neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘अपरेशन सिन्दूर’मा नेपाल–भारत खुला सीमा सम्वाद समूहको पूर्ण समर्थन

‘अपरेशन सिन्दूर’मा नेपाल–भारत खुला सीमा सम्वाद समूहको पूर्ण समर्थन

May 8th, 2025

काठमाडौं, बैशाख २५

भारत सरकारद्वारा हालै पाकिस्तानका नौ स्थानमा गरिएको “अपरेशन सिन्दूर” मा नेपाल–भारत खुला सीमा संवाद समूहले पूर्ण समर्थन प्रकट गरेको छ । 

समूहका केन्द्रीय अध्यक्ष डा.राजीव झाले बुधबार प्रेस विज्ञप्ति जारी गरी पूर्ण समर्थन रहेको जनाएका छन् । ‘यस अपरेशनअन्तर्गत भारतीय सुरक्षा फौजले आतंकवादको जरो उखेल्ने प्रयासस्वरूप ती स्थलहरूमा रहेको आतंकवादी अड्डाहरूलाई लक्षित आक्रमण गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘हामी विशेष रूपमा स्मरण गराउन चाहन्छौं कि ती आतंकवादीहरू नेपाली नागरिक सुदीप न्यौपानेको निर्मम हत्या र भारत तथा अन्य मुलुकमा ठूला आतंकवादी हमला गर्ने योजनामा संलग्न थिए ।’ यस्तो अवस्थामा भारतीय सुरक्षाबलद्वारा गरिएका आक्रमण सम्पूर्ण मानवता र शान्तिका लागि भएको कारबाहीको संज्ञा दिएका छन् ।

खुला सीमा सम्वाद समूहले भारतीय कारबाहीप्रति नेपाल सरकारसँग पनि समर्थन जनाउन माग गरेका छन् । ‘आतंकवाद कुनै देश, धर्म वा समुदायको पक्षमा छैन — यो सम्पूर्ण मानव जातिका लागि खतरा हो ।’ उनले भनेका छन् ।

नेपाल–भारत खुला सीमा संवाद समूह आतंकवादविरुद्ध भारतको यस स्पष्ट र निर्णायक कदमको प्रशंसा गर्दै सम्पूर्ण दक्षिण एशिया शान्ति, स्थायित्व र सुरक्षा तर्फ अग्रसर हुने आशा गरेका छन् ।