौंपटक बैठक बस्छन् । बैठक बसेपछि खाजा मगाउने अनि घरतिर दौडाउने । बैठकमा २० जना छन् भने ५० पोका खाजा मगाउँछन्, बचेको कर्मचारीहरुले झोलामा हालेर घर लैजान्छन् । कर्मचारीलाई सरकारले पर्याप्त तलब र सेवासुविधा दिएको छ । तैपनि उनीहरु घुस खान छोड्दैनन् । घुस दियो भने नहुने काम पनि एकछिनमै गर्दिन्छन् । घुस पाएनन् भने हुने काम पनि अड्काइदिन्छन् । कानुनी बाधा देखाएर सेवाग्राहीलाई दुःख दिन्छन्, हैरान पार्छन् । कानुनले सरकारी कार्यालय, सार्वजनिक ठाउँ वा सार्वजनिक यातायातमा ध्रुमपान, मादक पदार्थ सेवन गर्न नपाउने व्यवस्था गरेको छ । तर, सरकारी कार्यालयमै ध्रुमपान सेवन गरिन्छ । कर्मचारीहरु रक्सी खाएरै कार्यालय आएको उदाहरणहरु धेरै छन् । यता, कर्मचारीले ट्याटु हानेका हुन्छन् । पोशाक लगाउने ढंग पनि कर्मचारीसँग छैन । ल्याङ्गफ्याङ्ग पारेर कार्यालय आएको देखिन्छ । कर्मचारीहरुले जनताले आफू पुरानो, च्यातिएको लुगा लगाएर तिरेको करबाट खरिद गरिएको पोशाकको अपमान गरेका छन् ।

सरकारी कर्मचारीहरुले अवकाशमा गएपछि पनि पेन्सन पाउँछन् । सरकारी जागिरे श्रीमान बितेपछि श्रीमती र श्रीमती बितेपछि श्रीमान्लाई पेन्सन दिइन्छ । अन्तरिम सरकारमा बस्ने अधिकांश मन्त्रीहरु सरकारी कर्मचारीहरु हुन् । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानन्यायाधीश हुन् । ऊर्जामन्त्री कुलमान घिसिङ्ग नेपाल विद्युत प्राधिकरणको भूतपूर्व कार्यकारी निर्देशक हुन् । अर्थमन्त्री रामेश्वर खनाल पूर्वअर्थसचिव र उद्योगमन्त्री अनिलकुमार सिन्हा पूर्वन्यायाधीश हुन् । आफैं सरकारी कर्मचारी भएपछि उनीहरुले सरकारी कर्मचारीकै हितमा काम गर्ने भए । त्यसैको नतिजा यसपालिको दशैंमा देखियो । हरेक वर्ष अग्रिम टिकट खुलाउने गरेकोमा यसपालि सरकारले खोलेन । जसका कारण आफ्नो थातथलो फर्किने यात्रुहरु निकै मर्कामा परे । तर, सरकारी कर्मचारीलाई कुनै फरक नै परेन । उनीहरु सरकारी गाडी लिएर आफ्नो गाउँघर गए । बिदाको समयमा सरकारी गाडीको दुरुपयोग गर्नेहरुको सामुन्ने सुशीला कार्की नेतृत्वको सरकार लाचार बन्यो ।
सरकारले असोज ६ गतेदेखि २२ गतेसम्म रुट परमिट खुला गरिदिएको छ । यो अवधिभर उपत्यकाभित्र चल्ने जुनसुकै सवारी साधन बाहिरी जिल्ला जान पाउँछन् । उपत्यकाभित्र चल्ने गाडीहरु रिजर्भ लिएर बाहिरी जिल्ला गइसकेका छन् । जसका कारण सर्वसाधारण ठगीमा परेका छन् ।

सार्वजनिक बस नहुँदा यात्रुहरुलाई ट्याक्सीमा मँहगो भाडा तिर्नुपर्ने बाध्यता भएको छ । भक्तपुरको सिर्जनानगरबाट नयाँ बानेश्वरसम्म गएको ट्याक्सीले १५ सय रुपैयाँ माग्छन् । यता, पठाओ मोटरसाइकलले सिर्जनानगरबाट कोटेश्वरसम्म तीन सय रुपैयाँ लिन्छन् । देशमा जुनसुकै सरकार आएपनि जहिले सर्वसाधारण नै ठगिने रहेछन् । सरकारले ट्याक्सी चढ्नेबित्तिकै फ्ल्याकडाउनबापत ५० र प्रति किमि ५० रुपैयाँ शुल्क तोकेको छ । ट्याक्सीमा सरकारले मीटर जोडेको छ । तर, सो मीटर देखाउनका लागि जस्तो मात्र भएको छ । चालकले जति मनलाग्यो त्यति भाडा मागिरहँदा ट्राफिक प्रहरीले अनुगमन गरेको पाइँदैन । जनताले जतिसुकै दुःख पाएपनि, ठगिएपनि कसैलाई मतलब छैन । जनप्रतिनिधि र सरकारी कर्मचारी आफ्नै धुनमा मस्तमगन छन् । वर्तमान यातायात मन्त्री कुलमानको क्षमता जनताले यसपालिको दशैंमा देखे । न उनले अग्रिम टिकट खोल्न सके न पाँच दशकदेखि बन्द भएको कालो र हरियो प्लेटको ट्याक्सी, फो स्ट्रक टेम्पो र कालीमाटीमा चल्ने ढुवानी गाडीको नयाँ दर्ता ।
कानुनले स्पष्ट रुपमा भनेको छ,‘सीटभन्दा बढी यात्रु हाल्न पाइँदैन, तोकेको भन्दा बढी भाडा लिन पाइँदैन, सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन पाइँदैन ।’ तर, कानुन कार्यान्वयन गर्ने निकाय गृह मन्त्रालयलाई त्यसमा कुनै चासो नै छैन । कार्की प्रधानमन्त्री हुन लागेको एक महिना हुन लाग्यो ।

तर, यो अवधिमा उनले एउटा सिन्कोसमेत भाँच्न सकिनन् । जति बोल्न सजिलो छ, गर्न त्यति नै गाह्रो छ । यो दशैंमा पनि धेरै सवारी दुर्घटनामा परिसक्यो । धेरैले ज्यान गुमाइसके । यद्यपि, सरकारलाई कुनै फरक परेको छैन । सडकमा २३ देखि ३२ वर्षसम्मका गाडी गुडिरहेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले सीटभन्दा बढी यात्रु नहाल्नु, २० वर्षमाथि र कण्डिशन ठीक नभएका गाडी नचलाउनुसम्म पनि भन्न सकेनन् । जनता मरिरहँदा उनी उद्घाटनमै व्यस्त छन् ।
अनुसा थापा
भक्तपुर