neapl investment mega bank

रविको रिहाइ मागको निवेदनमा आज सुनुवाइ

Aug 11th, 2025

काठमाडौं, साउन २६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा दिएको निवेदनको सुनुवाइ आजका लागि तोकिएको छ। न्यायाधीश नारायण सापकोटाको इजलास (१० नम्बर) मा उनको पेसी चढेको अदालत प्रशासनले जनाएको छ।

लामिछाने सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो। त्यसअघि, रुपन्देही जिल्ला अदालतले उनलाई १ करोड धरौटीमा रिहा गरेको थियो, तर उच्च अदालतको आदेशपछि उनी भैरहवा कारागारमा छन्।

लामिछानेले गत साउन १९ गते मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ बमोजिम बैंक जमानत वा धरौटीमा रिहा गर्न माग गर्दै निवेदन दर्ता गराएका थिए। उनले बिगोबापतको २ करोड ७४ लाख ८४ हजार दाखिला गरिसकेको बताएका छन्। दफा ६८ मा अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सकिने व्यवस्था छ भने दफा ७१ मा मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगे पनि अभियुक्तलाई थुनामा राख्ने वा जमानतमा रिहा गर्ने व्यवस्था रहेको छ।