काठमाडौं, असाेज १२
राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले काठमाडौंको सिफल चौरमा वृहद् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उपत्यकामा रगतको माग बढिरहेको अवस्थामा टुकोनले आयोजना गरेको उक्त रक्तदान कार्यक्रमले थप उत्साह प्रदान गरेको रेडक्रसले जनाएको छ ।
ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को काठमाडौं जिल्ला कार्य समितिको तत्वावधानमा सम्पन्न सो कार्यक्रममा सहभागी हुने रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्दै ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का केन्द्रीय अध्यक्ष एवं राप्रपा नेपालका सह महामन्त्री हिक्मत जंग भण्डारीले रचनात्मक र सामाजिक काममा टुकोन सदैव सक्रिय रहने बताए । यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि केन्द्र एवं जिल्ला स्तरमा निरन्तरता दिने प्रतिबद्धता जनाउँदै रक्तदाताहरुको उत्साहले आगामी दिनमा यस्ता कार्यक्रम गर्न थप उर्जा मिलेको बताए । टुकोनको काठमाडौ जिल्ला कार्य समितिले चाडबाडको विशेष समयमा रक्तदान कार्यक्रम आयोजना गरेर उपत्यकामा केही मात्रामा भएपनि रगतको मागलाई परिपूर्ति गर्ने शुभ कार्य गरेकोमा जिल्ला कार्य समितिलाई धन्यवाद दिदैं श्रमिकको हितका कार्यको सँगसँगै सामाजिक कार्यमा समेत अग्रसरता देखाएकोमा अध्यक्ष भण्डारीले सहभागि सम्पूर्ण श्रमिकहरुप्रति आभार प्रकट गरेका थिए ।
बडादशैंको पूर्वसन्ध्यामा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा करिब एक सय रक्तदाताहरुले रक्तदान गरेको टुकोनका सचिब दावा शेर्पाले जानकारी दिए ।