काठमाडौं, मंसिर ३
सर्वसाधारणले पत्रिका किन किन्छन् ? सजिलो जवाफ छः अघिल्लो दिन देश–विदेशमा घटेका घटनाबारे थाहा पाउन, नयाँ कुरा जान्न । तर, के पत्रपत्रिकाले सर्वसाधारणलाई सन्तुष्ट बनाउन सकिरहेका छन् त ? दैनिक दर्जनौं राष्ट्रिय दैनिक र साप्ताहिक पत्रपत्रिका बजारमा आउँछ । सर्वसाधारणले पाँचदेखि १० रुपैयाँ तिरेर पत्रिका खरिद गर्छन् । पत्रिकामा पैसा हाल्नु सर्वसाधारणलाई ‘वालुवामा पानी’ हाल्नुझैं भएको छ । एकातिर पैसा खेर गइरहेको छ भने अर्कोतिर पत्रिका पसलसम्म पुग्दा सर्वसाधारणलाई हैरानी भएको छ । पछिल्लो समय पत्रिकामा समाचारभन्दा धेरै विज्ञापन आउँछ । एकाध समाचार हालेर सबै विज्ञापनले भरिन्छ ।
पत्रिका समाचारका लागि नभई विज्ञापनका लागि छापिएकोजस्तो देखिन थालेको सर्वसाधारणको गुनासो छ । पत्रिका पसलमा पत्रिका हेरिरहेका सर्वसाधारणहरु भन्छन्,‘आजकल त न्यूज नै आउँदैन् । सबै पेज विज्ञापनले भरिएको छ । के पत्रिका पढ्नु ?’ सरोकारवाला निकायले विज्ञापनका निम्ति निश्चित दायरा तोकिदिएको छ ।
तर, निरीक्षण खोइ ? पहिलो पृष्ठदेखि अन्तिम पृष्ठसम्म विज्ञापन मात्र देखिन्छ । समाचार त नाम मात्रको भएको छ । मृतकको समवेदना नै एक पेज हालिएको हुन्छ । बैंकहरुले घर जग्गा लिलामीका लागि छापेको विज्ञापन, म्यानपावरले विदेश पठाउनका लागि गरेको विज्ञापन नै पत्रिका भरिन थालेको छ ।
कुनैपनि ग्राहक पत्रिकामा विज्ञापन हेर्न गएको हुँदैन् । सञ्चारमाध्यमको आम्दानीको स्रोत विज्ञापन भएतापनि पत्रिका विज्ञापनले भर्न पाइँदैन् । पत्रिकामा केही नयाँ छापिएको छ कि, कतै कुनै विशेष घटना पो भएको छ कि भनेर पाठकले आफ्नो पैसा हाल्ने हो । तर, पत्रिकामा समाचारभन्दा धेरै विज्ञापन छापिन थालेको छ । यस्तै अवस्था रहिरह्यो भने पाठकले पत्रिका पढ्न छोड्छन् । संकटमा परेको पत्रिकाको अस्तित्व नै मेटिन पनि बेर लाग्दैन् । पछिल्लो समय मुलुकमा थुप्रै अनलाइन मिडिया हाउस खुलेका छन् । तर, भनिन्छ नि,‘ओल्ड इज गोल्ड ।’ यसलाई कायम राख्न पत्रिकाका कार्यालयहरुले कसरत गर्नुपर्ने देखिएको छ ।
पत्रिकामाथि पाठकको रुचि झनै बढाउन समाजमा भएका बेतिथिहरु उजागर गरिदिनुपर्यो । भ्रष्टाचार, विकृति–विसङ्गति, दमन, शोषणलगायत आम नागरिकसँग जोडिएको विषयहरु उठान गरिदिनुपर्यो । पत्रिका यस्तो बनोस् कि पाठकले खोजीखोजी पढुन् । विडम्बना, पछिल्लो समय पत्रपत्रिका पनि पार्टीगत बन्दै गएको छ ।
देश र जनताको पक्षमा कलम चलाउनुपर्ने पत्रकारहरु पार्टीका कार्यकर्ता बनेका छन् । सर्वसाधारणले यो पत्रिका त्यो पार्टीको, त्यो पत्रिका यो पार्टीको भन्न थालेका छन् । पत्रिका र पत्रकार निष्पक्ष हुनुपर्ने हो । गलतको विरुद्धध आवाज उठाउने माध्यम बन्न सक्नुपर्ने हो । विडम्बना, त्यसो हुन सकेको छैन् । भुइँमान्छेभन्दा राजनीतिक दल सहभागी भएको कार्यक्रमले प्राथमिकता पाउन थालेको छ । पत्रकारिता राज्यको चौंथो अंग हो । यसलाई समाजको ‘वाच डग’ पनि भनिन्छ । समाजमा भएको बेतिथि उजागर गरिदिने, त्यसको समाधानका लागि राज्यलाई घच्घचाउने, कसैको आँखा नपुगेको विषय बाहिर ल्याइदिने काम मिडिया हाउस र पत्रकारको हो । तर, के मिडिया हाउस र पत्रकारले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् त ? हरेक पाठकको प्रश्न हो यो । पत्रकारलाई सर्वसाधारणले सिसाको ऐना भन्छन्, मान्छन् । जतिसुकै डरधम्की वा प्रलोभन आएपनि पत्रकारले अन्याय, अत्याचार र गलतलाई बाहिर ल्याउनैपर्छ । विडम्बना, पत्रकारले आफ्नो धर्म निर्वाह गरेका छन् त ?
मिडिया हाउस सेवा हो । मिडिया हाउसले व्यापार गर्न मिल्दैन् । तर, पत्रकारिता पेशा विपरीत दिशामा गइरहेको छ । जसका कारण मिडिया हाउस र पत्रकारको भविष्य के होला ? सोच्नुपर्ने भएको छ । हिजोको दिनमा पत्रकारलाई सर्वसाधारणले कुन दृष्टिले हेर्थें, अहिले कुन दृष्टिले हेर्छन् ? मिडिया हाउसले अध्ययन गर्नुपर्ने भएको छ । खोजमूलक समाचारको अस्तित्व संकटमा परिसकेको छ । पत्रकारहरु निजी प्लेटका गाडीमा कार्यालय जान्छन्, फर्किन्छन् । जनताको आवाज बाहिर ल्याउनका लागि त पहिले सडकमा हिँड्नुपर्छ । सार्वजनिक यातायात चढ्नुपर्छ । पत्रकारहरु आफू रिपोर्ट नगर्ने, कुनै समाचार संस्थासँग किनेको समाचारले पत्रिका भर्ने, ‘कपिपेस्ट’ गर्ने क्रम बढेको छ । यहाँ पाइलापाइलामा समाचार छ । बस्, उठान गरिदिने कोही भएनन् । मिडिया हाउसको संख्या बढ्यो तर भुइँमान्छेको आवाज उठाउने क्रम घट्यो । मिडिया हाउसहरुले विज्ञापनको अगाडि मुखमा बुझो टालिदिए । जसले विज्ञापन दिन्छ, उसको विरोधमा कलम नै चलाउँदैनन् । जति नै गल्ती गरेपनि अनदेखा गरिदिन्छन् । पछिल्लो समय सर्वसाधारण, राजनीतिक दल, व्यापारीहरुले भन्न थालेका छन्,‘पत्रकारले पैसा दिएन् भने मात्र विरोधमा समाचार लेख्छ । पैसा पाएपछि मुखमा बुझो लगाइहाल्छन् ।’ अब भनौं, पत्रकारिता पेशा कति पानीमा छ ? मिडिया हाउस र पत्रकारप्रति सर्वसाधारणको धारणा कस्तो छ ? जनयुद्धको बेला राज्य र माओवादीबाट धेरै पत्रकार मारिए । ज्यान नै जोखिममा परेपनि उनीहरु पछि हटेनन् । देश र जनताको लागि कलम चलाएरै छोडे । हिजो र आजको पत्रकारिताको परिभाषा उही छ । फरक यति हो कि पत्रकारको नियत बद्लियो । हिजो पेशालाई आफ्नो सबैकुरा ठानेर काम गर्थें, आज पैसालाई ठानिन्छ ।
मैनबत्ती आफू बलेर अरुलाई उज्यालो दिन्छ । आफू सिद्धिन्छु भनेर मैनबत्ती बल्न त छोड्दैन् । पत्रकार पनि मैनबत्ती बन्न सक्नुपर्छ । समाचार संकलन सानो काम होइन् । विभिन्न बाधा अवरोध आउँछ, धम्की दिइन्छ तर पत्रकार डगमगाउन भएन् । अनि मात्र असल पत्रकारिता गरिन्छ । अब मिडिया हाउस र पत्रकारहरु सच्चिन आवश्यक भइसकेको छ । विज्ञापनको मात्र पछाडि नलागौं । पाठकले जे खोजेका छन्, त्यो दिन सक्नुपर्यो । मिडिया हाउस व्यापार गर्ने थलो नबनोस् । पाठकलाई दिनहुँ पत्रिका किन्न लालायित बनाउने खालका समाचार लेखौं । यो पत्रिकाले नयाँ नयाँ विषय उठान गर्छ भन्ने पाठकमा होस् । पत्रकारको कलम देखेर भ्रष्टाचारीहरु डराउन् । राजश्व छल्नेहरुको सातो जाओस् । कालोबजारीहरु कानुनको दायरामा आऊन् । समाज सुधार्ने, गलतहरुलाई कानुनको दायरामा उभ्याउन सक्ने एक मात्र पेशा पत्रकारिता हो । मिडिया हाउस र पत्रकारलाई आफ्नो कर्तव्यबोध होस् ।
पछिल्लो समय घरैपिच्छे मिडिया हाउस खुलेको छ । तर, प्रभाव के ? विगतमा एकाध पत्रिकाले भ्रष्टाचारीहरुको सातो उडाइदिन्थें, अहिले यत्रो मिडिया हाउस खुलेपनि कसैलाई डर छैन् । भ्रष्टाचारी, कालोबजारी, राजश्व छलहरु झन् शक्तिशाली बन्दै गएका छन् । मुलुकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विभाग, प्रेस काउन्सिल छ ।
यी निकायको काम पत्रपत्रिका, मिडिया हाउसमाथि नियमन गर्नु हो । दुर्भाग्यबस् यी निकाय नाम मात्रको निकाय बनेका छन् । पत्रिकामा समाचारको साटो विज्ञापन नै विज्ञापन छापिँदा पनि यी निकायलाई केही फरक परेको छ । यस्तै अवस्था रह्यो भने पत्रिका समाचारपत्र होइन्, विज्ञापनपत्र बन्छ । यसमा सरोकारवालाको ध्यान केन्द्रित हुन आवश्यक छ । सरकारले वर्षैपिच्छे मिडिया हाउसलाई कर छुट दिन्छ । विज्ञापन बोर्डले पनि विज्ञापन दिन्छ, पैसा दिन्छ । तैपनि समाचार आउँदैन् । पत्रिकालाई एडभरटाइजमेण्ट हाउस बनाउनबाट जोगाउन सरकार तात्न जरुरी देखिएको छ ।
अनुसा थापा
भक्तपुर