काठमाडौं, जेठ २१
ललितपुर नेपालको एक ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपमा अत्यन्तै समृद्ध महानगर हो । काठमाडौं उपत्यकाको दक्षिण भागमा अवस्थित यो सहरले कला, संस्कृति, वास्तुकला र परम्परागत जीवनशैलीको अनुपम मिश्रण प्रस्तुत गर्छ । यिनै विशेषताका कारण ललितपुर पर्यटकको प्रमुख गन्तव्य बन्दै आएको छ । पछिल्लो समयमा ललितपुर महानगरपालिकाले पनि पर्यटन प्रवद्र्धनमा उल्लेखनीय पहलहरू गर्दै आएको छ । सबैभन्दा पहिला ललितपुर महानगरपालिकाले आफ्नो सांस्कृतिक सम्पदाहरूको संरक्षणमा विशेष ध्यान दिँदै आएको छ । पाटन दरबार स्क्वायर, कृष्ण मन्दिर, हिरण्यवर्ण महाविहार (स्वर्ण महाविहार), मछिन्द्रनाथ रथयात्रा, बज्रयान बुद्ध धर्मका ऐतिहासिक विहारहरू, जात्रा—पर्व आदि ललितपुरको पहिचान हुन् । यिनको प्रचारप्रसार, मर्मत सम्भार र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने कार्य महानगरले प्रभावकारी रूपमा अघि बढाएको बताउँछन्, ललितपुर महानगरपालिका संस्कृति तथा पर्यटन संरक्षण केन्द्रका शाखा अधिकृत दयाराम खत्री ।
पर्यटन प्रवद्र्धनका लागि ललितपुरले विभिन्न सांस्कृतिक उत्सवहरू आयोजना गर्दै आएको छ । ‘पाटन महोत्सव’, ‘हातकलाको प्रदर्शन’, ‘नेवारी खानाको महोत्सव’ जस्ता कार्यक्रमहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेका छन् । यस्ता कार्यक्रमहरूले स्थानीय संस्कृति, परम्परा र जीवनशैलीको प्रत्यक्ष अनुभव दिलाउने हुँदा पर्यटकहरूको चासो बढिरहेको छ । त्यस्तै, महानगरपालिकाले आन्तरिक संरचनामा पनि लगानी गर्दै पर्यटनलाई सहज बनाउँदै छ । सडक विस्तार, सूचना बोर्डहरूको स्थापना, गाइड प्रशिक्षण कार्यक्रम, ट्राफिक व्यवस्थापन, सरसफाइ अभियानजस्ता कामहरूले ललितपुर भ्रमणलाई सहज र रमाइलो बनाइरहेका छन् । साथै, डिजिटल प्रविधिको प्रयोगमार्फत क्यूआर कोड र मोबाइल एप्समार्फत पर्यटकहरूलाई सूचना प्रदान गर्ने अभ्यास सुरु गरिएको छ ।
स्थानीय समुदायलाई पर्यटनसँग जोड्ने काम पनि महानगरको ध्यानको केन्द्रमा रहेको उनी बताउँछन् । घरेलु पर्यटन, होमस्टे कार्यक्रम, कर्पोरेट टुरिज्म, धार्मिक भ्रमण जस्ता पक्षलाई जोडेर स्थानीय आय आर्जनमा टेवा पुग्ने नीति अवलम्बन गरिएको छ । विशेष गरी महिलाहरू र साना उद्यमीहरूलाई पर्यटनसँग जोड्ने तालिम तथा आर्थिक सहयोग कार्यक्रमले आत्मनिर्भरता बढाएको संस्कृति तथा पर्यटन संरक्षण केन्द्रका शाखा अधिकृत खत्री बताउँछन् ।
हालै महानगरले ‘हरित पर्यटन’ प्रवद्र्धन गर्ने योजनासमेत अघि सारेको छ, जसअन्तर्गत ऐतिहासिक ठाउँहरूमा हरियाली विस्तार, साइकल मार्ग निर्माण, पर्यावरणमैत्री ट्रान्सपोर्ट प्रणाली, प्रदूषण नियन्त्रण आदि कार्यहरू गर्दै आएको पनि उनी बताउँछन् । यस्तो बहुआयामिक प्रयासहरूले ललितपुरलाई पर्यटकमैत्री बनाउँदै लगेको छ । स्थायी, समावेशी र संस्कृतिप्रेमी पर्यटन विकासको दृष्टिकोणले ललितपुर महानगरले उदाहरणीय भूमिका निर्वाह गरिरहेको छ । आज हामी ललितपुर महानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि चालेका केहि प्रमुख कदमहरूबारे विस्तृत रूपमा चर्चा गर्छौ ।
पर्यटक लक्षित ‘कलात्मक अत्याधुनिक शौचालय’
ललितपुर महानगरपालिका ऐतिहासिक सम्पदा, परम्परागत संस्कृति र कलाको अनुपम केन्द्रको रूपमा चिनिन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र नेपाली कला—संस्कृतिको जीवन्त नमूना हो, जसले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण सधैँ खिचिरहन्छ । यही क्षेत्रको पर्यटकीय अनुभवलाई थप सहज, सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यले ललितपुर महानगरपालिकाले पर्यटक लक्षित ‘कलात्मक अत्याधुनिक शौचालय’ सञ्चालनमा ल्याइएको छ । नेपाल जस्तो देशमा जहाँ पुरातात्विक महत्वका संरचनाहरू थुप्रै छन्, त्यहाँ नयाँ संरचना निर्माण गर्दा सम्पदाको मौलिकता संरक्षण गर्न चुनौतीपूर्ण हुन्छ । तर ललितपुर महानगरपालिकाले यो चुनौतीलाई अवसरमा बदल्दै पाटन दरबार क्षेत्रजस्तो संवेदनशील स्थलमा सम्पदाको सौन्दर्यलाई बिगार्न नदिई अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरेको हो ।
शौचालय निर्माणका क्रममा विशेष ध्यान पर्यटकहरूको आवश्यकतालाई दिइएको छ । सहर घुम्न आउने पर्यटकले धेरैजसो समय लामो यात्रा गर्ने भएकाले स्वच्छ, सुरक्षित र सुविधायुक्त शौचालयको आवश्यकता अनिवार्य हुन्छ । यस शौचालयमा पुरुषका लागि ६ वटा युरिनलसहित ३ वटा शौचालय, महिलाका लागि ६ वटा शौचालय, एक अपाङ्गमैत्री शौचालय र एक स्तनपान कक्ष राखिएको छ । यी सबै कक्षहरू अत्याधुनिक स्यानिटरी सामग्रीले सुसज्जित छन्, जसले शौचालयलाई सरसफाइ र प्रविधि दुवैका दृष्टिले उत्कृष्ट बनाएको नगर प्रमुख चिरीबाबु महर्जन बताउँछन् ।
उनका अनुसार शौचालय महानगर मात्र नभई सम्पूर्ण पालिकाहरूका लागि ‘शोकेस प्रोजेक्ट’ भएको उल्लेख गरे । ‘यसअघि पनि पाटन दरबार क्षेत्रमा शौचालय थिए,’ उनी भन्छन्, ‘तर ती पर्यटकहरूको संख्या र आवश्यकतालाई हेर्दा पर्याप्त र गुणस्तरीय थिएनन् । यो नयाँ शौचालयले त्यो खाँचो पूर्ति गर्छ ।’
बाहिरी संरचनामा प्रयोग गरिएका सामग्रीहरू—जस्तै काष्ठकला, चुनासुर्की र माटो इँटाले शौचालयलाई पाटन दरबार क्षेत्रको पुरानो शैलीको ढांचामा तयार पारिएको छ । शौचालयको छाना परम्परागत झिंगटी टायलले ढाकिएको छ भने त्यसलाई दुई पाखे बनाइएको छ । जसले नेवारी वास्तुकलाको झल्को दिन्छ । यसरी निर्माण गर्दा न त सम्पदाको सौन्दर्यमा आँच आएको छ, न त आधुनिकताको कमी महसुस गरिएको छ । यो संरचना सम्पदा र पूर्वाधारबीचको सन्तुलित संयोजनको उत्कृष्ट उदाहरण बनेको छ । शौचालय करिब १ करोड २६ लाख रुपैयाँमा निर्माण सम्पन्न गरिएको महानगरपालिकाले जनाएको छ । प्रारम्भिक नजरमा यो लगानी ठूलो देखिए पनि यसको दीर्घकालीन उपयोगिता, सामाजिक लाभ र पर्यटकीय सन्तुष्टिलाई हेर्दा यो उचित भएको मेयर महर्जन बताउँछन् । महानगरका प्रवक्ता राजु महर्जनले सार्वजनिक शौचालयलाई पूर्वाधार निर्माणको एक महत्वपूर्ण पाटोका रूपमा चिनाएका छन् । ललितपुर महानगरपालिका अन्तर्गत २९ वटै वडामा क्रमशः सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि बढाइएको छ ।
पर्यटन प्रवद्र्धनमा शौचालयको भूमिका सामान्य देखिए पनि अत्यन्तै महत्वपूर्ण हुन्छ । धेरै पर्यटकहरूले नेपालजस्तो विकासोन्मुख मुलुकमा सबैभन्दा पहिले गुनासो गर्ने कुरामध्ये एक सार्वजनिक शौचालयको अभाव पनि हो । स्वच्छ, पहुँचयुक्त र सुरक्षित शौचालयको व्यवस्था हुनु भनेको पर्यटकका लागि सुरुवातमै राम्रो सन्देश दिनु भएको उनी बताउँछन् ।

पर्यटन प्रवद्र्धनका लागि ई—बग्गी
ई—बग्गी सेवा केवल पर्यटन प्रवद्र्धनको एउटा माध्यम मात्र होइन, यो वातावरण संरक्षणको दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेको उनी बताउँछन् । पेट्रोलियम पदार्थको साटो विद्युतीय ऊर्जा प्रयोग हुने भएकाले यसले ध्वनि तथा वायु प्रदूषण कम गर्न मद्दत पुग्नेछ । साथै, ललितपुरका साँघुरा गल्लीहरूमा साना, कम गतिको सवारीसाधन उपयुक्त मानिन्छ, जसका लागि ई—बग्गी आदर्श बन्न सक्छ । यो सेवाले विशेषगरी वृद्ध, बालबालिका र शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई सम्पदास्थलमा पुग्न सजिलो बनाउने उनी बताउँछन् । महानगरले परीक्षण अवधिमा यात्रुहरूको प्रतिक्रिया संकलन गर्ने र सेवा गुणस्तरमा सुधार गर्दै आगामी दिनमा नियमित सेवा सञ्चालन गर्ने तयारी समेत गरेको छ । ललितपुर ऐतिहासिक, सांस्कृतिक र धार्मिक विविधताले भरिएको सहर हो । यस्ता स्थानहरूमा पहुँच सजिलो बनाउनुका साथै प्रविधिको प्रयोगमार्फत पर्यटन विकास गर्न स्मार्ट सहरको अवधारणा अनुसार पनि अत्यन्त सकारात्मक प्रयास हो ।
ई—बग्गी सेवा ललितपुर महानगरपालिकाको भविष्यदृष्टि र नवप्रवर्तनशील सोचको एक उत्कृष्ट उदाहरण हो । यदि योजना अनुसार सेवा विस्तार भयो भने ललितपुर सम्पदाको सहरको रूपमा मात्र होइन, नवप्रविधिमा आधारित ‘स्मार्ट टुरिज्म’ गन्तव्यको रूपमा पनि चिनिन सक्नेछ ।

ललितपुरलाई विश्वसामु चिनाउने अभियान
नेपालको ऐतिहासिक, सांस्कृतिक र कलात्मक सहरको रूपमा चिनिने ललितपुर महानगरपालिका हाल पर्यटन प्रवद्र्धनका लागि विभिन्न नवीन र समन्वयात्मक गतिविधिमा सक्रिय देखिएको छ । यस महानगरले ऐतिहासिक सम्पदाहरूको संरक्षण तथा प्रवद्र्धनमा मात्र ध्यान दिएको छैन । देशभरका अन्य नगरहरूसँग सहकार्य गरेर सामूहिक पर्यटन विकासको रणनीति समेत अवलम्बन गर्दै आएको संस्कृति तथा पर्यटन संरक्षण केन्द्रका शाखा अधिकृत खत्री बताउँछन् । उनका अनुसार ललितपुर महानगरपालिकाले हालै केही प्रमुख नगरहरूसँग पर्यटन प्रवद्र्धनका विषयमा सहकार्यको सम्झौता गरिसकेको छ । यस पहल अन्तर्गत नगरहरूबीच अनुभव आदानप्रदान, संयुक्त पर्यटन प्रदर्शनी आयोजना, आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित सूचना प्रवाह जस्ता कार्यहरू प्राथमिकतामा राखिएको छ । यस किसिमको समन्वयले स्थानीय पर्यटन विकासमा मात्र नभई राष्ट्रिय स्तरमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको उनी बताउँछन् ।
साथै, नेपालबाहिरका अन्य देशबाट पर्यटक भित्र्याउनका लागि ती मुलुकहरूसँग समेत समन्वयात्मक पहल भइरहेको उनी बताउँछन् । उनका अनुसार ललितपुर महानगरपालिका र अमेरिकाको न्यूयोर्कस्थित पर्यटन प्रवद्र्धन निकायबीच भएको सहकार्यले ललितपुरको पर्यटन क्षेत्रमा नयाँ आशा जागाएको छ । पुरातात्विक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण यो सहरमा विदेशी पर्यटकको आगमन बढाउने उद्देश्यले ललितपुरका मेयर चिरिबाबु महर्जन र न्यूयोर्कका नवनियुक्त पर्यटन प्रवद्र्धक गोकुल श्रेष्ठबीच विशेष छलफल गरेका थिए ।
न्यूयोर्कमा भएको छलफलमा पर्यटन क्षेत्रलाई सशक्त रूपमा अघि बढाउन सकिने सम्भावनाहरूबारे गहन विचार—विमर्श भएको थियो । यस्तै, भारत, चीन, भुटानलगायतका देशहरूसाग पनि निरन्तर छलफल भइरहेको उनी बताउँछन् । विशेषतः ललितपुरका ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रचार—प्रसारलाई तीव्र बनाउन यस्तो कार्य गरिएको संस्कृति तथा पर्यटन संरक्षण केन्द्रका शाखा अधिकृत खत्री बताउँछन् ।
सहरका ऐतिहासिक स्थलहरू पाटन दरबार क्षेत्र, बुङगमती, खोकना, महाबौद्ध, रातो मच्छिन्द्रनाथ रथयात्रा जस्ता मौलिक सांस्कृतिक सम्पदाहरूलाई समेटेर अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने योजना रहेको उनी उनको भनाइ छ । यस्ता हकार्यले ललितपुरको पर्यटन क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ । प्रचार—प्रसारका नयाँ उपायहरू अवलम्बन गर्दै, अन्तर्राष्ट्रिय तहमा सहरको पहिचानलाई मजबुत पार्ने र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ । महानगरले पर्यटन प्रवद्र्धनका लागि विभिन्न प्रचारमूलक सामग्रीहरू तयार पारिरहेको छ । यिनमा पर्चा, पोस्टर, पम्प्लेट, पुस्तक, फोटो क्यालेन्डर तथा डिजिटल सामाग्रीहरू समावेश छन् । यी सामग्रीहरू देशका विभिन्न भागमा वितरण गरिंदैछ, जसबाट ललितपुरको ऐतिहासिकता, कला, संस्कृति र पर्यटन सम्भावनाको जानकारी आम जनसमुदायमा पु¥याउन सकिएको पनि संस्कृति तथा पर्यटन संरक्षण केन्द्रका शाखा अधिकृत खत्री बताउँछन् ।

पर्यटन सूचना केन्द्रहरूको स्थापना
पर्यटन सूचना केन्द्रहरूको स्थापना तथा सुधार पनि महानगरको अर्को प्रमुख योजना हो । पर्यटकलाई सहजीकरण गर्न प्रमुख स्थानहरूमा सूचना केन्द्र खोल्ने, क्यूआर कोडमार्फत जानकारी दिने योजना समेत अघि बढाइएको छ । यी सूचनामूलक सेवाले आन्तरिक तथा विदेशी पर्यटकको अनुभवलाई थप सहज र समृद्ध बनाउने अपेक्षा गरिएको उनी बताउँछन् । सूचना प्रविधिको तीव्र विकाससँगै ललितपुर महानगरपालिका पनि डिजिटल पहुँच विस्तारमा अग्रसर बन्दै गएको छ । ललितपुरबारे विस्तृत जानकारी प्राप्त गर्न क्यूआर कोडमार्फत जुनसुकै भाषामा सामग्री पढ्न सकिने सुविधा महानगरले उपलब्ध गराएको उनको भनाइ छ । यो प्रयास विशेष गरी पर्यटकहरू, अनुसन्धानकर्ताहरू र आमनागरिकका लागि अत्यन्त उपयोगी सावित भइरहेको पनि संस्कृति तथा पर्यटन संरक्षण केन्द्रका शाखा अधिकृत खत्री बताउँछन् ।
महानगरका प्रमुख स्थलहरू जस्तै पाटन दरबार स्क्वायर, कुमारी घर, हिरण्यवर्ण महाविहार, खोकना, बुङमती लगायतका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थानहरूमा क्यूआर कोड राखिएको छ । ती कोड स्क्यान गरेपछि प्रयोगकर्ताले आफ्नो भाषानुसार जानकारी हेर्न सक्ने व्यवस्था गरिएको छ । नेपाली, अंग्रेजी, चिनियाँ, जर्मन, जापानी, स्पेनी लगायतका प्रमुख भाषाहरूमा सामग्री उपलब्ध छन्, जसले विश्वभरका पर्यटकलाई सहजता दिएको उनी बताउँछन् ।
यस सुविधाको मूल उद्देश्य भनेको डिजिटल प्रविधिको प्रयोगबाट ललितपुरको सांस्कृतिक सम्पदा, ऐतिहासिक विशेषता र पर्यटन सम्भावनालाई विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्न हो । क्यूआर कोड स्क्यान गरेपछि प्रयोगकर्ताले लेख, फोटो, भिडियो र नक्सा सहितको समग्र जानकारी पाउन सक्छन् । महानगरको यो कदमले ‘स्मार्ट सिटी’ अवधारणा साकार पार्न त सहयोग पु¥याएको छ नै, साथै स्थानीय पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्पदाको संरक्षण र अन्तर्राष्ट्रिय आगन्तुकको अनुभव समृद्ध बनाउन पनि महत्वपूर्ण योगदान दिएको छ ।

पर्यटन प्रवद्र्धनका लागि मूर्तिकला तालिम
ललितपुर महानगरपालिका आफ्नो ऐतिहासिक, सांस्कृतिक तथा कलात्मक धरोहरका लागि विश्वभर परिचित छ । यहाँका पुरातन मठमन्दिर, प्राचीन मूर्तिहरू, काष्ठकला र धातुकलाले ललितपुरलाई ‘कलाको शहर’ को उपमा दिएको छ । यही सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउने उद्देश्यले ललितपुर महानगरपालिकाले हालै मूर्ति बनाउने तालिम दिदैं आएको छ । यस तालिममार्फत नगरले पर्यटन प्रवद्र्धनसँगै स्थानीय सीप संरक्षण, रोजगारी सिर्जना र सांस्कृतिक उत्तराधिकारको निरन्तरतामा विशेष योगदान पु¥याउँदै आएको संस्कृति तथा पर्यटन संरक्षण केन्द्रका शाखा अधिकृत खत्री बताउँछन् । उनका अनुसार उक्त तालिममा स्थानीय युवायुवती, हस्तकला क्षेत्रमा रुचि राख्ने नागरिक र परम्परागत मूर्तिकला व्यवसायमा आवद्ध तर औपचारिक तालिम नपाएका व्यक्तिहरूलाई सहभागी गराइएको छ । तालिममा परम्परागत धातु ढलाइ, काठमा नक्कासी, ढुंगामा मूर्तिकृति बनाउने सीप र समकालीन शैलीमा मूर्ति सिर्जना गर्ने सीपहरू सिकाइन्छ ।
ललितपुर महानगरको यो प्रयास पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण मानिन्छ । आजको युगमा पर्यटकहरू केवल दृश्यावलोकनमा मात्र होइन, अनुभव र अन्तरक्रियात्मक पर्यटनमा पनि आकर्षित छन् । मूर्तिकला तालिमले ‘कलात्मक पर्यटन’ लाई प्रवद्र्धन गर्ने धेरै सम्भावना बोकेको उनी बताउँछन् । विदेशबाट आउने पर्यटकले मूर्ति बनाउने प्रक्रिया नजिकबाट हेर्न, अनुभव गर्ने अवसर पाएका कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकको आगमनमा वृद्धि भएको उनी बताउँछन् । यसले ललितपुरको कलालाई चिनाउँछ नै स्थानीय शिल्पीलाई आर्थिक आम्दानीको स्रोतसमेत बनाउँछ । मूर्तिकला तालिम मार्फत पर्यटन, संस्कृति र रोजगारीलाई जोड्ने ललितपुरको यो अभियान उदाहरणीय बन्ने सम्भावना छ ।
महानगरको यस्तो समन्वयात्मक र दूरदर्शी दृष्टिकोणले ललितपुरलाई केवल एक ऐतिहासिक सहरको रूपमा मात्र होइन, समृद्ध पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने दिशामा उल्लेखनीय योगदान पु¥याइरहेको छ । यदि यस्ता प्रयासहरू निरन्तर रूपमा अघि बढाइयो भने ललितपुर महानगर मात्र होइन, सम्पूर्ण नेपालकै पर्यटन क्षेत्र नयाँ उचाइमा पुग्ने विश्वास गर्न सकिन्छ ।
