आधारभुमि संबाददाता, १३ साउन
काठमाडौं । ललितपुरको गोदावरीस्थित निर्माण भएको ‘गोदावरी फरेस्ट रिसोर्ट’ सञ्चालका लागि तयार भएको छ।
अमेरिकन होटल चेन ब्रान्ड ‘बेस्ट वेस्टर्न प्लस’ को व्यवस्थापनमा सञ्चालनमा आउने यस रिसोर्ट करिब ६ वर्ष लामो निर्माणपछि १ अर्ब ९५ करोड रुपैयाँको लागतमा तयार भएको हो ।
रिसोर्ट दसैंबाट सञ्चालनमा ल्याउने तयारी रहेको सञ्चालक युवराज श्रेष्ठले जानकारी दिए। यो रिसोर्टमा कुल ८३ वटा कोठा छन्। ३ वटा सुविधा सम्पन्न मिटिङ हल, एउटा इन्फिनिटिभ स्विमिङ पुल, २ वटा रेस्टुरेन्ट छ। सञ्चालक श्रेष्ठका अनुसार पाँचतारे सुविधा प्रदान गर्ने गरी रिसोर्ट तयार गरिएको र अहिले भने चारतारेको मात्रै वर्गीकरण लिनेछ।
६० जना क्षमताको रेस्टुरेन्ट, भीआइपी मिटिङ हल, स्पा, फिटनेस सेन्टर उच्चस्तरको ब्युटीपार्लर, गिफ्ट सप लगायत सुविधा रहेको रिसोर्टमा ५० वटा चारपाङ्ग्रे सवारीसाधन पार्किङको क्षमता छ।
गोदावरी वरपरको क्षेत्रमा हाइकिङ, ट्रेकिङका साथै धार्मिक पर्यटन पनि बढ्न थालेकाले आन्तरिकका साथै भारतीय र चिनियाँ पर्यटकलाई लक्षित गरेर रिसोर्ट निर्माण गरेको श्रेष्ठले बताए।
रिसोर्टमा युवराज श्रेष्ठसहित कुशन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, मदनलाल जोशीलगायतको संयुक्त लगानी रहेको छ।