काठमाडौं, असार ३०
मुलुकमा तीन दशकअघि गार्मेण्ट उद्योग, पश्चिमा उद्योग, गलैँचा उद्योग, फिल्म हल खोल्ने होडबाजी थियो । त्यसपछि सिमेण्ट, डण्डी, रंग कारखाना खोल्ने होड चल्यो । निर्माण सामग्रीपछि बैंक तथा वित्तिय संस्थाप्रति मोह शुरु भयो । धमाधम बैंक, सहकारी, लघुवित्त, फाइनान्स खोल्न थालियो ।
त्यसपछि आउँछ, घरजग्गा र सेयरमा लगानी । भटाभट सेयर र घरजग्गामा लगानी गर्न थालियो । त्यसैगरी, बीमा कम्पनी खोल्ने होड चल्यो । तर, सबै क्षेत्रमा लगानी गर्नेहरु चुलुम्मै डुबे । कतैबाट पनि नभएपछि अहिले होडबाजी चल्यो–विदेश जाने । हजारौं विदेश पलायन भइरहेका छन् । कोही सहकारी काण्डले जेलमा पुगेका छन् त केहीले आत्महत्या गरेका छन् । जनताले देखासिकीमा लगानी गर्दै आएका छन् । कुन क्षेत्रमा लगानी गर्दा आफ्नो पैसा सुरक्षित हुन्छ ? राज्यलाई कर आउँछ र आफ्नो पनि आम्दानी हुन्छ ? सोच्दै नसोचिकन जनताले हावादारीको भरमा लगानी गर्दै आएका छन् ।
अरुले कमाए, म पनि कमाउँछु भनेर लगानी गर्छन् । र, त्यो चार्लमचुर्लुम डुब्छ । जसको परिणाम हो, माथि उल्लेखित उद्योगदेखि व्यवसायसम्म । हुन त यहाँ सरकारसँगै योजना छैन । जसका कारण सरकारकै लगानी डुबेको अवस्था छ । चाइनिज ईँट्टा उद्योग, छाला जुत्ता उद्योग, हेटौडा लुगा कारखानालगायत थुप्रै उद्योग बन्द भएको छ ।
सरकार र जनताले गरेको लगानी डुब्नुको प्रमुख कारण राजनीतिक दलका नेता हुन् । नेपालको नेता भनिएपनि अरु देशको झोला बोकेर राजनीति गरिएको अवस्था छ । कुनै अमेरिकाको झोला बोकेर राजनीतिमा आएका छन् त कुनै भारतको । कुनै चीनको झोले बनेर राजनीतिमा प्रवेश गरेका छन् । जसको एउटा बलियो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुन् । अमेरिकाको नागरिकता लिइसकेका उनी नेपाल फर्किए, पार्टी खोले, राजनीतिमा आए । अहिले सहकारी ठगीको आरोपमा जेलको चिसो भुइँमा पुगेका छन् । अन्य देशले नेपाललाई कहिल्यै स्वतन्त्र रुपमा अघि बढ्न दिँदैनन् । अन्य देशले नेपाललाई आफ्नो व्यापारिक थलो बनाएका छन् । उनीहरुको देशमा उत्पादन भएको सामान यहाँ बेचिरहेका छन् । त्यसैले नेताहरुलाई हाता लिएर उनीहरुले यहाँ सञ्चालित सबै उद्योग बन्द गराए । त्यत्रो लगानी लगाएर सञ्चालनमा ल्याइएको उद्योगहरु अहिले खण्डहर अवस्थामा छ । जनताले तिरेको कर त सखाप भइहाल्यो, अर्कोतिर नेपाल अर्को देशमाथि निर्भर हुन पुग्यो । दशकौंअगाडि उत्पादन भएको उद्योगलाई संरक्षण गर्न चासो देखाइएन । अहिले नेपाल सियोमा समेत आत्मनिर्भर छैन । सियो पनि अर्को देशबाट आयात गर्नुपरेको अवस्था छ । ती उद्योग हुँदा जनताले रोजगारी पाएका थिए ।
तर, अर्काे देशलाई धनी बनाउन सरकारले उद्योग नै बन्द गरिदियो । यहाँ अरु देशले जे भन्यो, त्यही हुन्छ । अरु देशले जे जे भन्यो, नेताहरु त्यहीत्यही गर्छन । भूपू राष्ट्रपति विद्यादेवी भण्डारी हाल पार्टी अध्यक्ष लड्ने दाउमा छिन् । चीनबाट फर्किएपछि उनी एकाएक पार्टी अध्यक्ष बन्न तातिन् ।
त्यसपछि नखुलेकी उनले अहिले राष्ट्रपतिको सेवासुविधा त्याग गरिसकेकी छिन् । चीनले कान फुकेकाले उनले पार्टी अध्यक्षमा लड्ने निर्णय गरेको चर्चा बजारमा छ । नेपालको राजनीतिक परिवर्तनमा विद्यादेवी भण्डारीको कुनै योगदान छैन । स्वर्गीय नेता मदन भण्डारीको त्याग हेरेर जनताले उनलाई मतदान गरेको हो । दुई पटक राष्ट्रपति खाइसकेकी उनलाई अरुले उचाल्नेबित्तिकै पार्टी अध्यक्ष उठ्ने निष्कर्षमा पुगिन् । यसले नेपालका राजनीतिक दलहरु अन्य मुलुकको लहैलहैमा हिड्ँछन् भन्ने प्रष्ट पार्छ । नेपाली यति सीधा छन् कि रविका निम्ति हस्ताक्षर गर्दै हिँडेका छन् । उनले अमेरिकी नागरिकता त्यागिसके भने अमेरिका सरकारले नेपाल सरकारलाई कुनै प्रमाण पठाएको छैन ।
जसले रवि अहिलेपनि अमेरिका नागरिक भएको देखिन्छ । अर्को देशको नागरिकलाई राजनीतिक प्रतिशोध भयो भनेर नेपाली जनता सडकमा हस्ताक्षर गर्दै हिँडेका छन् । नेपालीको कहिले आँखा खुल्ने ? भूपू न्यायाधीश, भूपू प्रधानमन्त्री बाबुराम भट्टराई, कलाकार मनीषा कोइरालालगायत विभिन्न कलाकार, भूपू कर्मचारीलगायतले उनको पक्षमा हस्ताक्षर गरे । तर, उनीहरुले उनको नागरिकता कहाँको छ ? अमेरिकी सरकारले उनले नागरिकता त्यागेको प्रमाणित गरेको छ कि छैन ? उनीहरुले खोजेनन् । सहकारीमा यत्रा जनताको पैसा फसेको छ, उनीहरुको बारेमा सोच्नुपर्छ कि पर्दैन ? उनीहरु नेपाली जनता होइनन् ? सहकारीका बचतकर्ताले चाँहि न्याय नपाउने ? पैसा पनि फिर्ता नपाउने अनि सहकारी ठगी गर्नेलाई थुन्न पनि नपाउने ? हस्ताक्षर गर्नेहरुलाई जनताले सोध्छन्,‘सहकारी बचतकर्ता विदेशी नागरिक हुन् ? उनीहरुको पैसा फिर्ता दिलाउन पहल गर्ने कि सहकारी ठगीमा जेल पुगेकालाई जोगाउन ?’ यस्ता नेताहरु भएको देशमा जनताले कहिल्यै सुःख पाउँछन् ?
प्रायःजसो पार्टी सरकारमा पुगिसकेको छ । तर, कसैले पनि देशको मुहार फेर्न चाहेनन् । देशभित्रै उद्योग, कलकारखाना खोलौं, जनतालाई रोजगारी दिऔं, यहाँको जनशक्तिलाई विदेश जान नदिऔं, कर उठाऔं, विकास गरौं भन्ने सोच नेतृत्वकर्ताह्रुमा कहिल्यै पलाएन । जनतालाई धमाधम विदेश पठाइदिऊँ अनि आफूहरु मोजमस्ती गरौं भन्ने सोच राखे ।
त्यसैले त नेपालमा अब जनशक्ति नै छैन । पैसा हुने अमेरिका अष्ट्रेलिया, नहुने खाडी छिरिरहेका छन् । माओवादीले के के न गर्छु भनेर जनयुद्ध शुरु गर्यो । माओवादी शान्ति सम्झौतामा आएको १८ वर्ष भयो । यो अवधिमा २७ खर्ब पाँच अर्ब १७ करोड विदेशी ऋण पुग्यो । योभन्दा कति नै गर्नु ?
देश नै धितो राखेर खानु खाइहाले । यस्तै पाराले केही वर्षपछि देश ध्वस्त हुन्छ । नेताहरुले राजनीतिक गर्नुको उद्देश्य जनताले थाहा पाइसकेका छन् । काँग्रेस, एमाले, माओवादीलगायत सबै पार्टीको नियत उहीँ हो । जनताले तिरेको कर र विदेशी ऋणमा मोजमस्ती गर्न मात्र यिनीहरुले राजनीति गरेका हुन् । देश र जनताको नाम बेचेर व्यक्तिगत स्वार्थ पुरा गरिएको छ । हिजो चप्पल लगाउन नसक्नेहरु आज अर्बौंको मालिक बनेका छन् । जुनैसुकै पार्टी भएपनि कसैले कहिल्यै देश र जनताको विषयमा सोचेनन् । जनता शिक्षित भए तर उनीहरुमा चेतना भएन । नेताहरुले सँधै भ्रम फिजाए ।
यसले गरेन अर्कोले गर्छ कि भनेर जनता एकपछि अर्कोमा लागिरहेका छन् । एमाले छोडेर काँग्रेस, काँग्रेस छोडेर माओवादी अब माओवादी छोडेर रास्वपा । त्यसको परिणाम अहिले समग्र मुलुकले भोगिसकेको छ । नेताहरुले उद्योग, कलकारखाना त बेचे, देश पनि बेचिसके । राजनीतिक दलका नेताहरु अझै भन्छन्,‘हामी देशमा विकास गर्छौं ।’ तर, अब केले विकास गर्छु ? सरकारको ढुकुटीमा पैसा हुनुपरेन्, विकास गर्नलाई ? एक जना नेपालीको टाउकोमा अहिले ९२ हजार रुपैयाँ ऋण पुगिसकेको छ । जनता आफ्नो यति सम्पत्ति भन्छन् तर त्यही सम्पत्ति धितो राखेर सरकारले ऋण ल्याएको छ । नेताहरुले देश विदेशीलाई सुम्पिसके ।
नेपालीहरुले आफूलाई नेपाली भन्ने आधार एउटा नागरिकता र नेपाली रुपैयाँ छ । नत्र त बजारमा विदेशी सामानकै प्रभुत्व छ । नुनदेखि सुनसम्म विदेशबाट आयात हुन्छ । नेपालमा उत्पादन भएकोले यहाँका जनतालाई पुग्ने कुनै वस्तु छैन । २०४६ सालअघि नेपालमा धेरै उद्योग कलकारखाना थियो ।
त्यतिबेला विदेशी ऋण थिएन, विदेश जाने चलन शुरु भएको थिएन । राजनीतिक परिवर्तनसँगै देश लथालिङ्ग भयो । राजनीति परिवर्तनले मुलुक सुधारिने होइन, झन् बिगार्यो ।
अनुसा थापा
भक्तपुर