काठमाडौं, भदाै १६
मुलुकमा पटकपटक राजनीति परिवर्तन भयो । २०४६ सालमा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आयो । २०६२–६३ सालमा १९ दिने आन्दोलन भएपछि २०६५ जेठ १५ गते देशमा लोकतन्त्र गणतन्त्रको घोषणा गरियो । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारामान बिजुक्छेंले २०४८ देखि २०७० सालसम्म भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट लगातार चुनाव जिते । पछिल्लो दुईपटक भएको निर्वाचनमा सो क्षेत्रबाट उनकै पार्टीका नेता प्रेम सुवालले निर्वाचनमा विजयी हात पारे । २०७४ र २०७९ मंसिर ४ गते गरिएको निर्वाचनमा पनि उक्त क्षेत्रमा नेमकिपाले नै विरासत थाम्यो । २०४८ सालदेखि हालसम्म यो क्षेत्रमा कुनै अन्य पार्टीले चुनाव जित्न सकेको छैन । निरन्तर मजदुर किसान पार्टीले नै चुनाव जितिरहेको अवस्था छ । ७६ जिल्लाका जनताले नेमकिपाले निरन्तर चुनाव जित्नुको कारण राम्रो काम गरेकाले भन्ठानेका छन् । तर, यो भ्रमभन्दा अरु केही होइन । भक्तपुर सम्पदास्थल हो । यहाँ थुप्रै मठमन्दिर छन् । नगरकोट पनि भक्तपुरमै पर्छ । त्यसैले विदेशीहरुका लागि यो घुमघाम स्थल हो । नेपालमा जति विदेशी आउँछन्, उनीहरु भक्तपुर र नगरकोट घुम्न छुटाउँदैनन् । उनीहरु भक्तपुर आउँदा कर तिर्छन् ।
भक्तपुर नगरपालिकाको ठूलो आम्दानी विदेशीले तिरेको कर हो । विदेशीले कति कर तिरे ? तिरेको पैसा के गरियो ? सरकार र सर्वसाधारण दुवै अञ्जान छन् । बस्, नारायणमान बिजुक्छें र प्रेम सुवाललाई मात्र थाहा छ । १ नम्बर क्षेत्रका घरधनीले पानी र फोहोरको पैसा तिर्नुपर्दैन । भोटका लागि सबै छुट दिइएको छ । यता, घरधनीहरुले घरबहाल कर पनि तिर्दैनन् । न कुनै पसल नै दर्ता भएको छ । दर्ता नै नगरिकन व्यवसाय सञ्चालन गर्न दिइएको छ । वडाले एक आना जग्गामा घर बनाउन नक्सा पास गरिरहेको भेटिन्छ । कतिपय घरको नक्सा नै छैन । सरकारको मापदण्डविपरीत बनेका घरहरुलाई पनि सम्पूर्णताको प्रमाणपत्र दिने काम भइरहेको छ । ७७ जिल्लामध्ये सबैभन्दा सानो जिल्ला भक्तपुर हो । यहाँको जमिन खेतीका लागि निकै नै उपयोगी छ । तर, नेमकिपाका कार्यकर्ताले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट स्वीकृति नलिईकन धमाधम खेतीयोग्य जमिन प्लटिङ्ग गरिरहेको छ । वनजंगल, तालपोखरी, ढुंगेधारा, आर्यघाट, मठमन्दिरको जग्गा मासिसकेको छ । खोलामाथि घर बनेको छ । राजकुलो मासेर पनि भवन ठड्याइएको छ । यो क्षेत्रमा सरकारी, ऐलानी, गुठी र हदबन्दीभन्दा बढी धेरै जग्गा थियो । जुन व्यक्तिको नाममा गइसकेको छ ।
२०२८ सालमा नापी हुँदा सरकारले भक्तपुर नगरपालिका–१, सल्लाघारीको आर्मी ब्यारेकमूनि गणेशथान मन्दिरको दाँयाबाँया, चंगा गणेशबाट दुवाकोट जाने टेम्पो पार्क, हनुमन्ते खोलाभन्दा यता, सिर्जनानगरको जग्गा सरकारी, ऐलानी र गुठीको कायम गर्यो । २०३० सालसम्म यो एरियामा एउटा पनि घर थिएन । पुरै जंगल र घारी थियो । २०३२ सालमा सल्लाघारी चौरभन्दा अगाडि सिर्जनानगरमा एउटाले छाप्रो हाल्यो । २०३५ सालमा एउटाले झिंगटी हालेर कच्ची ईँट्टाको घर बनायो । रोचक प्रसंग के भने, छाप्रो हाल्ने र कच्ची ईँट्टाको घर बनाउने दुवै नेमकिपाका कार्यकर्ता हुन् । २०२४ सालमा राजपरिवारले सल्लाघारी चौरको १०८ रोपनी दुई आना एक दाम जग्गा प्रति रोपनी एक हजारको दरले व्यक्तिसँग खरिद गरे । अहिले यो जग्गा घटेको छ । बढीमा ६५ देखि ७० रोपनी बाँकी होला । राजपरिवारको जग्गा सबै व्यक्तिको नाममा गएको छ । बाँकी भएकोमा नेपाल ट्रष्टले पर्खाल लगाएको छ । राजाले आफ्नो परिवारका निम्ति खरिद गरेको जग्गामा व्यक्तिहरुको रजाइँ चलेको छ । ठूल्ठूला घर बनाएर व्यक्तिहरुले भाडामा लगाएका छन् । चौरको अगाडि तीन वटा ढुंगेधारा थिए । जुन मासेर व्यक्तिले घर बनाइसकेको अवस्था छ । त्यो घरमा फलफूल र किराना पसल सञ्चालनमा छ ।
पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आउनेबित्तिकै नेमकिपाका कार्यकर्ताले सरकारी, गुठी, सार्वजनिक, हदबन्दीभन्दा माथिको, ऐलानी, राजपरिवारको जग्गा कब्जा गरे । यो ठाउँमा ७६ जिल्लाबासीले जग्गा किनेर घर बनाएका छन् । यहाँको जग्गा आनाकै २५ लाखदेखि करोडसम्म पर्छ । यो त एउटा उदाहरण मात्र हो । दुवै क्षेत्रमा यही अवस्था छ । सरकारी सम्पत्ति खाने पहिलो नम्बरमा नेमकिपा छ भने त्यसपछि क्रमशः काँग्रेस, एमालेलगायत अन्य पार्टी आउँछन् ।
सरकारी सम्पत्ति र राजपरिवारको जग्गा व्यक्तिको नाममा पास गरेर, कर नलिएर, विदेशीले तिरेको कर हिनामिना गरेर कहिलेसम्म चुनाव जितिरहने नारायणमान बिजुक्छेँ र प्रेम सुवालज्यू ? एकातिर राज्यको ढुकुटीमा आउनुपर्ने राजश्व पनि नउठाउने, अर्कोतिर राज्यको सम्पत्ति पनि आफ्नो कार्यकर्तालाई बाँडिदिने । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सम्पत्ति खोज्नुपर्छ ।
सार्वजनिक, गुठी, सरकारी, ऐलानी, हदबन्दीभन्दा बढीको जग्गा सबै जनताको साझा हो । सरकारी सम्पत्तिलाई भोटको रुपमा प्रयोग गर्न सक्ने अधिकार कसैसँग पनि छैन । प्रेम सुवाल सँधै भ्रष्टाचारको विरोध गर्छन् । तर, आफैंले के गरेको छु ? उनले ढाकछोप गरेका छन् । सदनमा जुनसुकै विधेयक आएपनि उनी विरोध जनाउँछन् । भ्रष्टाचारीहरुको खोइरो खन्छन् । पहिले आफूले के गरेको छु ? भन्ने ख्याल गरौं ।
भोटका लागि सरकारी सम्पत्ति दोहन गर्ने उनीमाथि पनि छानबिन र कारबाही हुनुपर्छ । २०४८ सालदेखि चुनाव जितेको नेमकिपा आजसम्म सरकारमा गएको छैन । सरकारमा नजानुको कारण प्रष्टै छ–विवादमा तानिन्छ, आफ्नो पोल खुल्छ भनेर नेमकिपाले सो रणनीति अपनाएको हो । नारायणमान बिजुक्ँछे, प्रेम सुवाल र मेयर सुनिल प्रजापति अन्य पार्टीलाई भ्रष्टाचारी भन्छन् । जुन सुकै कार्यक्रममा बोल्दापनि उनीहरुको एउटा नारा हुन्छ–काँग्रेस, एमाले र माओवादी भ्रष्टाचारी हो । त्यसो भए, तिमीहरुचाँहि के ? सरोकारवाला निकायले उनीहरुको सम्पत्ति छानबिन गरेमा को भ्रष्टाचारी ? दूधको दूध, पानीको पानी भइहाल्छ । अरुमाथि हिलो छ्यापेर यिनीहरु आफूलाई जोगाउने खेल खेलिरहेका छन् । २०७९ वैशाख ३० स्थानीय र मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भयो ।
मेयरमा प्रजापति आए, वडा नम्बर १ मा नेमकिपाकै श्याम खत्रीले चुनाव जिते । राप्रपालाई भोट दिएका एक जनालाई वडाध्यक्ष खत्रीले नागरिकताको सिफारिस दिएनन् । अर्को पार्टीलाई भोट हालेको भन्दै सिफारिस नदिएपछि उनीहरु तत्कालीन गृहमन्त्री रवि लामिछानेकहाँ पुगे । लामिछानेले भक्तपुरको सिडियोलाई फोन गरेपछि सिडियोले खत्रीलाई निर्देशन दिए । अनि मात्र नागरिकताको सिफारिस दिइएको हो ।
मजदूर किसान पार्टीले बाहिरी जिल्लाबाट बसाइँसराइँ आएकालाई आफ्नो पार्टीको सदस्यता लिनैपर्ने बाध्यता बनाउँछ । नेमकिपाको असलियत विस्तारै बाहिर आइरहेको छ । आगामी चुनावमा त्यसले नेमकिपालाई असर गर्ने प्रष्ट छ । भोट हाल्ने व्यक्तिको नितान्त व्यक्तिगत अधिकार हो । कसलाई भोट दिने ? यो मतदाताले कुरा हो । अर्को पार्टीलाई भोट हालेको भन्दै नागरिकताको सिफारिस नदिने अधिकार कसैसँग छैन । सांसदहरुले अब प्रेम सुवाल र नेमकिपाको विरोध गर्नुपर्छ । उनको सामुन्ने सबै सांसद किन निरीह ? उनले थर्काउँछन् भनेर डराएको ? थर्काएको भरमा सरकारी सम्पत्ति लुट्न पाइन्छ ?
अनुसा थापा
भक्तपुर