काठमाडौं, कार्तिक २४
हरेक वर्ष जेठ महिनाको अन्तिममा नेपालमा मनसुन भित्रिने गरेको छ । त्यसबेला भित्रिएको मनसुन असोजसम्म रहन्छ । विशेष गरी मनसुनको प्रभाव असार, साउन र भदौमा बढी देखिने गरेको छ । यद्यपि, यो वर्ष भने असोजमा समेत मनसुनले तहल्का मच्यायो । यी तीन महिनामा सबैभन्दा बढी पानी पर्ने गर्छ । निरन्तरको वर्षापछि बाढी, पहिरो, डुबानजस्ता घटना घट्ने गर्दछ । फेरि यँही बेलामा किसानलाई मुठी रोपेर मुरी फलाउनु पर्छ । असारदेखि भदौसम्म कृषकलाई धान रोपेर भ्याईनभ्याई हुन्छ । यो विगतदेखिको परम्परा नै हो । वर्षा हुनासाथ किसानहरु आफ्नो खेतबारी जोतेर वा खनेर धान रोप्छन् । दिनरात खट्छन् । अनि यति दुःख गरेर फलाएको धान वर्षभरि बसेर खान्छन् । झण्डै पाँच दशकअघि नेपालमा कृषि पेशा नै प्रमुख थियो । जोकोही कृषि कर्ममा संलग्न थिए । अहिलेजस्तो रोजगारीका लागि विदेश जाने चलन त्यतिबेला थिएन । त्यसबेला जोकोहीको खेतबारी वा जग्गा हुन्थ्यो । वर्खा लाग्नासाथ सबै एकअर्काको खेतबारीमा धान रोप्न पुग्थे । मिलीजुली काम गर्थे । एक दिन आफ्नोमा सबै मिलेर धान रोप्थे त अर्को दिन अरुकोमा ।
अहिलेजस्तो आना जग्गा वा थोरै खेतमा धान रोपिदैँन्थ्यो । रोपनीका रोपनी जग्गा वा खेतबारीमा धान रोपिन्थ्यो । अनि तीन महिना दिनरात खटेर रोपेको धानले वर्षभरि खाइन्थ्यो । अहिले पनि असार, साउन र भदौमा पर्याप्त पानी पर्छ । तर, धान रोप्ने जमिन भने घट्दै गएको छ । किनकि खेतीयोग्य जमिन खण्डीकरण वा प्लाटिङ गरेर सिद्धिएको छ । यसले गर्दा धान रोप्न जमिन नै छैन । आजकल मनसुन अवधिमा समेत किसानहरु फुर्सदमा देखिन्छन् । जबकी यो अवधि कृषक सबैभन्दा व्यक्त हुने समय हो । तर, के गर्नु ? जब धान रोप्न जमिन नै छैन । यस्तै भइरहे नेपालमा अबको केही वर्षपछि कृषि कर्ममा संलग्न एक जना पनि भेटिन मुस्किल हुने छ । सरकारले बाटो अनि नागरिकले घर बनाएर खेतीयोग्य जमिन सकाए । बाटोको विकासले अहिले हामीलाई हिँड्न निकै सहज भएको छ । तर, अन्न उत्पादन हुने खेतीयोग्य जमिन भने मासिएको छ । यता, घर निर्माण गरिँदा धेरैको आयस्रोत सिर्जना भएको छ । घर भाडामै लगाएर मानिसहरु बसिबसि खान्छन्, आजकल । यद्यपि, घरका कारण हाम्रो भोक मेट्ने अन्न उत्पादन हुने जमिन नै मासिएको छ । दलालीहरुले निमुखा किसानको मजबुरीको फाइदा उठाएर सस्तो मूल्यमा जमिन खरिद गरे ।
त्यसमा डोजर चलाई टुक्राटुक्रा बनाएर आनाकै ६०–७० लाखमा बेचबिखन गरे । हामी जनताले पनि गाउँमा भएको आफ्नो रोपनीका रोपनी जग्गा बेचेर शहरमा सुविधाका लागि करोडौं खर्चिएर एक–दुई आना जमिन खरिद गर्यौ । अनि त्यो जग्गामा घर बनायौं । शहरमा घर बनाएपछि आफुलाई कहिकतै नभएको पुँजीपति ठान्यौं । अहिले गाउँकै जमिनको मूल्य बढ्दै गएको छ । किनकि दलालीहरुले त्यता पनि डोजर चलाएर जग्गा खण्डीकरण गरे । जताजता दलाली पुगेका छन्, त्यतात्यताको जमिनको मूल्य बढेको छ । अहिले हरेक खाद्यान्न विदेशबाट आयात गर्नुपर्छ । हाम्रो भान्सामा पाक्ने खानेकुरा विदेशबाटै आयात गरिएको हो । हामी गुन्द्रकबाट विदेशबाटै आयात गरिएको खान्छौं । अनि योभन्दा विडम्बनाको कुरा के हुन सक्छ । कुनै बेला विदेशीलाई खाद्यान्न अनुदान दिने हाम्रो देश अहिले विदेशको भरमा बस्नुपरेको छ । यदि विदेशीले खाद्यान्न नपठाए हामी नेपाली भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भएको छ । विदेशबाट किनेर ल्याएको खाद्यान्नले जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ । एकातिर नेपाली मुद्रा त विदेशिएको छ नै सँगै महँगो मूल्य तिरेर ल्याइएको खाद्यान्नमा विषादी मिसाइएको हुँदा हाम्रो स्वास्थ्यमा असर परेको छ । विषादीका कारण नेपालीहरुको स्वास्थ्यमा विभिन्न रोगहरु लागिरहेको छ । पहिलापहिला कमै मानिस मात्र रोगी हुन्थे । अहिले जोकोही रोगबाट ग्रस्त छन् । यहाँको खेतीयोग्य जमिन घर र बाटो बनाएर मासिँदा नेपाली युवाहरु भने विदेश पुगेर कृषि काम गरिरहेका छन् ।
अहिले जोकोही दक्षिण कोरिया जान चाहन्छन् । त्यहाँ अधिकांश नेपाली कृषि कार्य नै गर्छन् । त्यसमाथि प्लस टु पास गरेका, शारिरिक र मानसिक रुपमा स्वस्थ र सक्षम व्यक्तिलाई मात्र कोरिया लगिन्छ । नेपाललाई कृषि प्रधान मुलुक भनिन्छ । हामी नेपाली विदेशबाट आयात गरिएको खाद्यान्न खान्छौं । नेपाली जनता विदेश पुगेर कृषि पेशा गर्छन् । अनि कसरी नेपाल चाँहि कृषि प्रधान मुलुक भयो ? अब यसबारे गम्भीर रुपमा सोच्नुपर्ने बेला आएको छ । सरकारका बसेकाहरु नेपाल कृषि प्रधान देश हो भन्दै ठुल्ठुला भाषण गर्छन् । तर, कोही पनि विदेशीले खाद्यान्न नपठाए नेपाली जनता भोकभोकै मर्नुपर्छ भनेर भन्दैनन् । गाउँदेखि शहरसम्म घर नै घर बनेको छ । घरका कारण समग्र देश नै अस्तव्यस्त बनेको छ । नौं दशकअघि नेपालको जनसंख्या ९३ लाख थियो । भूभाग भने धेरै थियो । अहिले हाम्रो भूभाग घट्दै गएको छ । छिमेकी देश भारत र चीनले नेपालको धेरै भूभाग कब्जा गर्यो । जनसंख्या बढेर झण्डै तीन करोड पुगिसक्यो भने भूभाग भने घट्दो छ । खाने पेट दिनानु दिन बढिरहेको छ तर उब्जनी हुने जमिन घटिरहेको छ । यही अवस्था रहिरहे नेपालमा छिट्टै भोकमारी शुरु हुने छ । जमिन जति घर र बाटो बनाएर सिद्धिएको छ ।
अनि अब सरकारले यत्रो नेपालीलाई के खुवाएर बचाउँछ ? भारतले पन्ध्र दिन नाकाबन्दी गरेमा त सरकार आफ्ना नागरिकलाई सहज रुपमा खाद्यान्न उपलब्ध गराउन सक्दैन भने भारतलगायत विभिन्न देशहरुले महिनौं खाद्यान्न नपठाए के होला ? सरकारमा बसेकाहरुलाई यसप्रति कुनै चिन्ता छैन । उनीहरुलाई आफ्नो स्वार्थ पुरा गर्न पाए पुग्यो । हुन त विदेशीको ऋणले चलेको सरकारलाई हाम्रो देशको के नै मतलब ! राजनीतिक दल र कर्मचारीहरुले देशै धितो राखेर विदेशीसँग २७ खर्ब ऋण लिएसके । सरकार विदेशीसँगै ऋण लिएर कर्मचारीलाई तलब खुवाउँछ । सरकारी खर्च धान्छ । जनताले कर तिर्छन । विदेशमा बसेका नेपालीले रेमिट्यान्स पनि पठाउँछन् । तर, सरकारलाई जति भएपनि पुग्दैन । सरकार विदेशीसँग ऋण नलिई बस्नै सक्दैन । विदेशी ऋण दिनप्रति दिन बढ्दो छ । अहिले सरकार एउटासँग ऋण लिएर अर्कोको साँबाब्याज तिर्छ । कहिलेसम्म यस्तो चलिरहन्छ ? विदेशीको ऋण तिर्न सक्ने क्षमता हामीसँग छैन । फेरि सरकारमा बसेकाहरु विदेशीलाई ऋण मिनाहाका लागि अनुरोध पनि गर्दैनन् ।
यदि त्यो ऋण तिर्न नसके विदेशीले नेपाल नै आफ्नो बनाउने छ । अनि अहिले हामीलाई ऋण दिन होडबाजी गरिरहेका देशहरुबीच नेपाल कसले लिने भनेर हानाथाप हुने छ । सरकारले आफ्नो देशको खेतीयोग्य जमिन त सिद्धायो नै सँगै अब देश नै नरहने अवस्था आएको छ । खाद्यान्न जन्मिएदेखि नमर्नुञ्जेलसम्म आवश्यक पर्छ । विडम्बना, सरकारी निकाय भने खेतीयोग्य जमिनमा घर बनाएर यति राजस्व उठेको भन्दै विवरण सार्वजनिक गर्छ । सरकारलाई करको मात्र मतलब छ । जनता र देशको चासो छैन । अझै पनि सरकार बाँकी भएको जमिनमा समेत घर बनाउन नक्सा पास गरिरहेको छ । अनि योभन्दा दुर्भाग्यको कुरो के हुन सक्छ ।
रुषा थापा
भक्तपुर