neapl investment mega bank
  • गृहपृष्ठ
  • सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक दिपक थापा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक दिपक थापा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ

Sep 3rd, 2025

काठमाडौं, १८ भदौ
तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक दिपक थापा तथा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुदिप गिरी र टेक बहादुर तामाङलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको हो ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दिपक थापाले आफ्नो सेवा अवधिमा नेपालको संविधान र प्रचलित कानूनले प्रदान गरेको जिम्मेवारीहरूलाई पूर्ण इमानदारी, पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको बताउनुभयो । कानूनी शासनको प्रत्याभूति दिलाउने, मानव अधिकारको संरक्षण, सम्मान एवम् प्रवर्द्धन गर्ने, प्रमाणमुखी अनुसन्धानको साथै आम नागरिक र प्रहरीबीचको सम्बन्ध अझ सुदृढ बनाउन नेपाल प्रहरीको विधि र पद्धतिलाई अंगिकार गरेर सामूहिक भावना तथा भातृत्वभावका साथ जिम्मेवारी निर्वाह गरेको उहाँले बताउनुभयो । संगठनको संस्थागत विकासको लागि आन्तरिक सुदृढीकरण र शुद्धिकरण, प्रहरी कर्मचारीहरूको वृत्तिविकास, कल्याणकारी सेवा सुविधाको विस्तार, प्रहरी कार्यमा प्रविधिको प्रयोग, समयसापेक्ष तालिम तथा नीतिगत सुधार मार्फत संगठनलाई थप सक्षम, आधुनिक र व्यावसायिक बनाउन आफ्नो प्रयास सदैव केन्द्रीत भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक दिपक थापाले नवनियुक्त महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक अत्यन्तै साहसी, निष्ठावान् र क्षमतावान् व्यक्तित्व रहेको चर्चा गर्नुका साथै आफ्नो कार्यकालमा उहाँले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गर्नुभयो । संगठनको श्रीवृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई सबै प्रहरी कर्मचारीहरूबाट रचनात्मक सहयोग हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार समेत प्रकट गर्नुभयो । 

समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई हस्तान्तरण गर्नुभयो । साथै नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक दिपक थापा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो ।

उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले विभिन्न आरोह अवरोहहरू पार गरी सफलतापूर्वक आफ्नो सेवा अवधि सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सेवा निवृत्त जीवन सुखद रहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो । सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरूले संगठनको श्रीवृद्धिका लागि पुर्‍याएको योगदान अतुलनीय रहेको चर्चा गर्दै नेपाल प्रहरीको गरिमा अभिवृद्धिमा महत्वपूर्ण टेवा पुगेको तथा सेवा निवृत्त पछि पनि व्यावहारिक सल्लाह, सुझाव, परामर्श र पृष्ठपोषण प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । संगठनमा विगतमा भएका असल अभ्यासहरूलाई नेपाल प्रहरीको आगामी राणनीति तथा कार्ययोजनाहरूमा समेटी निरन्तर अगाडि बढाउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । 

कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी र प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले आ-आफ्नो सेवा अवधिमा गरेका कार्यहरूको अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती रूपा थापा लगायत संघका पदाधिकारीहरूलाई समेत बिदाइ गरियो । उहाँहरूलाई श्रीमती भावना श्रेष्ठ खापुङले शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको हो ।  


 उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक दिपक थापा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको थियो ।