neapl investment mega bank

वीरगञ्जको तीन अर्ब २२ करोड बजेट

Jun 25th, 2025

आधारभुमि संबाददाता/असार ११
वीरगञ्ज महानगरले असार ९ गते नै आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरिसकेको छ । महानगरले कुल तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको हो । महानगरको नगरसभाको १७औँ अधिवेशनमा महानगरका उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्षको आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन् ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार रुपैयाँ विनियोजन गरेको छ । पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात् कुल बजेटको २८.६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट एक अर्ब १५ करोड संकलन हुने अनुमान गरिएको छ । त्यसैगरी सघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख बजेट प्राप्त हुने अनुमान गरिएको छ ।

आलमका अनुसार, आगामी आर्थिक वर्षको बजेटको मुख्य प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाह रहेका छन् ।

यस महानगरले चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षमा ३३ करोड बढीको बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा महानगरको बजेट दुई अर्ब ८९ करोड ४८ लाख थियोे । महानगरले बीपी उद्यान र रेल्वे संग्रहालय बनाउने घोषणा गरेको छ ।