neapl investment mega bank
  • गृहपृष्ठ
  • सिन्धुपाल्चोकको हेलम्बुमा ‘विद्यालयमा कुलपति’ कार्यक्रम

सिन्धुपाल्चोकको हेलम्बुमा ‘विद्यालयमा कुलपति’ कार्यक्रम

Dec 29th, 2024

काठमाडौं, पुस १४

प्रज्ञा-प्रतिष्ठानलाई चिनाउन हेलम्बु आइपुगियौँ -कुलपति राई
सिन्धुपाल्चोक ।नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भूमेश्वरी माध्यमिक विद्यालय हेलम्बुस्थित किउल,सिन्धुपाल्चोकले आफ्नो स्वर्ण जयन्तीका अवसरमा ‘विद्यालयमा कुलपति’ कार्यक्रमको आयोजना गरेको थियोे।

यस अवसरमा माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता समेत राखिएको थियोे ।उक्त कार्यक्रमको पानसमा बत्ति बालेर समुद्घाट्न गर्दै कुलपति राईले हेलम्बु वर्तमान नेपालको सजीव चित्र रहेको उल्लेख गर्दै पहिले पढ्ने बेलामा हेलम्बुका बारेमा गीत,कविता र आख्यान मार्फत थाहा पाएको स्मरण गर्दै सबै जातजाति र आदिवासीहरू एकआपसमा हातेमालो गर्दै बसेकाले नै हेलम्बु नमुना पर्यटकीय गाउँ बनेको बताउनुभएको थियोे।

साथै विद्यालयमा कुलपति कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित भूमेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले प्रज्ञा -प्रतिष्ठानलाई गाउँ-गाउँ, बस्ती- बस्ती र स्कुल-स्कुलमा पुर्याउनका लागि आफूले सक्दो काम गरिरहेको बताउनुभएको थियोे । झापाको एउटा शिक्षकले शिक्षण पेसामा रहेको २५ बर्षमा पहिलोपटक कुलपति देखेको र प्रज्ञा-प्रतिष्ठान थाहा पाएको भनेको प्रसङ्ग कोट्याउँदै उहाँले प्रतिष्ठान विगतमा कस्तो थियोे भन्ने बारे सङ्केत गर्नु भएको थियोे ।

जनताको साहित्य ,भाषा र सांस्कृतिक रहनसहनका बारेमा अब स्कुल-स्कुलमा पुगेर अध्ययन गर्दै प्रतिष्ठानको काम र कर्तव्यका बारेमा जानकारी गराउने उद्देश्यले अहिले ‘विद्यालयमा कुलपति’ कार्यक्रम गरिरहेको बताउनु भएको थियो । विद्यार्थीले पढ्ने किताब लेख्ने व्यक्ति चिनिन र चिनाउनका लागि अहिले विद्यालयमा पुग्ने गरेको उहाँले प्रष्ट पार्नु भएको थियोे। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शिक्षा,संस्कृति र स्वास्थ्यमा गरेको लगानी र चासोलाई उहाँले सम्मान व्यक्त गर्दै कुलपति राईले वास्तविक विकास भनेकै दिमागको विकास भएकाले कविता लेख्ने व्यक्ति असल संस्कार र संस्कृतिले भरिपूर्ण हुने बताउनुभएको थियोे ।

कार्यक्रममा नेपाल प्रज्ञा -प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्रतिष्ठानले नेपालका भाषा,संस्कृति, कला, साहित्य, दर्शन र सामाजिकशास्त्रको क्षेत्रमा संरक्षण गर्दै आएको बताउनु भएको थियो । उहाँले अहिले संविधानले प्रदेश सरकार र स्थानीय सरकारलाई समेत प्राज्ञिक अधिकार दिएकाले अब प्रज्ञा -प्रतिष्ठानले प्रदेश र स्थानीय तहसम्म पुगेर सहजीकरण गर्ने बताउनुभएको थियो । उहाँले स्थानीय भाषा,संस्कृति,मौलिकता र ज्ञानलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियोे।नेपाल प्रज्ञा- प्रतिष्ठानका सदस्य डा. मधुसूदन गिरीले बालबालिकाले भोलिको भविष्यलाई काधमा बोकिरहेको पाएको बताउनुभएको थियोे। उहाँले बालबालिकाको प्रतिभा तथा क्षमतालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने योजना बनाएर सहयोग गर्न आग्रह गर्नुभएको थियोे।

प्रज्ञा-प्रतिष्ठानका सदस्य डा.कृष्णराज अधिकारीले भौतिक विकाससँगै शैक्षिक,सामाजिक र भाषिक विकासमा जोड दिन आग्रह गर्नुभएको थियोे । हेलम्बुको चर्चा धेरै पहिलादेखि सुनेको भन्दै अहिले हेलम्बुमै आएर आफ्ना भनाइ राख्न पाएकोमा खुसी लागेको बताउनुभएको थियोे।
कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पढाइसँगै संस्कृति , रीतिरिवाज र अतिरिक्त कृयाकलापमा पनि विद्यार्थीलाई सहभागी गराइ भविष्यको बाटो देखाउनुपर्ने बताउनुभएको थियोे ।उहाँले स्वदेशमै पढेर दक्ष जनशक्ति उत्पादन गर्न यस गाउँपालिकाले भूमिका निर्वाह गरेको बताउनु भएको थियोे।उहाँले प्रज्ञा-प्रतिष्ठानका कुलपति लगायतका व्यक्तित्वलाई हेलम्बुमा स्वागत गर्न पाउँदा खुसी लागेको चर्चा गर्नु भएको थियोे ।

कार्यक्रममा स्वर्ण जयन्ती विशेष माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयकी छात्रा पूर्णिमा तामाङ -पहिलो,इस्ट पोइन्ट एकेडेमीकी आशिका केसी- दोस्रो,भूमेश्वरीकी लक्ष्मी सुनार -तेस्रो र सर्वोदय माध्यमिक विद्यालयकी सिर्जना तामाङ र बोधिसत्व मोडल स्कुलका सिदार्थ पुरीले सान्त्वना स्थान हासिल गर्नुभएको थियो । प्रमुख अतिथि कुलपति राईले पहिलो,दोस्रो,तेस्रो र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमश: ४ हजार,३हजार,२ हजार र १–१ हजारका दरले पुरस्कार प्रदान गर्नु भएको थियोे।उक्त कविता प्रतियोगिताको निर्णायकमा डा.रमेश शुभेच्छु, माधव घिमिरे अटल र जयराम विडारी रहनु भएको थियो । 
प्रतियोगितामा गाउँपालिका भित्रका माध्यमिक विद्यालयका १६ जना विद्यार्थीको सहभागिता रहेको थियो ।  

हेलम्बु गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक क्षिरिङ लामा ह्योल्मो,विद्यालयका प्रधानाध्यापक यमबहादुर ज्योति लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोदनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियोे । उक्त कार्यक्रम हेलम्बु गाउँपालिकाको सहयोग र मेलम्ची साहित्य प्रतिष्ठानको सहकार्यमा भएको थियोे।
सम्प्रेषण :प्राज्ञ चेतनाथ धमला