काठमाडौं, कार्तिक १२
झण्डै चार वर्षअघि काठमाडौं उपत्यकासहित देशभरका अधिकांश ठाउँमा सहकारी संस्थाका बजार प्रतिनिधि देखिन्थे । कोही कार्यालय पोशाकमा हुन्थे त कोही साधारण कपडामा । महिला होस् या पुरुष सहकारीका बजार प्रतिनिधि यत्तिकै भेटिन्थे । एउटा पसलमा ३०÷३५ वटासम्म सहकारीका कर्मचारी पैसा उठाउन आउँन्थे । व्यापारी तथा आम नागरिकले आफ्नो आम्दानीअनुसार दैनिक ५० रुपैयाँदेखि लाख रुपैयाँसम्म सहकारीमा जम्मा गर्थे । अधिकांश पसलहरुमा चाउचाउ वा तेलको काटुन भरि सहकारीको पासबुक देखिन्थ्यो । सहकारीका बजार प्रतिनिधि पनि कोही पैदल हिँडेर पैसा उठाउन्थे त कोही स्कुटर, मोटरसाइकल लिएर । उपत्यकाका विभिन्न स्थानमा एउटै घरमा नौं÷दश वटा सहकारीका बोर्ड देखिन्थ्यो । बाहिरी जिल्लामा पनि यसरी नै सहकारी सञ्चालन भएका थिए । चार वर्षअघि बजारमा छ्यापछ्याप्ती भेटिने सहकारीका बजार प्रतिनिधि अचेल भेटिदैंनन् । एक जना पनि कर्मचारी देखिदैँनन् । न त सहकारी नै देखिन्छ ।
सरकारी तथ्यांकअनुसार देशभर ३५ हजार बढी सहकारी दर्तामा रहेका छन् । यी सहकारीमा करोडौं बचतकर्ताले खर्बौ रकम बचत गरेका छन् । तर, सहकारी सञ्चालकहरु एकाएक बचतकर्ताको निक्षेप लिएर फरार हुँदा आज ती सर्वसाधारण घर न घाटको भएका छन् । उनीहरुको रुवाबासी चलेको छ ।
सहकारीकै कारण घरमा दिनरात झैझगडा हुन्छ । कतिपय लोग्ने÷स्वास्नीबीच यसै विषयलाई लिएर सम्बन्ध विच्छेद समेत भएको छ । लोग्नेले स्वास्नीलाई वा स्वास्नीले लोग्नीलाई थाहै नदिई सहकारीमा बचत गरेका थिए । तर, निक्षेप डुबेको थाहा पाएपछि श्रीमान÷श्रीमतीबीच मनमुटाव बढ्दा परिस्थिति सम्बन्ध विच्छेदसम्म पुगेको छ । सहकारीले धेरैको परिवार लथालिंग बनाइदिएको छ । थोरै भएपनि ब्याज आउँछ भनेर दिनरात नभनी रगतपसिना बगाएर कमाएको रकम खाइनखाई मानिसहरुले सहकारीमा जम्मा गरे । तर, सहकारीले बचतकर्ताको निक्षेप जथाभावी लगानी गर्दा यस्तो भएको हो । सहकारीको सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमै थियो ।
यी तीन क्षेत्रमा सहकारीले आँखा चिम्लेर कर्जा प्रवाह गरेका थिए । यद्यपि, कोरोना महामारी र आर्थिक मन्दीका कारण यसको किनबेच ठप्प हुनासाथ सहकारी पनि डुब्यो । सहकारी सञ्चालकहरु रातारात फरार हुन थाले । संकटमा परिसकेका सहकारीले बचतकर्ता निक्षेप माग्न पुग्दा ‘हामी स्थानीय हौं, डुब्दैनौं फेरि हाम्रो आफ्नै भवन छ यही भवन बेचेर भएपनि बचत फिर्ता गछौं’ भनेर आश्वासन दिलाए । तर, यी सहकारी सञ्चालकहरु पनि फरार भएका छन् । अहिले उपत्यकाभित्र तथा बाहिरी जिल्लामा सञ्चालक भएका सहकारीको घरबाहिर बोर्ड झुण्डाइएको हुन्छ भने भित्र भने महिनौंदेखि ताला लगाइएको हुन्छ । सम्बन्धित निकायमा दर्ता भएका ९५ प्रतिशत सहकारी बचतकर्ताको निक्षेप फिर्ता गर्न नसकेर भागिसकेका छन् । बन्द भइसकेका छन् । नभागेका सहकारी पनि अब भाग्ने तयारीमा छन् । किनकि यी सहकारीले पनि बचतकर्ताको निक्षेप फिर्ता गर्न सकेका छैनन् । सहकारीमा अध्यक्ष र सञ्चालक आउँदैनन् । कर्मचारी आउँछन् अनि एक घण्टा खोलेर बन्द गरी हिँड्छन् । सहकारी भागेपछि वा निक्षेप फिर्ता नपाएपछि कतिपय बचतकर्ताले त सहकारीको टेबुल, कुसी, कम्प्युटर, ल्यापृटप, पेन्टर, फोटोकपी मेसिनलगायत सामान पनि उठाए ।
अहिले सहकारी सञ्चालन भएका घरका धनीहरु वडा कार्यालय र नगरपालिका धाइरहेका छन् । एकातिर वर्षौदेखि भाडा नपाएको, अर्कातिर बचतकर्ताले आक्रोशमा तोडफोड तथा ढुंगामुढा गर्नसक्ने भन्दै उनीहरुले चिन्तित छन् । पाँच वर्षअघि बैंक, सहकारी, लघुवित्त र फाइनान्सलाई आफ्नो घर भाडामा लिन पाउँदा घरधनीहरुको भुँईमा खुट्टा हुदैँन्थ्यो ।
उनीहरुले आफ्नो घरमा सहकारी, बैंक सञ्चालन भएको भन्दै आफन्तलाई सुनाउन्थे । तर, पछिल्ला केही वर्षयता घरधनीहरु बैंक तथा वित्तिय संस्थालाई घर भाडामा दिन मान्दैनन् । बरु घर खाली राख्छन् तर यी संस्था सञ्चालनका निम्ति भाडामा दिदैँनन् । बैंक तथा वित्तिय संस्थाको ठगीधन्दाबारे धेरै अन्जान थिए । तर, सहकारी भाग्न थालेसँगै बैंक र अन्य वित्तिय संस्थाका कर्तृत पनि बाहिरिए । अनि बल्ल आम नागरिकले बुझे कि यी संघसंस्था ठग, चोर हुन् । अहिले सर्वसाधारण जनता बैंक तथा वित्तिय संस्थामाथि विश्वास गर्दैनन् । सहकारी, लघुवित्त र फाइनान्स त जनताको पैसा लिएर भागिहाल्यो । यता, बैंकमा पनि आफ्नो रकम सुरक्षित रहेको महसुस नागरिक गर्दैनन् । किनकि बैंककै कर्मचारीहरुको मिलेमतोमा बचतकर्ताको खाताबाटै रकम गायब भएको थुप्रा घटना छन् । जसका कारण बैंकप्रति अविश्वास बढ्दो छ । योसँगै अहिले बजारमा बैंक डुब्ने पनि व्यापक चर्चा छ । जोकोही छिट्टै बैंक डुब्ने बताउँछन् । उनीहरु भन्छन्, ‘बैंकको कर्जा प्रवाह घट्दो छ । गरेको लगानी पनि उठ्ने देखिदैँन । अनि कर्जा लगानी र उठाउन नसकेपछि बैंक डुब्ने त पक्का नै भइगयो नि ।’ बैंक तथा वित्तिय संस्थाले बढी ब्याजको प्रलोभनमा सर्वसाधारणलाई फसाउँदै आएका थिए ।
सात प्रतिशतदेखि २२ प्रतिशतसम्म निक्षेप ब्याज दिने भनेर बचत गर्न लगाए । तर, बचत गरेको एक महिनामै ब्याज घटाउँन्थे । अब जनताले बुझिसके कि बैंक तथा वित्तिय संस्था सेवक होइनन्, ठग, चोर र फटहा हुन् । त्यसैले, उनीहरुले यी संस्थामा बचत गर्न र कर्जा लिन छोडेका हुन् । बैंक, सहकारी, लघुवित्त, फाइनान्सले सम्पूर्ण कर्जा घरजग्गा, गाडी र सेयरमा लगानी गरे । कृषि, औद्योगिक, उद्योगधन्दाका लागि यी संस्थाले कर्जा दिएनन् । छिट्टै नाफा कमाउन आँखा चिम्लेर घरजग्गा, गाडी र सेयरमा मात्र लगानी गरे । शुरुवातमा यी क्षेत्रमा लगानी गर्दा नाफा पनि थुप्रै कमाए । जसका कारण बैंक तथा वित्तिय संस्थाले बुझेनन् कि घरजग्गा, गाडी र सेयर जोखिमपूर्ण क्षेत्र छन् । यी विलासित वस्तु हुन् । यदि यी क्षेत्रको साटो उत्पादनमूलक वा रोजगारी सिर्जना गर्ने क्षेत्रमा बैंक तथा वित्तिय संस्थाले लगानी गरिदिएको भए आज न यीनीहरु संकटमा पथ्र्थे न नेपाली युवाहरु रोजगारीको खोजीमा खाडी जानुपथ्र्यो ।
बैंक आफैंले एक सय रुपैयाँ कित्तामा सेयर निष्काशन गर्यो । त्यो सेयर दलालीले मूल्य बढाएर कित्ताकै ३२ सय पुर्यायो त त्यही सेयर धितो राखेर बैंकले २७ सयसम्म कर्जा प्रवाह गर्यो । पछिल्ला केही वर्षयता सेयरको मूल्य घट्नासाथ बैंक तथा वित्तिय संस्थाको पनि लगानी चुलुम्मै डुबेको हो । यता, रोपनीको दश हजारमा बिक्री नहुने खेतीयोग्य जमिन तथा डाँडाकाँडा दलालीहरुले डोजर चलाई खण्डीकरण गरेर आनाकै ६०÷७० लाखमा बेचिदिए । यद्यपि, अहिले घरजग्गा कारोबारमा मन्दी आउनासाथ सर्वसाधारणसँगै बैंक तथा वित्तिय संस्थाले यसमा गरेको लगानी डुबेको छ । अटो शोरुमहरुले भारतबाट एक लाखमा गाडी किनेर नेपाल भित्र्याए ।
तर, यहाँ भने पाँच लाखदेखि करोडौं मूल्यमा बेचे । अहिले गाडीको किनबेच पनि ठप्प छ । योसँगै गाडीमा बैंक तथा वित्तिय संस्थाबाट प्रवाह भएको कर्जा पनि डुब्ने देखिएको हो । बैंक तथा वित्तिय संस्थाहरुले घुस र बढी ब्याजका लागि जनताको पैसा यस्तो जोखिमपूर्ण क्षेत्रमा लगानी गरे । कर्जा प्रवाह गर्दा तीन प्रतिशतसम्म सेवाश’शल्क असुले । चिनेको मान्छे भएमा र घुस दिएमा ५० लाखको धितो राखेर करोडौं रुपैयाँ कर्जा प्रवाह गरे । ऋण दिने बेला १६ प्रतिशत ब्याज भनेर ८० प्रतिशतसम्म असुले । एक करोड कर्जा दिँदा दश लाख त घुस नै खान्थे बैंक तथा वित्तिय संस्थाका सञ्चालक, अध्यक्ष । यी संस्थाबाट ऋण लिएका अधिकांश डुबेका छन् । करोडपतिबाट उनीहरु सडकछाप भएका छन् । कतिपयले सहन नसकेर आत्महत्या समेत गरे । जसरी बैंक तथा वित्तिय संस्थाले ऋणीको उठीबास लगाएका थिए, त्यसरी नै अहिले यीनीहरुको पनि डुब्ने दिन आएको छ ।
सहकारी त भागिसक्यो । अब बैंकको पालो आएको छ । लुटेर, ठगेर कमाएको सम्पत्ति धेरै समय टिक्दैन भनिन्थ्यो त्यो अहिले सावित हुदैँ गएको छ । हिजो जनतालाई लुटे, ठगे अनि कमाए । तर, अहिले आफैं भाग्नुपर्यो । जेलको चिसो भुँईमा बस्नु परेको छ ।
रुषा थापा
भक्तपुर