neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th, 2025

ललितपुर, असाेज १
च्यासल ललितपुर निवासी ५२ वर्षीय शान्तमान व्यञ्जनकारको नेपाल मेडिसिटी अस्पतालमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । उनलाई आफ्नै श्रीमती ५० वर्षीया नानु व्यञ्जनकारले कलेजो दान गरेको हो ।
विगत ८ वर्ष देखि कलेजो समस्यासँग जुझिरहेका व्यञ्जनकारलाई गत भदौ ४ गते प्रत्यारोपण गरिएको थियो भने उनलाई भदौ २३ गते अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

“मेलै मदिरा सेवन गरेकै कारण मेरो कलेजो बिग्रिएको हो । बिरामी भएर पटक पटक बेहोस हुँदा विभिन्न अस्पतालमा जचाएँ, तर कलेजो पुरै विग्रिइसकेको कारण प्रत्यारोपण नै गर्नुप¥यो,’ व्यञ्जनकारले भने ।

व्यञ्जनकारले प्रत्यारोपणका लागि भारत जाने सोचेका थिए, तर नेपाल मेडिसिटीमा चिकित्सकलाई भटेर सल्लाह लिएपछि यहीँ प्रत्यारोपण गर्ने निधो गरे ।

“भारतको डाक्टरसँग सल्लाह लिँदा नेपालमै उत्कृष्ठ प्रत्यारोपण गर्न सकिने थाहा पाएँ । भारतमा जाँदा ज्यादा खर्च लाग्ने, बस्न तथा यातायातको दुविधा, भाषामा आउने कठिनाई सम्झिएर पनि मेडिसिटीमै उपचार गर्ने निर्णय गरेको हो, ” व्यञ्जनकारले भने ।

यस प्रत्यारोपणमा ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा. उमिद कुमार श्रेष्ठ, कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साह, डा. सञ्जय कुमार यादव, ट्रान्सप्लान्ट एनेस्थेसियोलोजिस्ट डा. अपूर्व शर्मा, डा. निराजन महासेठ, वरिष्ठ रेडियोलोजिस्ट प्रा.डा. राम कुमार घिमिरे सहितको टोलीले सघाएको हो ।

“नेपाली नागरिकहरूले यस्तो जटिल उपचारका लागि विदेश जानुपर्ने आवश्यकता छैन । नेपालमै उच्चस्तरीय दक्ष चिकित्सक टोली र अत्याधुनिक प्रविधिसहित निरन्तर प्रत्यारोपण सेवा प्रदान गर्दै, यस सफल प्रत्यारोपणले हाम्रो स्वास्थ्य सेवामा नयाँ उपलब्धि जोडेको छ ,” कलेजो प्रत्यारोपण सर्जन, डा. रामबाबु साहले बताए ।

नेपाल मेडिसिटीले गुणस्तरीय उपचार सेवाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै, आगामी दिनमा पनि निरन्तर कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्नेछ ।