neapl investment mega bank
  • गृहपृष्ठ
  • चाडपर्व बन्यो लुटतन्त्रः व्यापारीदेखि ट्याक्सी चालकबाट समेत लुटिँदै सर्वसाधारण !

चाडपर्व बन्यो लुटतन्त्रः व्यापारीदेखि ट्याक्सी चालकबाट समेत लुटिँदै सर्वसाधारण !

Nov 3rd, 2024

काठमाडौं, कार्तिक १८

आज तिहारको सबैभन्दा महत्वपूर्ण दिन, भाइटीका । बिहानैदेखि सडकमा घुँइचो देखिएको छ । आफ्नो दाजुभाइलाई टीका लगाउन दिदीबहिनीहरु घरबाट सामानको थुप्रो लिएर निस्किएका छन् । प्रत्येकको हातमा झोला देखिन्छ । आज कतिपय दिदीबहिनी दाजुभाइलाई टीका लगाउन माइती जान्छन् त कतिपय दाजुभाइ दिदीबहिनीको घर जान्छन् । उपत्यकाभित्र क्युको गाडीहरु आज न्यून मात्र चलेको छ । सडकमा बस, माइक्रोबस, टेम्पो निकै कम देखिन्छ । जसका कारण सर्वसाधारण मर्कामा परेका छन् । कसरी आफ्नो गन्तव्यसम्म पुगु ? भइरहेको बेला सार्वजनिक यातायात नै कम चलिदिएपछि सर्वसाधारण तनावमा परेका छन् । पठाओ, इनड्राइभले मनलाग्दी भाडा असुलिरहेका छन् । आपतको समयमा सहयोग गर्नुको साटो पठाओ, इनड्राइभहरुले मौकाको फाइदा उठाएका छन् । निजी प्लेटका ती सवारी साधनले एक किलोमिटरमै तीन सयदेखि दुई हजार मागिरहेका छन् । ट्याक्सी चालकलाई झोला र बच्चा भएको मान्छे देख्नै हुँदैन् । एक किलोमिटरमै पाँच सय मागिहाल्छन् । देशमा सरकार छ तर नाम मात्रैका लागि । निजी प्लेटका सवारी साधनलाई यात्रु बोकेर पैसा कमाउन बन्देज छ । कालो प्लेटमा दर्ता भएको ट्याक्सीले पनि मीटरमा यात्रु बोक्नुपर्ने कानुनी व्यवस्था छ । तर, कसले टेर्ने ? कानुन कार्यान्वयन गर्ने निकाय नै सुस्ताएपछि सर्वसाधारण ठगिनु स्वभाविकै हो ।
दिँउसै रात पारेर लुट्ने काम भइरहँदा सरकार कहाँ छ ? यस्तो विशेष दिन यात्रु नठगिऊन् भनेर सरकारले अनुगमनलाई तीव्रता दिनुपर्ने हो । सर्वसाधारणको सहजताका लागि गाडीको व्यवस्थापन गरिदिनुपर्ने हो । विडम्बना, सरकार गर्दैन् । जसका कारण चालकले जति भन्यो, त्यति नै तिर्नुपर्ने बाध्यता यात्रुलाई छ ।

सरकारले तोकेको भाडादरः फ्ल्याकडाउनबापत ५० र प्रतिकिमि ५० छ । तर, मीटरमा हिँडे पो । मीटर त देखाउनका लागि मात्रै राखेजस्तो भएको छ । सरकारको कारणले सर्वसाधारण ठगीको शिकार बनिरहेका छन् । उपत्यकाको जनसंख्या झण्डै एक करोड बराबर छ । ट्याक्सीको संख्या भने नौं हजार । चाडबाड नभएको बेला त ट्याक्सी चालकको लुटतन्त्र चल्थ्यो भने आज त उनीहरुको दबदबा नै बेग्लै हुन्छ । आफूले भनेजति भाडा तिरे मात्र चढाउँछन् । पैसा नहुनेलाई कसरी टीका लगाउन जाने भन्ने चिन्ताले सताउन थालेको छ । सर्वसाधारण जहाँत्यही लुटिदाँ सरकारी कर्मचारीलाई भने मोज छ । सरकारी कार्यालय केही दिनअगावै बन्द भइसकेको छ । तर, आज बाटोमा छ्याप्छ्याप्ती सरकारी गाडी देखिएको छ । कर्मचारीहरुले आफ्नो व्यक्तिगत कामका लागि सरकारी गाडीको दुरुपयोग गरेका छन् । हिजो पनि मिठाई पसल, मासु पसलको अगाडि सरकारी गाडीहरु छ्याप्छ्याप्ती देखिएको थियो । सार्वजनिक बिदा, अफिस टाइमबाहेक सरकारी गाडीको प्रयोग गर्न पाइँदैन् । कानुनमा उल्लेख भएको विषयलाई सरकारी कर्मचारीले धोती लगाइदिएका छन् । व्यक्तिगत कामका लागि सरकारी गाडीको प्रयोग गर्ने गरेका छन् । तर, नियामक निकाय टुलुटुलु रमिता हेरेर बसेको छ ।
जनताले तिरेको करमा खरिद गरिएको सरकारी गाडीमा कर्मचारीको मोजमस्ती चलेको छ भने त्यही जनतालाई चाँहि मँहगो भाडा तिरेर, पैदल यात्रा गरेर टीका लगाउन जानुपर्ने बाध्यता छ । सडक तथा सवारीसम्बन्धी नियम पालना गराउन ट्राफिक प्रहरी राखिएको छ । तर, ट्राफिक प्रहरी अनुगमनमा चासो नै देखाउँदैनन् ।

सार्वजनिक बिदाका दिन सरकारी गाडीको दुरुपयोग गर्ने कर्मचारीलाई कारबाही गर्नुको साटो ट्राफिक देख्या नदेख्याझैं गरेर बस्छ । सरकारले जनप्रतिनिधिलाई पनि सरकारी गाडी दिएको छ । जनप्रतिनिधिबाट पनि व्यापक सरकारी गाडीको दुरुपयोग भइरहेको छ । सरकार भन्छ,‘चाडपर्व मनाऔं ।’
यो कसलाई भनेको हो, बुझ्न गाह्रो पर्यो । सायद सरकारी कर्मचारी र जनप्रतिनिधिलाई भन्या होला । किन कि सर्वसाधारणलाई चाडपर्व टाउको दुखाइको विषय बनिसकेको छ । किन कि चाडपर्वको नाममा जतापनि ठगिनुपरेको छ । पहिले त व्यापारीले ठग्छन् । अन्य बेलाभन्दा सामानको भाउ दोब्बरले बढ्छ । सवारी साधनले पनि त्यसैगरी लुट्छन् । अनि सर्वसाधारणले कसरी चाडपर्व मनाउने ? अब त सर्वसाधारणलाई चाड नआइदिए हुन्थ्योजस्तो अनुभव हुन थालिसकेको छ । मँहगी र ठगीले चाड मनाउन नसक्ने स्थिति बनिसकेको छ । विशेष मौकामा झन् बजार अनुगमन बढाउनुको साटो सरकारका नियामक निकायहरु बन्द छन् ।
अन्य बेला त एक सयको सामान पाँच सयमा बेच्ने व्यापारीहरुले अहिले उपभोक्तालाई दोब्य्राउनुसम्म दोब्य्राएका छन् । सर्वसाधारणका लागि यो देशमा सरकार नै भएन् । भ्रष्टाचारी, कालोबजारी, लुट, ठगहरुको निम्ति मात्र यहाँ सरकार छ । सरकारले सर्वसाधारणलाई रोजगारी दिन सकेको छैन् ।

बेरोजगारको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । प्राइभेट अफिसमा काम गर्नेहरुले वर्षौंदेखि तलब पाएका छैनन् । राजनीतिक दल, सरकारी कर्मचारीलाई त दिनकै दशै छ । जनताको हकमा के ? चाडपर्व पैसा भएकाका लागि मात्र जस्तो भएको छ । सर्वसाधारणलाई त चाडपर्व बोझ बन्न थालिसकेको छ । एकातिर मँहगीले सताएको हुन्छ, अर्कोतिर दुःख । अनि कसरी मनाउने चाडपर्व ? दक्षिणा पाउने पैसाले ट्याक्सी भाडा तिर्न नपुग्ने अवस्था छ । सरकारले सर्वसाधारणलाई लक्षित गरी यातायातको सहजता बनाइदिनुपर्ने थियो । तर, सरकार आफ्नो जिम्मेवारीबाट पन्छिएको छ । सरकारले तोकेको बस भाडा एक किमिबाट पाँच किमिसम्म १९ रुपैयाँ छ । आज त बसले पनि ३० रुपैयाँ असुल्छ । अनि जनताले कसरी सक्ने ? झोला झाम्टा बोकेर, बच्चा डोर्याएर बसमा यात्रा गर्नु कम्ती सास्तीपूर्ण त छैन् । अब सरकारले चाडपर्व धनीहरुले मात्र मनाउने भनेर घोषणा गरिदिए हुन्छ । बेकारमा गरिबलाई किन सास्ती दिइराख्नुपर्यो ? महिनाभरको कमाइले चाडबाड मनाउन नसक्ने भइसक्यो । हरेक सामानको भाउ पचासौं गुणाले बढेको छ । सरकार सँधै सिण्डिकेटधारी, व्यापारीको हकहितमा काम गर्छ । जनता मँहगीको भारमा परेपनि सरकारलाई के मतलब ?
राजनीतिक दलहरुले हरेक क्षेत्रमा संगठन खोलेका छन् । सरकारलाई घुँडा टेकाएर सर्वसाधारण ठगेका छन् । देशको संघीय राजधानीको अवस्था त यो छ भने बाहिरी जिल्लाको अवस्था के होला ? व्यवसायको नाममा उपभोक्ता कतिसम्म लुटिएका होलान् ? सर्वसाधारणले कति दुःख हैरानी खेपेका होलान् ?

जनतालाई पीडा छ । मँहगीको मार खेप्नुपरेको छ । सिण्डिकेटधारीहरुको अगाडि मौन बस्नुपरेको छ । तैपनि, काँग्रेस सभापति शेरबहादुर देउवा भन्छन्,‘केपी ओली सरकारले राम्रो काम गरिरहेको छ ।’ सरकारले कस्तो काम गरिरहेको छ ? यसको जवाफ देउवाले होइन्, जनताले दिने हुन् । जनतालाई सोध सरकारले कस्तो काम गरिरहेको छ भनेर । जो सुरक्षाकर्मीको घेराभित्र बस्छ, उसलाई देशको अवस्थाबारे थाहा हुन्छ ? जसलाई केही थाहा छैन्, उसले ठिकठाक छ रे । एउटा सामानको रेटबारे जानकारी नहुनेले देशबारे बोल्न अलि नसुहाउँला कि ?
अनुसा थापा
भक्तपुर