काठमाडौं, फागुन १५
सैनिक कमाण्ड तथा स्टाफ कलेजमा मिति २०८१ वैशाख ०३ गतेबाट सुरु भएको सि.सं.३१ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह आज मिति २०८१ फाल्गुण १५ गते सम्पन्न भएको छ। दीक्षान्त समारोहका प्रमुख अतिथि प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले तालिम सफलतापूर्वक सम्पन्न गरेका शिक्षार्थी अधिकृतहरूलाई बधाई ज्ञापन गर्नु हुँदै शुभकामना व्यक्त गर्नु भयो।
आज आयोजित दीक्षान्त समारोहमा प्रधान सेनापतिले तालिममा प्रथम हुने सेनानी साजन सिलवाललाई सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार र भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल अविजीत राँयलाई सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय शिक्षार्थी अधिकृत पुरस्कार प्रदान गर्नुका साथै कलेजको वार्षिक प्रकाशन शिवपुरी जर्नल (Shivapuri Journal) को २६ औँ संस्करण विमोचन गर्नु भयो । सोही कार्यक्रममा Masters in Strategic Studies (MSS) Programme तर्फ प्रथम भएका सेनानी साजन सिलवाललाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले र कमाण्डान्ट पेपरतर्फ प्रथम भएका सेनानी विवेक राई र सेनानी सिच्यान मोक्तानलाई निमित्त शिक्षाधिकृत सहायक रथी मनोज थापाले पुरस्कार प्रदान गर्नुभयो ।
नेपाली सेनाका ५४ जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभागका १र१ जना तथा मित्रराष्ट्र बंगलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, म्यानमार, नाइजेरिया, पाकिस्तान, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका १/१ जना गरी १० विदेशी सहित जम्मा ६७ जना अधिकृतहरू उक्त तालिम सम्पन्न गरी आज दीक्षित भएका हुन् ।