काठमाडौं, असाेज १७
नेपालीहरुको महान् चाड विजया दशमी शुरु भएको छ । केही वर्षअघिसम्म दशैं आउन महिनौं दिनअघि बजारमा चहलपहल बढ्थ्यो । आफ्नो गाउँघर फर्किने मानिसहरुको चाप पनि उत्तिकै देखिन्थ्यो । तर, यो वर्षको दशैं लाग्दा समेत बजारमा चहलपहल बढेको छैन । बरु मठमन्दिरमा पूजापाठ गर्नेहरुको भीड देखिन्छ । अहिले सर्वसाधारणसँग पैसा नै छैन् । आम नागरिक भन्छन्, ‘महँगी यस्तो छोइनसक्नु छ । त्यसमा पनि बेरोजगारी अनि कसरी किनमेल गर्नु ।’ सरकारी कर्मचारी, व्यापारी र राजनीतिक दलका नेताबाहेक अरु कोहीसँग पनि पैसा नरहेको बताइन्छ । पछिल्लो समय सुनको मूल्य लगातार बढिरहेको छ । सुन तोलाकै डेढ लाखमाथि पुगेको छ । सुनको मूल्य बढेसँगै अहिले सुन पसलमा मानिसहरुको लाम देखिन्छ । तर, सुन किन्न नभई बेच्न । सुन व्यापारीहरु महँगोमा चाँह सुन बेच्छन् तर किन्दैनन् । सर्वसाधारण आफ्नो सुन बेच्न जाँदा उनीहरु त्यो सुन किन्दैनन् । बरु एक तोला सुन धितो राखेर ५० हजार ऋण दिइन्छ । त्यसको मासिक ब्याज ३६ प्रतिशतसम्म उठाइन्छ । ऋणीलाई तीन महिनाभित्र साँबाब्याज तिर्न समय दिइन्छ । अनि सो अवधिमा ऋण तिर्न नसकेमा ५० हजारमा डेढ लाखको सुन पचाउँछन् व्यापारीहरु । पैसा नभएपछि अहिले अधिकांश सर्वसाधारण यसरी नै आफुसँग भएको सुन धितो राखेर गाउँघर फर्किन लागेका छन् । कतिपयले सुन धितो राखेरै दशैँ मनाउन खर्च जुटाएका छन् । यता, कतिपयले भने एक लाखको दश हजारदेखि ३० हजार मासिक ब्याजमा कर्जा लिएको पाइन्छ । यसमा पनि ऋण तिर्न तीन महिनाको समय दिइन्छ । यद्यपि, ब्याज शुरुमै्र ऋण लिँदै काटिन्छ । ऋणीले तीन महिनापछि रकम फिर्ता नगरेमा गुण्डा लगाएर कुटपिट गर्नेदेखि चेक काउन्सको मुद्दा लगाएर जेलै हालिन्छ ।
पछिल्लो समय घरजग्गा कारोबारमा मन्दी छ । घरजग्गा किनबेच ठप्प भएको छ । अहिले घरजग्गा बेच्न चाहने थुप्रै भेटिन्छन् तर किन्ने शून्य । जसको फाइदा दलालीहरुले उठाइरहेका छन् । मानिसले बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर घर बनाए । अहिले आम्दानी नभएपछि बैंकको साँबाब्याज तिर्न नसकेर घरजग्गा लिलाम हुन लागेको छ ।
बैंकले घरजग्गा लिलाम गर्ने भएपछि मानिसहरु दलालीकहाँ पुगिरहेका छन् । उनीहरु आफ्नो घडेरी किन्ने कोही खोजीदिन आग्रह गर्छन् । तीन करोडमा बनेको घडेरी उनीहरु बैंकको ऋण एक करोड तिर्न बाँकी रहेमा डेढ करोडमा दिन तयार हुन्छन् । दलालीलाई डेढ करोडमा आफ्नो घडेरी किनिदिने मिलाइदिन आग्रह गर्छन् । अनि त्यो घडेरी राम्रो भएमा दलाली आफैं किन्न तयार हुन्छ । दलालीले शुरुमा बैंकको एक करोड साँबाब्याज तिरिदिने र पछि आधा करोड दिने बताउँछ । त्यसको विश्वासमा परेर सम्बन्धित व्यक्तिले दलालीले भनेअनुरुप आफ्नो घरजग्गा दलालीको नाममा पास गरिदिन्छन् । दलालीले बैंकको साँबाब्याज तिरिदिन्छ । तर, आफ्नो नाममा घरजग्गा पास भएपछि सम्बन्धित व्यक्तिलाई दिनुपर्ने रकम दिदैँनन् । यसरी अरुको बाध्यता वा मजबुरीको फाइदा उठाएर दलालीहरुले तीन करोडको घर एक करोडमै आफ्नो नाममा पास गरिरहेका छन् । अहिले मिटरब्याज पैसा लिनेहरु पनि बढ्दो छ । घरजग्गा, गाडी, सेयर, व्यापार व्यवसायलगायतमा लगानी गर्दा डुबेपश्चात् एक लाखको मासिक दश हजारदेखि तीस हजार ब्याजमा पैसा लिइरहेका छन्, मानिसहरु । उता, बैंक भन्छ, ‘पैसा थुप्रियो, कर्जा लिने कोही आएन ।’ यो बैंकको नौंटकी मात्र हो । बैंकमा तरलता अभाव कायमै छ । बस् सर्वसाधारणलाई भ्रममा राख्न तरलता थुप्रियो भनियो । यदि बैंकमा साँच्चिकै तरलता थुप्रिएको भए किन आम नागरिक पैसाले फिटफिटी पर्दा समेत बैंकमा कर्जा लिन गएनन् । किन उनीहरु मिटरब्याजी कहाँ पुग्नुपर्यो ? किन करोडौंको धितो जोखिममा राखेर एक लाख ऋणको मासिक तिसौं हजार रुपैयाँ ब्याज तिर्नुपर्यो ? यो सर्वसाधारणको रहर होइन बाध्यता हो । आम नागरिक बैंकमा कर्जा माग्न जाँदा बैंक छैन भनेर फिर्ता पठाउँछ । अनि बाहिर सञ्चार माध्यममा भने कर्जा लिने कोही आएन भनेर भ्रम फैलाइन्छ । अब राष्ट्र बैंकले यसको पनि अनुगमन गरोस् । बैंकले कर्जा नदिँदा सर्वसाधारण मिटरब्याजमा ऋण लिन बाध्य भएका छन् । अहिले काठमाडौं उपत्यकामै मिटरब्याजमा रकम लगानी गरेको पाइन्छ ।
त्यसमा सरकारी कर्मचारीदेखि राजनीतिक दलका नेता, व्यापारीहरु पर्दछन् । यद्यपि, सरकार यो देख्दैँन । सरकार मिटरब्याजीहरुलाई कारबाही गर्दैन । हुन त सहकारी, लघुवित्त, फाइनान्सले पनि कर्जा लिने बेला ब्याज १२ प्रतिशतदेखि १८ प्रतिशतसम्म भनेर ७५ प्रतिशतसम्म असुल्थे । बैंकमा पनि यस्तै छ । एक करोडको धितो राखेर २५ लाख ऋण दिने, त्यसमा पाँच लाख घुस, दुई÷तीन प्रतिशत सेवाशुल्क असुल्थे । ऋणीले तीन किस्ता नगर्नेबित्तिकै करोडको धितो २० लाखमै पचाउँथे । तर, बैंक, वित्तिय संस्थाभन्दा पनि खतरनाक खेलाडी अहिले बजारमा देखियो । जसले सर्वसाधारणको उठीबास लगाइरहेको छ । धितो आफ्नो नाममा पास गराउन लगाउने अनि पैसा नदिने गर्ने गरिएको पाइएको छ । जसका कारण ऋणीहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । बैंकको ऋण पनि तिरिन्छ र थोरै रकम आफुलाई पनि बच्छ भनेर दलालीको विश्वासमा परेर दलालीलाई नै सस्तोमा घडेरी दिएकाहरु अहिले सुकुम्बासी अवस्थामा पुगेका छन् । अहिले बजारमा एकथरी मानिस भन्छन्, ‘हामीले सय रुपैयाँमा सेयर किनेको हौं । सय रुपैयाँमै बेचेमा अहिले पनि त्यो सेयर बिक्री हुन्छ । यसैले, हामी त डुब्दैनौं ।’ अर्कोथरी भने आफुहरुले ३२ सय कित्तामा सेयर किनेको बताउँछन् । उनीहरुको सेयरको ओरोलो यात्राप्रति आतिएका छन् । भन्छन्, ‘नराम्ररी डुबिने भैयो ।’
यस्तै, घरजग्गामा पनि फरक मत देखिएको छ । एकातिर मानिसहरु महँगोमा घरजग्गा किनेर डुबिरहेको बताउँदा अर्कोतिर भने घरजग्गा पहिलाकै मूल्यमा आएको बताइन्छ । अहिले उपत्यकामै रैथानेबासीहरु भन्छन्, ‘यो जग्गा पहिलाकै मूल्यमा आएको हो । किनकि दलालीहरुले कृत्रिम रुपमा मूल्य बढाएका थिए ।’ बजारमा व्यापारीहरु भन्छन्, ‘ग्राहक आएनन् । व्यापार नै भएनन् ।’ तर, जनसंख्याभन्दा तेब्बर–चौबर पसल भएपछि कसरी व्यापार व्यवसाय हुन्छ । अहिले घरैपिच्छे सटर भेटिन्छ । एउटै घरमा दुई वटा वटासम्म पसल देखिन्छ । मुलुकको आधा जनसंख्या विदेशमा छन् । अनि कसले सामान किनोस् ? सर्वसाधारण ठग्नका निम्ति जोकोहीले पनि घरजग्गामा लगानी गरे । घर बनाए अनि महँगो भाडामा लगाएर नागरिक ठगियो । यता, एउटा व्यापारीले ठगेर मनग्य कमाएको देखेर अर्कोले पनि व्यवसाय सञ्चालन गर्यो । यसरी ठग्ने बाटो देखेर लगानी गर्दा आज उनीहरु आफैं डुबेका हुन् । हुन त नेपालमा जसले जसलाई ठग्न वा लुट्न पनि छुट छ । किनकि यहाँ सरकार छैन ।
रुषा थापा
भक्तपुर