काठमाडौं, जेठ २७
ललितपुर महानगरपालिकाले अन्य पालिकाभन्दा फरक प्रकृतिका काम गरी आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ । महानगरपालिका प्रमुख चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित भएदेखि नै महानगरभित्र कतिपय काम अन्य पालिकाभन्दा फरक रूपमा सञ्चालन हुँदै आएका छन् ।
त्यसमध्येको एक हो— सडक व्यवस्थापन । उपत्यकाको तीनवटै सहरमध्ये सडक व्यवस्थापनमा ललितपुर महानगरपालिकाले पछिल्ला केही वर्षमा उल्लेखनीय सफलता हात पारेको छ । ट्राफिक सहज बनाउने, पैदलयात्रीका लागि सुरक्षित मार्ग सुनिश्चित गर्ने, अनधिकृत पार्किङ हटाउने र डिजिटल प्रविधिको प्रयोगमार्फत ‘स्मार्ट सिटी’ निर्माणमा अघि बढेको ललितपुर महानगरको प्रयास अनुकरणीय बन्दै गएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन नेतृत्वको टोलीले ‘सफा, सुन्दर र व्यवस्थित ललितपुर’ को लक्ष्यसहित सडक सुधारको अभियान सञ्चालन गर्दै आएको छ । सडक सुधारको अभियान अन्तर्ग ललितपुर महानगरले धेरै काम गर्दै आएको छ । त्यसमध्ये आज हामी महत्वपूर्ण कामहरूको बारेमा चर्चा गछौं ।
फुटपाथ व्यवस्थामा उदाहरणीय महानगर
जब काठमाडौं महानगरपालिका फुटपाथ र ठेलागाडा व्यवस्थापनमा बारम्बार असफल हुँदै विवादको केन्द्र बन्दै आएको छ । त्यही, ललितपुर महानगरपालिकाले भने यो क्षेत्रलाई शान्तिपूर्ण, व्यवस्थित र उदाहरणीय रूपमा व्यवस्थापन गर्न सफल भएको छ । काठमाडौंमा महानगर प्रहरी र फुटपाथ व्यवसायीबीचको झगडा सामान्य जस्तै बनिसकेको छ, तर ललितपुरमा भने यस्तो दृश्य दुर्लभ छ । न त अव्यवस्थित फुटपाथ देखिन्छ, न त अराजक ढंगमा ठेलागाडा राखिएको देखिन्छ । ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार महानगरको नीतिगत स्पष्टता र सहृदय कार्यशैलीका कारण फुटपाथ व्यवस्थापनमा असमझदारी उत्पन्न भएको छैन । ‘हामीले फुटपाथ र ठेलागाडा व्यवसायीलाई सुरुमा नै सम्मानपूर्वक सम्झाउँदै व्यवस्थापन गरेका छौं । कुनै पनि पसललाई हठात् सामान जफत गर्ने कार्य गरिएका छैनन् । अहिले यो विषय धेरै व्यवस्थित भइसकेको छ ,’ उनी भन्छन् ।
सुरुमा माइक्रोफोनमार्फत बटुवाको असहजता सम्झाउने, गाडी गुड्ने र मान्छे हिँड्ने बाटोमा पसल नराख्न पटकपटक आग्रह गर्ने शैली अपनाइएको थियो । महानगरले फुटपाथ पूर्णतः निषेध गर्ने पक्षमा नभई व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने स्थानहरू तोकेको छ । सोही अनुसार व्यवस्थित भएको छ । साथै मुख्य सडकहरूमा ठेलागाडा, रिक्सा र फुटपाथ पसल निषेधित क्षेत्र घोषित गरिएको पनि उनी बताउँछन् । ललितपुरमा पुरानै फुटपाथ व्यवसायीलाई व्यवस्थित रूपमा स्थान दिएको छ भने नयाँले पसल राख्न चाहनेले महानगरबाट स्वीकृति लिई आफैँ स्थान खोज्नुपर्छ । यस्तो व्यवस्थापनले गरिब, निम्न आय वर्गका व्यापारीलाई पनि केही हदसम्म सहजता प्रदान गरेको छ । ललितपुर महानगरपालिका फुटपाथ व्यवस्थापनको विषयमा योजना, सहृदयता र अनुशासनको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै उदाहरणीय मोडल बनेको छ । फुटपाथ व्यवस्थापनमा सौन्दर्य र वातावरण पनि प्राथमिकतामा राखिएको छ । सडक छेउका रूखहरू संरक्षण गरिनुका साथै नयाँ रूख रोप्ने, फूलका गमला राख्ने, र सौर्य बत्ती जडान गर्ने कामले यी फुटपाथहरूलाई सौन्दर्यपूर्ण बनाएको छ । यसले वातावरण संरक्षणमा मात्र होइन, नागरिकको मानसिक सन्तुलन र शान्तिमा पनि योगदान पु¥याइरहेको छ ।
फुटपाथ अतिक्रमण ललितपुरको जस्तै सहरी क्षेत्रमा सामान्य चुनौती हो । तर ललितपुर महानगरले यस समस्यालाई व्यवस्थित रूपमा समाधान गर्ने प्रयास गरेको छ । चेतावनी, वैकल्पिक व्यवस्था र कानुनी प्रक्रिया अपनाएर व्यापार तथा सेवाको निरन्तरतासमेत सुनिश्चित गर्दै महानगरले फुटपाथलाई पैदल यात्रीकै लागि सुनिश्चित गर्न पहल गरेको छ ।

सडक मर्मत र पुनःनिर्माणमा अब्बल
ललितपुर महानगरपालिकाको एउटा उल्लेखनीय सफलता भनेको पैदलयात्री मैत्री सडक संरचना निर्माण हो । ललितपुर महानगरपालिका पछिल्ला वर्षहरूमा सडक पूर्वाधार सुधारमा विशेष सक्रिय देखिएको छ । खाल्डाखुल्डी, भत्किएका सडक सतह र पानी जम्ने समस्याले भरिएका भौतिक पूर्वाधारको अवस्था सुधार गर्ने उद्देश्यले महानगरले मर्मत तथा पुनःनिर्माण अभियानलाई तीव्र बनाएको हो । भत्किएका र बिग्रिएको सडकका कारण नागरिकले दैनिक यात्रा गर्दा ठूलो सास्ती भोग्नु पर्छ । पैदल यात्रीदेखि मोटरसाइकल र चारपांग्रे सवारी साधन प्रयोगकर्तासम्मका लागि यो एक प्रमुख चुनौती बनेको थियो । साथै, पानी जम्ने समस्या र अर्धपक्की सडकको अवस्थाका कारण वर्षात्को समयमा दुर्घटनाको जोखिम झनै बढ्ने गरेको थियो । यही समस्यालाई सम्बोधन गर्दै ललितपुर महानगरले प्राथमिकताका साथ सडक मर्मत तथा पुनःनिर्माण कार्य अघि सारेको बताउँछन्, ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन । जीर्ण भइसकेका सडकहरूमा नयाँ ढल निकास प्रणाली, ढलान तथा कालोपत्रे गर्ने काम निरन्तर भइरहेको छ । यस कार्यमा महानगरले आन्तरिक स्रोतसँगै प्रदेश र संघीय सरकारसँगको समन्वय पनि गरिरहेको छ ।
सडक मर्मत कार्यका क्रममा महानगरले पहिलो चरणमा जुन स्थानहरूमा दैनिक सयौंको संख्यामा मानिस आवतजावत गर्छन्, जस्तै विद्यालय नजिकका सडक, अस्पताल क्षेत्र, पर्यटकीय स्थल तथा सार्वजनिक यातायातका मुख्य मार्गहरूलाई प्राथमिकता दिदैं आएको छ ।
नागरिकको दैनिक जीवन सहज बनाउन सडक सुधारसँगै नाली, ढल र फुटपाथको समेत पुनःनिर्माण गरिएको छ । कतिपय स्थानमा सडक चौडाइ बढाउने, मोड सुधार गर्ने, र संकेत चिन्ह राख्ने जस्ता कामहरू पनि भइरहेका छन् ।
महानगरले सडक निर्माणका क्रममा गुणस्तरमा समेत ध्यान दिएको जनाएको छ । हतारमा अस्थायी सुधारको सट्टा दीर्घकालीन समाधान दिने उद्देश्यले पक्की संरचना निर्माण र नियमित अनुगमनमा जोड दिइएको उनी बताउँछन् ।
यस अभियानसँगै ललितपुरका प्रमुख क्षेत्रमा सडकको अवस्थामै ठूलो सुधार आएको देखिन्छ । सानेपाको सडक मर्मत, जावलाखेल—पाटन खण्डको पुनःनिर्माण, खोकनाको सडक विस्तार, इमाडोल र बुङमती क्षेत्रका जीर्ण सडक सुधारजस्ता कामहरूमार्फत महानगरले परिवर्तनको संकेत दिएको छ । सडक पूर्वाधार सुधारले केवल आवागमनलाई मात्रै सहज बनाएको छैन, यसले स्वास्थ्य, शिक्षा र व्यापारमा पनि सकारात्मक असर परेको छ ।

झिलिमिली ललितपुर महानगर
सहरी सौन्दर्य र नागरिक सुरक्षालाई प्राथमिकतामा राख्दै ललितपुर महानगरपालिकाले सडक व्यवस्थापन अन्तर्गत हाइमास्ट लाइट जडानको कार्यलाई तीव्रता दिएको छ । सहरी क्षेत्रमा रातको समयमा हुने दुर्घटना, आपराधिक गतिविधि र पैदलयात्रीको असुरक्षालाई न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान ललितपुरलाई स्मार्ट सहरतर्फ अग्रसर गराउने योजनाको महत्वपूर्ण अङ्ग हो । लगनखेल, सातदोबाटो, पुल्चोक, जावलाखेल, सानेपा, झम्सिखेल, ग्वार्को र इमाडोल क्षेत्रका प्रमुख चोक तथा सडकखण्डहरूमा हाइमास्ट लाइट जडान गरिएको छ । यी लाइटहरू १२ मिटरदेखि २० मिटर उचाइसम्मका पोलहरूमा राखिएका छन्, जसले एकै साथ चौतर्फी उज्यालो दिने क्षमता राख्छन् । यसबाट सडकका दुबै किनार, फुटपाथ, ट्राफिक पोस्ट र सार्वजनिक स्थलहरू राम्ररी उज्यालो हुन्छ । ‘हाइमास्ट लाइटले रातको समयमा यात्रुहरूलाई आत्मविश्वासपूर्वक हिँड्न सक्ने वातावरण बनाएको छ,’ उनी भन्छन्, ‘यसले विशेषगरी महिला, वृद्धवृद्धा, विद्यार्थी र कार्यकर्ता वर्गलाई सुरक्षित आवागमनमा सहयोग पु¥याएको छ ।’ हाइमास्ट लाइटको जडानले ट्राफिक व्यवस्थापनमा पनि उल्लेखनीय सुधार ल्याएको छ । रातको समयमा हुने सवारी दुर्घटना, ट्राफिक सिग्नल नदेखिने समस्या र ट्रान्सपोर्ट अवरोधमा पनि कमी आएको उनी बताउँछन् । सुरक्षाकर्मी, ट्राफिक प्रहरी र नगर प्रहरीलाई रातिको गस्तीमा समेत सहजता भएको छ । यस्तो लाइट प्रणालीले स्मार्ट सहर अवधारणासँग मेल खाने वातावरण पनि तयार गरिरहेको छ ।
वातावरणीय पक्षलाई पनि ध्यानमा राख्दै ललितपुर महानगरले हाइमास्ट लाइटहरूमा ऊर्जा दक्ष एलईडी प्रविधिको प्रयोग गरेको छ । यसले ऊर्जा खपत घटाउनुका साथै कार्बन उत्सर्जन कम गर्न सहयोग पु¥याउने महानगरको दाबी छ ।
ललितपुर महानगरपालिकाको हाइमास्ट लाइट जडान अभियानले सहरी पूर्वाधारको स्तर उकास्नुका साथै नागरिकको दैनिक जीवनलाई सुरक्षित, सहज र आधुनिक बनाउने दिशामा उल्लेखनीय योगदान दिएको छ । यो पहल अन्य महानगर र नगरपालिकाहरूका लागि पनि अनुकरणीय बन्न सक्नेछ ।

सडकका ‘स्पिड ब्रेकर’ हटाउने अभियान
ललितपुर महानगरपालिकालेसडकमा रहेका ‘स्पिड ब्रेकर’हरू हटाउने अभियानलाई महत्वका साथ लिएको छ । ती ब्रेकरहरू सवारीको गति नियन्त्रणका लागि बनाइएका भए पनि तिनै कारणले भित्री सडकहरूमा दैनिकजसो साना—ठूला दुर्घटना भइरहन्छ । यस्ता ब्रेकरले अकस्मात् ब्रेक लगाउँदा, सन्तुलन गुमाउँदा वा ती ब्रेकर नदेखिँदा दुर्घटना हुन्छन् । त्यसैलेले ललितपुर महानगरपालिकाले धेरै ठाउँको स्पिड ब्रेकर हटाएको छ । ललितपुर महानगरका भित्री सडकहरूमा छोटो दूरीमै अनेक स्पिड ब्रेकर थिए । ती स्पिड ब्रेकर डिजाइन र मापदण्डअनुसार नबनाइएका कारण झन् समस्याको कारण बनिरहेको थियो । यही समस्यालाई सम्बोधन गर्न महानगरले नयाँ स्पिड ब्रेकर बन्न नदिने नीतिसमेत लिएको छ ।
साइकल प्रयोगकर्तालाई प्राथमिकता पैदलयात्रुहरूका लागि मात्रै होइन, ललितपुर महानगरले साइकल चलाउने नागरिकहरूलाई समेत प्राथमिकता दिँदैछ । साइकल यातायातलाई प्रवद्र्धन गर्न महानगरले ‘साइक्लिङ लेन’ निर्माण गरेको छ । साइकल प्रयोगले पेट्रोलियम इन्धनको खपत घटाउने, वायु प्रदूषण नियन्त्रण गर्ने र नागरिकको स्वास्थ्यमा सुधार ल्याउने भएकाले यसलाई दीर्घकालीन समाधानका रूपमा लिइएको छ । विद्यालय, कार्यालय, बजार जस्ता स्थानहरूमा साइकलमै यात्रा गर्न सक्ने वातावरण बनाउने उद्देश्यले यो योजना अघि बढाइएको हो । यसबाहेक महानगरले साइकल स्ट्यान्ड स्थापना, सुरक्षा चिन्हहरू राख्ने, तथा साइकल यात्रीका लागि जनचेतना कार्यक्रम सञ्चालन गर्ने कार्यसमेत गर्दै आएको छ । शहरी ट्राफिक व्यवस्थापनलाई सहज बनाउन मोटरसाइकल र कारभन्दा साइकल तथा पैदलयात्रुहरूलाई प्राथमिकता दिने नीतिगत परिवर्तन महानगरको सोचमा स्पष्ट देखिन्छ ।
यस अभियानले पर्यावरणीय न्याय, सामाजिक समावेशिता र शहरी समृद्धिको नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ । पैदलयात्रु र साइकल यात्रीलाई सडकको पूर्ण प्रयोगको अधिकार दिँदै ललितपुर महानगरले सहरभित्रको जनसञ्चार प्रणालीलाई जनमैत्री बनाउने दिशामा कदम चालेको छ ।

ललितपुरका सडक चिटिक्क
ललितपुर महानगरपालिकाले महानगरलाई स्वच्छ, सफा र हराभरा बनाउने अभियानलाई तिब्रता दिएको छ । सोही अनुसार महानगरका सडक सफा र चिटिक्क छन् । अनि छेउमा रहेका बिजुलीका पोलहरू हरियो रंगले रंगिएका छन् । साइकल यात्रीका लागि छुट्टै लेन बनाइएको छ । महानगरपालिकाले ललितपुरका चक्रपथदेखि भित्री सडकको बीच र दायाँबायाँ रहेका बगैँचा सजाउनेदेखि बिजुलीका पोल सरसफाई अभियानले सडक राम्रो देखिएको छ । यसैबीच सडकका विच भागमा रहेको बगैचामा ढुंगामा विभिन्न ट्राफिक सचेतना तथा यात्रुका लागि महत्वपूर्ण कुराहरू लेखेर थप आकर्षक बनाइएको छ । थापाथलीदेखि भैंसेपाटी तथा बल्खुदेखि बालुमारीसम्मको सडक क्षेत्रका बगैँचा चिटिक्ट बनाउनुका साथै सडकमा रहेका बिजुलीका पोल, टेलिफोनका पोल तथा अन्य पोलहरू हरियो रंग पोतेर चिटिक्क बनाएको छ । यसैबीचमा सडकको बीच भागमा रहेको बगैचामा ढुंगामा बिभिन्न शब्दावली लेखेर राखिएको छ ।
सडकमा जथाभावी फालिएका फोहर उठाउने, शहर हराभरा बनाउने र महानगर प्रमुख चिरीबाबु महर्जनको नमूना शहर बनाउने योजना अनुसार यस्तो काम गरिएको महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथु बताउँछन् । ‘सहरलाई पृथक देखाउन, हरियाली प्रवर्धनमा सहयोग पु¥याउन र पोलमा जथाभावी पम्प्लेट टाँस्न आउनेलाई झस्काउन तथा ललितपुरको सडक भएर हिँड्नेले पनि ललितपुरलाई छुट्टै देखाउन यो काम गरेका हौं,’ उनी भन्छन् । उनका अनुसार चिटिक्क परेको महानगरमा शहरी सौन्दर्यमा असर पर्ने गरी विभिन्न प्रचार सामग्री टाँस्न र भित्तेलेखन गर्न दिएको छैन । ‘पोस्टरमा टास्ने र टाँस्न लगाउनेहरुलाई नगरको नियम अनुसार कारवाही गछौं,’ उनले भने, ‘महानगर क्षेत्रलाई सुन्दर बनाउन अब हामी विशेष योजनाका साथमा आएका छौं ।’

पार्किङ व्यवस्थापनमा अब्बल
सडक व्यवस्थापनलाई प्रभावकारी बनाउन ललितपुर महानगरपालिकाले चालेको अर्को महत्वपूर्ण कदम हो— पार्किङ व्यवस्थापन । महानगरको सडक अवरुद्ध बनाउने प्रमुख कारणमध्ये एक अनधिकृत पार्किङ हो । यो समस्याको समाधान गर्न ललितपुर महानगरले नगर प्रहरीमार्फत नियमित गस्ती तथा अनुगमन सुरु गरिरहेको छ । विशेष गरी भीडभाड हुने क्षेत्रहरू लगनखेल, पाटन दरबार क्षेत्र, पुल्चोक, कुपण्डोल, झोंसामा अनधिकृत रूपमा सवारी साधन पार्क गर्नेहरूमाथि जरिवाना समेत गर्तै आएको छ ।
पार्किङको लागि निशुल्क स्थान नै छुट्याइएको हाछेथु बताउँछन् । ललितपुर महानगरपालिकाले १८ फिटभन्दा बढी चौडाइ भएको बाटोमा एक पंक्ति सवारीका लागि निःशुल्क पार्किङ तोकेको छ । महानगरले यसको लागि ३० भन्दा बढि बाटो छेउका स्थान निःशुल्क गरेको उनको भनाइ छ । पार्किङ निःशुल्क गरिएका क्षेत्रमा पनि हालसम्म कुनै प्रकारको गुनासो तथा सडक दुर्घटनाको समस्या नभएको उनी बताउँछन् ।
ललितपुर महानगरको यी प्रयासहरू सडक सुधारका लागि दीर्घकालीन सोचका साथ अघि बढाइएको अभियान हुन् । सडक मात्र सवारीका लागि नभई नागरिक जीवनको गुणस्तर सुधारसँग पनि गाँसिएको विषय भएकाले महानगरको यो सक्रियता अत्यन्तै सकारात्मक मानिएको छ ।
यसले ललितपुरलाई व्यवस्थित र सुरक्षित सहरतर्फ उन्मुख गरिरहेको छ । यदि यस्ता प्रयासहरू निरन्तर, पारदर्शी र समावेशी रूपमा अघि बढे भने ललितपुर मात्र होइन, पूरै नेपालका सहरहरू व्यवस्थित, सुन्दर र नागरिकमैत्री बन्न सक्छन् ।
