neapl investment mega bank
  • गृहपृष्ठ
  • आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

Mar 13th, 2025

काठमाडौं, फागुन २९

आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंडिखेलमा लगी जलाइन्छ । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

 ज्योत्सना श्रेष्ठ