काठमाडौं, भदाै १२
बिहीबार नेप्से परिसूचक ३८.१० अंक घटेर २७८१.०० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ५.७४ अंक, फ्लोट इण्डेक्स २.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०२ अंक घटेको छ। नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। बुधबार ७ अर्ब ६८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ३२२ स्टकको ७८ हजार ३७९ पटकको कारोबारमा ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँबराबरको १ करोड ७८ लाख ९१ हजार कित्ता शेयर किनबेच भएको छ।
विकास हाइड्रोपावरको शेयर लगातार सातौँ दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ५१ रुपैयाँ ७० पैसा बढेर ५६८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। अन्य स्टकको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। ओरियन्टल होटलको शेयरमूल्य ४.७१ प्रतिशत घटेर सर्वाधिक प्रभावित भएको छ। कारोबार रकममा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहँदा ६५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
हिमालयन रि इन्स्योरेन्सको साढे ६० करोड र हिमालयन डिष्टिलरीको ३५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १३ उपसमूहमध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक २.३८ प्रतिशतले सर्वाधिक घटेको छ। वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।