काठमाडौं, जेठ १३
काठमाडौं उपत्यकाको ट्राफिक जाम कुनै नौलो वा आश्चर्य लाग्दो विषय होइन । अझ भन्नुपर्दा, यति सामान्य र दैनिक जीवनसँग गासिएको विषय बनिसकेको छ कि अब त यो समस्या भन्दा पनि परिपाटीझैं लाग्न थालेको छ । तर, अनौठो र उदेकलाग्दो कुरा चाहिँ यो समस्या दशकौदेखि कायम र जारी रहनु हो । यसले उपत्यकावासीको जनजीवन मात्र होइन, शहरी संरचना र सामाजिक गति नै प्रभावित बनाइरहेको छ ।
पछिल्लो समय सवारी साधनको संख्यामा भएको अप्रत्याशित वृद्धि, सडकको साँघुरोपन, फुटपाथको अतिक्रमण, अराजक पार्किङ, कमजोर ट्राफिक नियम कार्यान्वयन, प्रविधिको न्यून प्रयोगका कारण ट्राफिक व्यवस्थापन थप चुनौतिपूर्ण बन्दै गएको छ । यस समस्याबाट मुक्ति पाउनका लागि केवल ट्राफिक प्रहरीको प्रयास पर्याप्त हुँदैन । यसको समाधानको लागि शहरी योजना, यातायात नीतिमा पुनरावलोकन, सार्वजनिक यातायात सुदृढीकरण, प्रविधिको व्यापक प्रयोग, ट्राफिक शिक्षा र अनुशासनको स्थापना आवश्यक छ ।
उसो भए, यति धेरै गुनासो, यति धेरै असर र यति धेरै समयसम्म स्थायी समस्या बनेर रहँदा एक गम्भीर प्रश्न अनिवार्य रूपमा उठ्छ— के वास्तवमै कसैसँग ट्राफिक व्यवस्थापनका लागि दीर्घकालीन, ठोस र प्रभावकारी योजना छैन ? तर त्यो पूर्ण सत्य होइन । यो जटिल चुनौतीलाई समाधान गर्न ललितपुर महानगरसँग दीर्घकालीन र दिगो ‘मास्टर प्लान’ छ ।
यो मास्टर प्लान कुनै साधारण योजना होइन, यसको उद्देश्य केवल ट्राफिक जाम घटाउनु मात्र नभई ललितपुरलाई व्यवस्थित, सुरक्षित र स्मार्ट सहरको रूप दिनु भएको बताउँछन्, ललितपुर उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथु । सोही योजना अनुसार अहिले महानगरले सहरका प्रमुख चोक, गल्ली, रूट, पार्किङ, सार्वजनिक यातायात र पैदलमार्गहरूलाई वैज्ञानिक ढंगले व्यवस्थापन गरिरहेको छ । जसका कारण ललितपुर महानगरको सडक व्यवस्थापनमा समेत उदाहरणीय बनेका छ ।
इन्टेलिजेन्स ट्राफिक लाइटे
ट्राफिक जाम व्यवस्थापनका लागि ललितपुर महानगरपालिकाले उठाएको एक महत्वपूर्ण कदम हो—एडभान्स ट्राफिक कन्ट्रोल सिस्टमसहित ट्राफिक लाइट जडान । ट्राफिक जाम व्यवस्थापनका लागि ललितपुर महानगरपालिकाले एडभान्स ट्राफिक कन्ट्रोल सिस्टम सहितका ट्राफिक लाइट जडान गरेको छ । पुल्चोक, कान देवता स्थान, दमकल चोक, जावलाखेललगायत ठाउँमा ट्राफिक कन्ट्रोल सिस्टम सहितका ट्राफिक लाइट जडान गरिएको छ । ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ एआइ ट्राफिक लाइट जडान गरिएको हो । हाल ट्राफिक जाम व्यवस्थापनमा महत्वपूर्ण काम गरिरहेको नगर प्रहरी प्रमुख हाछेथु बताउँछन् ।
इन्टेलिजेन्स प्रणालीमा आधारित रहेका लाइटले जता धेरै सवारी साधनको चाप छ, त्यतैतिर हरियो बत्ती बालेर अघिल्लै चोकबाट कन्ट्रोल गर्ने र जाम नभएको ठाउँमा अझ रफ्तार बढाउने गरी काम गरिरहेको उनको भनाइ छ । ‘ट्राफिक लाइट भन्ने वित्तिकै ट्राफिकलाई व्यवस्थापन गर्नको लागि गरिने भन्ने नै बुझिन्छ’ उनी भन्छन्, ‘यो ट्राफिक लाइट भनेको सवारीलाई अझै व्यवस्थापन गर्ने, हिजोको भन्दा अझ सवारी चापलाई व्यवस्थित गर्ने हो । यसले एउटा चोकबाट अर्को चोकमा कहाँ बढी सवारीको चाप छ । त्यहाँ अघिल्लै चोकबाट कन्ट्रोल गर्ने र जाम नभएको ठाउँमा अझ रफ्तार बढाउँछ ।’
लाइटसँगै राखिएको भेइकल डिटेक्टर मेसिनले सडकमा सवारीसाधनको सङ्ख्या तत्काल रिड गर्छ र तत्कालै ट्राफिक लाइटको चिपलाई जानकारी गराउँछ । सोही जानकारीको आधारमा सिस्टमले जता धेरै सवारीसाधन छ, त्यतातिर हरियो बत्ती बाल्छ । यो नेपालमा भएका ट्राफिक लाइट भन्दा धेरै नै फरक छ । लाइटले भेकल काउन्ट गर्छ । जसमा भेकल काउन्ट गरेर रातो र हरियो बत्तिको समय छुट्याउने गर्छ ।
यो लाइट अझ विस्तार गर्ने महानगरको लक्ष्य रहेको उनी बताउँछन् । यस्तै, ललितपुर महानगरले ट्राफिक लाइटको व्यवस्थासँगै अर्को एउटा नयाँ अभ्यासको सुरुवात पनि गरेको छ । ललितपुरमा ट्राफिक लाइटको नियम पालना भीआइपीले समेत गर्नपर्ने सिस्टम छ । भीभीआइपी बाहेक कसैको लागि पनि ट्राफिक लाइट बन्द नगर्ने प्रहरी प्रमुख हाछेथु बताउँछन् ।
‘टप लेभलका पाँच भीभीआइपी भन्छौ उहाँहरु आउनुभयो भने मात्र ट्राफिक लाइट निभाउने गरेका छौं,’ उनी भन्छन्, ‘सुरक्षाका लागि सडकमा बस्दा ठूलो बत्ति बालेर आए भनेपछि आधा घण्टासम्म कुरिरहेको हुन्छ । उहाँलाई पठाउँदा लाइनमा बसेको सर्वसाधारणलाई रिस उठ्छ । सडक ठूलाबढाको मात्र हो त, हामीले मात्र नियम पालना गर्नपर्ने ? भन्ने यो समस्याबाट मुक्त भएका छौं अहिले ।’ इन्टेलिजेन्स ट्राफिक लाइट जडान गरिएसँगै ट्राफिक जामसँगै ट्राफिक प्रहरीलाई पनि धेरै सहज भएको उनी बताउँछन् ।

एकतर्फी सवारी सञ्चालन अवधारण
ट्राफिक व्यवस्थापन सुधार गर्न ललितपुर महानगरपालिकाले चालेको अर्को महत्वपूर्ण कदम हो—एकतर्फी सवारी सञ्चालनको अवधारणा । सोही अनुरुप ललितपुर महानगरले सवारी जाम धेरै हुने स्थानमा ‘वान वे’ बनाएको छ ।
लगनखेलको प्रयागपोखरीबाट इति टोल हुँदै कुमारीपाटी जाने सडक खण्डमा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म वान वे नियम लागू गरिएको छ । बढ्दो सवारी चाप र साँघुरा सडकका कारण यो निर्णय गरिएको नगर प्रहरी प्रमुख हाछेथु बताउँछन् । यस्तै, पाटन दरबार क्षेत्रको महापाल चोकदेखि इखालखु (मछिन्द्र बहाल) सम्मको सडक खण्डमा पनि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म वान वे नियम लागू गरिएको छ । साँघुरा सडक र पैदल यात्रुहरूको सुरक्षालाई ध्यानमा राखी यो निर्णय गरिएको हो ।
यस्तै, पाटन ढोकास्थित पाटन गेट क्षेत्रमा हुलाक अगाडिको भागदेखि गेटतिरको क्षेत्र वान वे गरिएको छ । बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म चारपांग्रे सवारी साधनको प्रवेश निषेध गरिएको छ । यस्तै ग्वार्कोबाट मंगलबजार हुँदै पुल्चोक जाने मार्गमा वान वे प्रणाली लागू गरिएको छ । यसले सवारी व्यवस्थापनमा सुधार ल्याएको उनी बताउँछन् । उनका अनुसार ट्राफिक व्यवस्थापन सुधार गर्न थप सडकहरूमा वान वे प्रणाली लागू गर्ने योजना रहेको छ । ‘वान वे पनि सडक व्यवस्थापनको एउटा महत्वपूर्ण नीति हो,’ उनी भन्छन्, ‘घन्टौं जाममा बस्नुभन्दा ४०० मिटर घुमेर आरामसाथ गन्तव्य पुग्न सकिने हुन्छ ।’ महानगरको यस्तो निर्णयले हजारौं मानिसलाई समयमै गन्तब्यमा पु¥याउन मद्धत पुगिरहेको हाछेथुले दाबी गरे ।

‘पार्किङ’ व्यवस्थापन
ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन ललितपुर महानगरपालिकाले चालेको अर्को महत्वपूर्ण कदम हो—पार्किङ व्यवस्थापन । हुन त देशको संघीय राजधानीका दुई महानगरपालिकाको ट्राफिक व्यवस्थापनको शैली भिन्न मात्र होइन, ठ्याक्कै उल्टो छ । काठमाडौँ महानगरले सडक किनारमा सशुल्क वा निःशुल्क दुवै खाले पार्किङलाई निषेध गरेको छ । सार्वजनिक सवारी साधन गुड्ने बाटोमा पार्किङ गर्न नपाइने उसको मान्यता छ । छिमेकी ललितपुर महानगरपालिकाले भने सडकमै निःशुल्क पार्किङको सुविधा दिएको छ । ललितपुर महानगरको मंगलबजार, पाटनढोका गेटअगाडि—पछाडि, नः टोल, टंगाल, हौगल, हःजा, सुन्धारा, पाटनको भीमसेन मन्दिरअगाडि, पुल्चोक दमकलअगाडि, जावलाखेल प्रहरी कार्यालय अगाडि, महानगरपालिका भवन अगाडि, भनिमण्डल, एकान्तकुना खरीबोट लगायतका क्षेत्रमा निःशुल्क पार्किङस्थल तोकेको छ ।
यसैगरी मानभवन, पाटन अस्पतालअगाडि, कर्मचारी सञ्चयकोष अगाडि, महालक्ष्मीस्थान अगाडि, जिल्ला अदालतअगाडि, लगनखेल बसपार्कको पूर्व र उत्तरतर्फ, बटुक भैरव, कुपण्डोल, कनिबहाल, एकान्तकुना, सेन्ट मेरिज स्कूल पूर्वतर्फ करिडोर युएन पार्क नजिकै, सानेपा करिडोर, बल्खु करिडोर, पाटन अस्पताल, भाटभटेनी, सुमेरु अस्पताल, निदान अस्पताल र अल्का अस्पतालमा पनि पार्किङ निःशुल्क गरिएको छ । पार्किङको लागि दिइएका स्थानमा पनि अवस्था हेरी सिधा (परपेन्डिकुलर) तथा छड्के (एंगल) गरी दुई तरिकाले पार्किङको मोडालिटी व्यवस्था गरिएको हाछेथु बताउँछन् । ‘महानगरपालिकाले अनेक कुरामा नगरवासीसँग कर लिने गरेको छ,’ पार्किङ निःशुल्क गर्नको कारणबारे हाथेछु भन्छन्, ‘त्यसो हुँदा केही समयको पार्किङ गर्नेलाई किन दुःख दिने भनेर कर तिरेबापत महानगरवासीलाई हामीले दिन सक्ने केही सेवासुविधा निःशुल्क गरेका हौँ ।’
ललितपुर महानगरपालिकाले १८ फिटभन्दा बढी चौडाइ भएको बाटोमा एक पंक्ति सवारीका लागि निःशुल्क पार्किङ तोकेको छ । महानगरले यसको लागि ३० भन्दा बढि बाटो छेउका स्थान निःशुल्क गरेको उनको भनाइ छ । ‘सडक भनेको गाडी गुड्नका लागि बनाइएको हो, पार्किङ गरी अरूलाई बाधा पु¥याउन बनाइएको होइन’ हाथेछु भन्छन्, ‘२५—३० वटा गाडी पार्क गर्दा हजारौ गाडीलाई ओहोर—दोहोर गर्न समस्या हुन्छ ।’ अहिले यस्तो व्यवस्था गरेको क्षेत्रमा सवारी पार्क नगरेपछि जाम र दुर्घटना दुबैमा कमी आएको उनी बताउँछन् । साथै पछिल्लो समय साइकल लेनमा सवारी पार्किङ गर्न नदिन महानगरले कडाइको नीति समेत लिएको प्रहरी प्रमुख हाछेथु बताउँछन् । सपिङ मल र व्यवसायिक भवनहरुको नक्सा अनुसार पार्किङ नराखिएको पाइए तत्काल राख्न लगाउने नीति पनि महानगरले लिएको छ । ‘बिहान ८ बजे गाडी पार्किङ गरेर गएपछि एकै चोटी बेलुका मात्र लिन आउँछन्,’ हाथेछु भन्छन्,‘ यसरी अव्यवस्थित रूपमा गाडी पार्किङ गर्नाले बाटोमा सवारी चाप बढ्नुको साथै दुर्घटना पनि बढ्छ ।’
त्यसैले यस्तो व्यवस्था गरिएको उनी बताउँछन् । पार्किङ निःशुल्क गरिएका क्षेत्रमा पनि हालसम्म कुनै प्रकारको गुनासो तथा सडक दुर्घटनाको समस्या नभएको उनी बताउँछन् ।
ट्राफिक व्यवस्थापन देशकै उत्कृष्ट ललितपुर महानगरपालिकाको सडक व्यवस्थापनको जिम्मा नगरी प्रहरी बल कार्यालयले सम्हालेको छ । जसलाई नगर प्रहरी प्रमुख सीताराम हाछेथुुले नेतृत्व गरिरहेका छन् । २९ वर्ष ट्राफिक व्यवस्थापनमा बिताएका हाछेथु ललितपुर महानगरपालिका ट्राफिक व्यवस्थापनमा लागि परेका छन् । ललितपुर महानगरपालिकाको यो ट्राफिक व्यवस्थापन योजना केवल सडक खाली गर्ने अभियान नभएर व्यवहारिक, आर्थिक र जनमैत्री सोचसहितको प्रयास भएको उनी बताउँछन् । नगर प्रहरीको नेतृत्वमा अघि बढाइएको यो योजनाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुगेको उनको दाबी छ ।
आज संसारभरि नै ट्राफिक जाम नियन्त्रणको सवाल महत्त्वपूर्ण बनिरहेको छ । संसारभर नै बढ्दो ट्राफिकलाई व्यवस्थापन गर्न सडकलाई चौडा बनाउने र निजी सवारीलाई प्रोत्साहन नगर्ने नीतिलाई अगाडि बढाइएको पाइन्छ । सँगै नयाँनयाँ प्रविधिको पनि उच्चतम प्रयोग गरिएको छ ।
तर, नेपालमा त्यो सम्भव छैन । त्यसैले माथी उल्लेखित मोडल उत्तम हुने उनको भनाइ छ । नेपालको ट्राफिक व्यवस्थापन गर्न सवारी साधनको अवस्था, जनशक्ति र प्रविधिलाई ध्यान दिई ट्राफिक व्यवस्थापनको मोडल बनाउन आवश्यक छ ।
