काठमाडौं, माघ १५
सेना दिवस २०८१ को अवसरमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार, पोसाक, उपकरणहरू र सम्बद्ध सैनिक सामग्रीहरूको प्रदर्शनीमार्फत आम नागरिकलाई नेपाली सेनाबारे विविध विषयहरूमा जानकारी प्रदान गर्ने उद्देश्यले फोटो तथा बृहत् प्रदर्शनी सुरु भएको छ ।
आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा बिच प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले प्रदर्शनीको शुभारम्भ गर्नु भएको हो । सोही अवसरमा प्रधान सेनापतिले नेपाली सेना फोटो प्रतियोगिता- २०८१ का उत्कृष्ट ३ जना गैर सैनिक फोटोग्राफरहरू, ३ वटा नेपाली सेनाका युनिटहरू र १ जना श्री जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफरलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुका साथै मूल्याङ्कन समितिका सदस्यहरूलाई कदरपत्रद्वारा सम्मानित गर्नुभयो । कार्यक्रम पश्चात् प्रधान सेनापति लगायत अतिथिहरूले प्रदर्शनीको अवलोकन गर्नु भएको थियो।
प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दल लगायतका गतिविधिहरू समेट्ने गरी कुल २९ वटा स्टलहरू राखिएका छन् । यही माघ १८ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा आम नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
कार्यक्रममा सैनिक श्रीमती संघकी अध्यक्ष, बलाध्यक्ष, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रथीवृन्द, श्री जनसम्पर्क तथा सूचना निर्देशनालयका पूर्व निर्देशकहरू, सैनिक सहचारीहरू, अधिकृत, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।