काठमाडौं, ६ पुस
स्पेनिस ला लिगामा बार्सिलोनाले अलाभेजलाई पराजित गरेको छ । शनिबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले एलाभेसलाई ४ -१ ले पराजित गरेको हो । यही खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सन् २०१९ मा ५० गोल पूरा गरेका छन् । क्लब र देशका लागि मेस्सीले ५० गोल गरेको पछिल्ला १० वर्षमा नवौँ पटक हो । सन् २०१९ मा मेस्सीले ३२ लिग खेलमा ३४ गोल गर्दै शीर्ष पाँच लिगमा सर्वाधिक गोलकर्ता रहेका छन् ।
खेलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । १४ औं मिनेटमा सुआरेजको पासमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा एलेक्सिस भिडालले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा पेरे पोन्सले आलाभेसका लागि ५६ औं मिनेटमा हेडमार्फत गोल फर्काए। तर ६९ औं मिनेटमा कप्तान मेस्सीले सुआरेजको पासमा गोल गर्दै अग्रतालाई ३–१ बनाए । खेलको ७५ औँ मिनेटमा लुइस सुवारेजले पेनाल्टीबाट गोल गर्दै बार्सालाई जीत दिलाए ।