neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंकप्रति बढ्दो अविश्वास, व्यापारीहरु कमाएको रकम जम्मा नगर्ने तयारीमा

बैंकप्रति बढ्दो अविश्वास, व्यापारीहरु कमाएको रकम जम्मा नगर्ने तयारीमा

Oct 9th, 2024

काठमाडौं, असाेज २३

अहिले बजारमा किनमेल गर्नेको संख्या केही बढेको छ । तर, व्यापारी तथा व्यवसायीहरुले व्यापार व्यवसाय गरेर आम्दानी गरेको पैसा बैंकमा जम्मा गरेका छैनन् । उनीहरु खुलेआम भन्छन्, ‘बैंकभन्दा घरमै रकमको सुरक्षा हुन्छ ।’ अधिकांश व्यापारी, व्यवसायीहरु बैंक पनि सहकारीकै अवस्थामा पुग्ने दाबी गर्छन् । किनकि गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको भीषण बाढीपहिरोले बैंकमा धितो रहेको घरजग्गालगायत संरचना बगाएको छ । घर बाढीले लगेको छ त जग्गा बगरमा परिणत भएको छ । योसँगै सर्वोच्च अदालतले नदी, खोला वरपर घरलगायत कुनै पनि संरचना बनाउँदा ४० मिटर छोड्नुपर्ने फैसला गरेपछि पनि बैंकको लगानी डुबेको छ । बैंकको सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा छ भनेर त हामी सबैलाई थाहै छ । तर, कस्ता घरजग्गामा लगानी छन् ? भनेर कसैलाई थाहा छैन । घुसको आडमा बैंकले सोच्दै नसोची सरकारको मापदण्डविपरीत बनेका घरजग्गामा पनि कर्जा प्रवाह गरेको छ । अब त्यस्ता संरचना सरकारले हटाए वा भत्काएपछि बैंक त चुलुम्मै हुनेछ ।

यति मात्र होइन, बैंकले सहकारी, लघुवित्त र फाइनान्सलाई पनि खर्बौ कर्जा प्रवाह गरेको थियो । तर, यी संस्था आज डुबेर भागिसकेका छन् । जसका कारण पनि बैंक संकटमा परेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले मात्र बैंकबाट अर्बौ कर्जा लिएका छन् । यद्यपि, उनले वर्षौदेखि साँबाब्याज तिरेका छैनन् । उनी त एक उदाहरण मात्र हुन् । यस्ता कयौं व्यक्ति तथा व्यापारी छन्, जसले बैंकबाट अर्बदेखि खर्ब कर्जा लिएका छन् तर साँबाब्याज वर्षौदेखि तिरेका छैनन् । असोज ११ र १२ गते दुई दिनको मुसलधारे वर्षाका कारण आएको बाढीपहिरोले झण्डै २५ अर्बको क्षति भएको सरकारी तथ्यांक छ । यो त राज्यको सम्पत्तिको क्षति विवरण मात्र हो । यहाँ त बाढीपहिरोले हजारौं व्यक्तिको खर्बौको सम्पत्ति मासिएको छ । फेरि व्यक्तिहरु सबैको सम्पत्ति बैंकको नाममा छ । अनि धितो नै खोलाले बगाएपछि वा भत्काएपछि बैंकले अब के गर्छ ? कसरी ऋण असुल्छ ? धितो बगाएपछि ऋणीले कर्जा नतिर्ने त यकिन भइसक्यो । तर, बैंकले अब त्यस्तो कर्जा कसरी असुलउपर गर्छ ? नेपाल राष्ट्र बैंकले अहिलेसम्म बैंक तथा वित्तिय संस्थाको यति धितो बाढीपहिरोले बगायो वा भत्कायो भनेर तथ्यांक सार्वजनिक गरेको छैन । किनकि यो तथ्यांक सार्वजनिक गर्नासाथ बैंकमा बचत गर्नेहरु ह्वात्तै घट्ने छन् । र, अहिले बचत गर्नेहरुले पनि भटाभट रकम निकाल्ने छन् । घरजग्गामा मात्र होइन, जलविद्युत, कृषिमा पनि बैंककै लगानी छ । बाढीले जलविद्युतमा अर्बौको क्षति भएको सरकारकै तथ्यांंक छ । कृषिमा पनि त्यत्तिकै ठुलो क्षति भएको छ ।
अब यसको प्रभाव बैंकमा देखिने छ । किनकि बैंकको यी क्षेत्रमा पनि ठुलो लगानी छ । बाढीले जलविद्युत, हाइड्रोपावर वा बालीनाली मात्र बगाएको छैन । बैंकको लगानी बगाएको छ । ‘बालुवामा पानी’ भनेझैं अहिले बैंकको लगानी पनि पानीले बगेको छ । विगत चार वर्षदेखि घरजग्गा, गाडी र सेयर कारोबारमा मन्दी छ ।

त्यतिबेला करोड भनिएको घरजग्गा अहिले लाखमा बिक्री नहुने अवस्था निम्तिएको छ । सेयर त जुवा हो । यसमा ठुला लगानीकर्ताले कमाउँछन् त साना डुबाउँछन् । यद्यपि, चार वर्षअघि ३२ सय कित्तामा बिक्री हुने सेयर अहिले सय रुपैयाँमा बिक्री नहुने भएको छ । जग्गा प्लाटिङ गर्नेहरु देशै छोडेर भागिसकेका छन् । लगानी डुबेपछि कतिपय सम्पर्कविहीन भएका छन् । त्यस्तै, अटो व्यवसायीहरु पनि डुबिसकेका छन् । नाफा कमाउन उपयुक्त मानिएका सबै क्षेत्रमा मन्दी छ । सरकारले राजस्वको उत्तम स्रोत मानेको घरजग्गा, गाडी र सेयरबाट सरकार आफैं निराश हुदैँ गएको छ । अनि यस्तो अवस्थामा अब बैंकले कुन क्षेत्रमा लगानी गर्छ ? कुन क्षेत्रमा नाफा देख्छ बैंकले ? फेरि नाफा मात्र हेरेर मात्र पनि भएन जोखिम पनि हेर्नैपर्यो । नभए अहिले बाढीले धितो बगाएजस्तै हुनेछ । बैंकको अहिले आम्दानीको स्रोत छैन । तर, कर्मचारीलाई तलब दिनैपर्यो । कार्यालय खर्च जोहो गर्नेपर्यो । डिपोजिटलाई ब्याज र घरधनीलाई धाडा पनि त दिनुपर्यो । बत्ती, पानीलगायत अन्य खर्चको छुट्टै विवरण छ । अनि यत्रो खर्च अब बैंकले कसरी धान्छ ? अर्कोतर्फ, बैंकप्रति सर्वसाधारणको विश्वास गुम्दै गएको छ । बैंकका कर्मचारीहरुले बचतकर्ताको खाताबाटै रकम गायब बनाएपछि बैंक जनताबाट नाङ्गिएको हो ।

हुन त बैंकले ऋणीलाई ठग्नु ठगेको थियो । लुट्नु लुट्यो । त्यर्सैको फलस्वरुप आज यस्तो भएको पनि हुनसक्छ । हिजो घुस नखाई ऋण दिएन त आज कर्जा प्रवाह नभएर बैंक चिन्तित छ । ऋणीले तीन करोडको धितो राख्दा बैंकले एक करोड कर्जा प्रवाह गथ्र्यो । त्यो पनि दश लाख रुपैयाँ घुस खाएर । सेवाशुल्क दुई÷तीन प्रतिशत, ब्याज १४ देखि १८ प्रतिशत भनेर ७८ प्रतिशतसम्म असुल्थ्यो । अनि ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै तीन करोडको धितो ९० लाखमा पचाउँथ्यो । आम सर्वसाधारणले थाहा पाइसके कि बैंक ठग, चोर हो । बैंकबाट ऋण लिनुहुदैँन भनेर आवाज उठ्न थालिसकेको छ । ‘भुँइको टिप्न जाँदा खल्तीको पनि हराउँछ’ भनेर बैंकबाट ऋण लिएमा आफ्नो भएको धेरथोर सम्पत्ति पनि गुमाइन्छ । बैंकले कतिपयको भविष्य पनि बनाएको होला । तर, बैंकबाट ऋण लिएका अधिकांश व्यक्ति ‘घर न घाट’ को भएका छन् । करोडपतिबाट उनीहरु सडकपति बनेका छन् । सुकुम्बासी अवस्थामा पुगेका छन् । अनि यत्रो जनतालाई यस्तो अवस्थामा पुर्याउने बैंक आफु भने कसरी सुखसँग बस्न सक्छ । ऋणीको आशु नै अहिले बैंकलाई लागेको हो ।
बैंकले ऋणीलाई मात्र होइन बचतकर्तालाई पनि सडकछाप बनाउने भएको छ । जनताले आफुसँग भएको रकम बैंकमा जम्मा गरे । तर, कहिल्यै बुझेनन् कि बैंकले कस्तो क्षेत्रमा आफुहरुको बचत लगानी गरेको छ ? यसलाई जनताको खेलाइँची भन्ने कि बैंकप्रतिको विश्वास यसतर्फ नजम । तर, आफुले बचत गरेको कुनै पनि संस्थाको लगानी कुन क्षेत्रमा छ भनेर बुझ्नु निक्षेपकर्ताको जिम्मेवारी हो ।

अझै पनि ढिलो भएको छैन । बचतकर्ताहरुले आफुले निक्षेप राखेको बैंकले लगानी कुन क्षेत्रमा छ ? र, त्यस्ता धितोको अवस्था कस्तो छ ? भनेर पनि अनुगमन वा नियमन गर्नुपर्छ । जग्गा दलालीहरुले निमुखा किसानसँग रोपनीको पाँच÷दश हजारमा जग्गा किनेर प्लाटिङ गरी आनाकै लाखौंमा बेचबिखन गरे । बैंकले नै सय रुपैयाँँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले ३२ सय पुर्याए । गाडीको मूल्य पनि एकाएक बढाइयो । यसरी कृत्रिम रुपमा मूल्य बढाइएका क्षेत्रमा बैंकले नाफा कमाउने प्रलोभनमा आँखा चिम्लेर लगानी गर्यो । त्यसैले, अब बैंक संकटमा आएको हो । अहिले बैंकका सञ्चालक, अध्यक्षहरुलाई रातभर निन्द्रा लाग्दैंन । उनीहरु चिन्तित छन् । किनकि आफुहरु पनि सहकारीकै सञ्चालक, अध्यक्षको अवस्थामा पुगेको उनीहरुले बुझिसके ।
रुषा थापा
भक्तपुर