काठमाडाैं, फागुन १८
राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं.१९ सिनियर डिभिजन तालिमको आज मिति २०८१ फाल्गुण १८ गते सैनिक मञ्च टुँडिखेलमा दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा तालिम सफलतापूर्वक सम्पन्न गरेका ५४० जना क्याडेट छात्रछात्राहरू दीक्षित भएका छन् ।
सो अवसरमा क्याडेट छात्र छात्राहरूलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय सेवा दलका संरक्षक सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले दीक्षित क्याडेटहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । उहाँले हालको विश्व परिवेशमा नैतिकवान्, ऊर्जाशील, सृजनशील र देशभक्त युवाहरू देशको आवश्यकता रहेको कुरा उल्लेख गर्दै राष्ट्रिय सेवा दल नेपाल उक्त जनशक्ति उत्पादनमा प्रयासरत रहेको बताउनु भयो।
सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय सेवा दल तालिम नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको र बढी भन्दा बढी युवा विद्यार्थीहरूलाई यस तालिममा समेट्न प्रयास भइरहेको कुरा बताउँदै युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित नागरिक बनाउन तालिमको ठुलो महत्त्व रहेको कुरा बताउनु भयो।
त्यस अवसरमा सम्माननीय प्रधानमन्त्रीले यस वर्षको तालिममा सर्वोत्कृष्ट छात्रा सैनिक आवासीय महाविद्यालय, भक्तपुरकी रेजिमा भण्डारी क्षेत्री, सर्वोत्कृष्ट छात्र गोल्डेन गेट कलेज, काठमाडौँका अनुश खत्री र सर्वोत्कृष्ट एबितययल भि.एस. निकेतन सेकेण्डरी स्कुल, मिनभवनलाई पुरस्कार प्रदान गर्नुभयो । समारोहमा राष्ट्रिय सेवा दलका सह संरक्षकद्वय माननीय रक्षा मन्त्री मानवीर राई एवं प्रधान सेनापति महारथी अशोक राज सिग्देलले दीक्षित क्याडेटहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।